Comments Add Comment

धरहरामा १५५ लाई मार्नेहरु छाती खोलेर हिँडिरहेका छन्

 खगेन्द्र संग्रौला
‘हामीले साझा संकल्प गर्‍यौं भने धूलो टकटक्याउँदै फेरि उठ्ने छ धरहरा ।’ – ११ जेठ २०७२, नयाँ पत्रिका, दैनिक ।

यो भनाइको अर्थ शायद लाक्षणिक होला । यहाँ भग्न धरहरालाई एउटा प्रतीकका रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

त्यसैले धूलो टकटक्याउँदै धरहरा उठ्ने प्रसङ्ग भग्नावशेषबाट जीवन उठ्ने कुराको पनि सङ्केत होला शायाद । पत्रिकाको पहिलो पातोमा यो भनाइको छेवैमा धरहराको भव्य तस्बीर छ । यो हिजोको धरहराको तस्बीर हो । अनि भोलिको धरहरा ?

भोलिको धरहरा नयाँ पत्रिकाको ‘गर्‍यौं भने’ भन्ने अनिश्चियवोधी ‘संकल्प’को गर्भमा छ । यो अनिश्चयको गर्भबाट धरहराको पुनर्जन्म हुन पनि सक्छ, नहुन पनि सक्छ ।

बलशाली भूकम्पले बृद्ध मठ, मन्दिर र स्मारकहरु भत्काएपछि धरहराको चर्चा मुखमुखै सुनिँदै छ । यिनका कुरा सुन्दा धरहरा सबै भग्न प्राचीन तथा सांस्कृतिक सम्पदाहरुको प्रतिनिधि पात्रजस्तो लाग्छ । ती सबैको नाभिस्थल, ती सबैको हंस, ती सबैको प्राणवायु । त्यसैले लाग्छ, धरहरा उठ्नु भनेको सबै भग्न सम्पदाहरु उठ्नु हो । र, धरहरा उठ्नु भनेको भूकम्पले धूलामा पछारेको जीवन पनि सँगसँगै उठ्नु हो । मानौं धरहरा उठ्छ, र त्यो उठाइबाट प्रेरणा लिँदै र त्यसको सिको गर्दै पछारिएका अरु यावत् वस्तुहरु भकाभक उठ्छन् ।

धरहराबारे मेरा केही सम्झनाहरु छन् । चौबीस सालमा चौबीसै रुपियाँको टिकट काटेर बिराटनगरबाट फलामचरीमा हुइँय उड्दै म काठमाडौँ आएँ । नेपाल खाल्डोको आकाशबाट तल हेर्दा मेरा आँखमा परेको पहिलो चीज धरहरा हो । आम्मामामा, त्यो गगनमुखी लाँक्रो कति अग्लो !

अलि दिनपछि धरतीबाट अनुहार उत्तानो पारेर धरहरा हेरें । आम्मामामा, त्यो गगनमुखी लाँक्रो कति अग्लो ! अनि त्यसको अग्लाइसामु मेरो होचाइ कति बामपुड्के ! च्युँडो उचालेर हेर्छु, त्यो कता हो कता माथि छ- साँच्ची नै गगनचुम्बी, म चाइने तल धूलैनेरको लिलिपुट मानव । त्यसपछि फेदबाट धरहरा हेर्न मलाई कसोकसो धक लाग्यो । हैन, त्यसको उचाइले मेरो होचाइलाई गिज्याएको पो हो कि !

यता धरहरा ढलेर १ सय ५५ जना मानिसको एकबारको जुनी सकियो । उता तिनलाई मार्ने प्रपञ्च रच्नेहरु छाती खोलेर सडमा हिँडिरहेका होलान् । आखिर जङ्गलको राजमा न्याय सदैव पराजित न हुन्छ

ऊबेला धरहरा आरोहण बन्द थियो । त्यसमा चढेर, त्यसको टुप्पोमा पुगेर तल म उभिने धूलो हेर्न मलाई औधी रहर लागेको थियो । तर मौका मिलेन । पछि, धेरै पछि चढेर टुप्पोमा पुग्नलाई धरहराको ढोका खोलियो । बनोटको प्रकृति र आयुको हिसाबले धरहरा जर्जर भइसकेको थियो । त्यो बृद्ध लाँक्रोमा चढ्न मलाई कसोकसो डर लाग्यो । वास्तवमा आरोहणका लागि धरहरा खोल्नु सर्वथा अनुचित र अनैतिक कर्म थियो । तर, के लाग्छ, यस धरतीका लोभी शासकहरुका लागि मानिसहरुको सुरक्षाभन्दा पैसा कति कति प्यारो । तिनका लागि लोकहितभन्दा आफ्नो तुच्छ स्वार्थ कति कति प्यारो ! तिनले आफ्नो लोभको तिर्खा मेट्न धरहरामा टिकटको व्यापार गरे, र अहिले भूकम्पले ढाल्दा धराप भइसकेको धरहरामा थुप्रो मानिसको ज्यान गयो ।

लुब्ध मनुवाहरुले जीर्ण धरहरामा आरोहणको व्यापार शुरु गर्न लाग्दा संवेदनशील र करुणामयी नागरिकहरु कानमा तेल हालेर मौन बसेका होइनन् । यस कुराकोे सबुत गौतम डंगोलको संघर्षको कथा हो ।

कथा भन्छ- ०५५ सालको कुरा हो । नगरपालिकाका हाकिम भईखाएका राष्ट्रिय गफाडी केशव स्थापितले धरहराको आरोहण गराउने जिम्मा साइड वाकर्सलाई दिए । धरहराको दक्षिण-पश्चिमको भाग नाङ्गा आँखाले देखिने गरी चर्किसकेको थियो । डङ्गोल महोदयले आरोहण रोक्न पुरातत्व विभागलाई गुहारे, अदालतल छेउ बिन्ती बिसाए । तर, केही सीप लागेन । क्रूद्ध डङ्गोल सडकमा निस्के र तिनले प्रहरीको कुटाइ खाए । नरपीडकहरुको मासिक २ लाख ५० हजारको लोभको जीत भयो, न्यायको संघर्ष हार्‍यो ।

नतिजा जे भयो, त्यसको विद्रूप कथा धरहराको भग्नावेशले सुनाइरहेको छ । यता धरहरा ढलेर १ सय ५५ जना मानिसको एकबारको जुनी सकियो । उता तिनलाई मार्ने प्रपञ्च रच्नेहरु छाती खोलेर सडमा हिँडिरहेका होलान् । आखिर जङ्गलको राजमा न्याय सदैव पराजित न हुन्छ ।

आयो कुरा अब धूलीसात् भएको धरहराको पुनर्जीवनको । रातोदिन धरहराको महिमा गान गर्ने एकथरी मानिस धरहरा आजै बनाउन, भोलि नै बनाउन आतुर छन् । मानौं यो राष्ट्रको प्राणवायु नै धरहराको भग्नावशेषमा अड्किएको छ, जसको उद्धार जति छिटो गर्‍यो, राष्ट्रको आत्मिक स्वास्थ्यलाई उति नै राम्रो हुन्छ । पुनःनिर्माणको सूचीमा तिनको पहिलो र अनिवार्य प्राथमिकता धरहरा हो र धरहरामात्र हो ।

काँचका पर्दाहरुमा घरिघरि काठमाडौं उपत्यकाका मनै भरङ्ग पार्ने भग्न वस्तुहरुका दृश्य देखाइँदा सबैभन्दा पहिले ढलेर बाँकी रहेको धरहराको बिरुप ठुटो आउँछ । दृश्यमा धरहराको ठुटोसँग सेल्फी खिचिरहेका आत्मप्रचारप्रेमी जनहरु देखिन्छन् । धरहराको भग्नावशेषमाथि हाय, हाय धरहरा, ओए, ओए धरहराजस्ता खिन्न स्वरहरु तरङ्गति भइरहन्छन् ।
dharahara (4)
तर आश्चर्य, ढल्नलाई उमेर पुगेको धरहराको भग्नावशेषमा पुरिएर अकालमै जीवन गुमाउने १ सय ५५ जना मानिसको चर्चा कसैले छिसिक्कसम्म पनि गर्दैन । मानौं ती सब भग्नावशेषमा पुरिएर मर्न अभिशप्त धूलीकण हुन् । मानौं ती सब अर्थहीन र मूल्यहीन जीवहरु हृुन् ।

धरहरामा हृदयविदारक कोलाहल र चित्कारमाझ जसले जीवन बिसाए, तिनका पनि कोही होलान् । ती कसैका भविष्यका आशा हुँदा हुन्, ती कसैका वर्तमानका भरोसा हुँदा हुन् । ती कसैका अभिभावक हुँदा हुन्, ती कसैका प्रेमी वा प्रेमिका हुँदा हुन् । अहिले ती सब कहाँ रोइरहेका छन् ? तिनलाई सम्झने कोही छैन, तिनको लेखो राख्ने कोही छैन । जो बोल्दैछन्, ती सबैको चासोमा केवल धरहरा छ । ती सबैको चिन्तामा फगत धरहरा छ । र, ती सबैका जिब्रा-जिब्रामा हाय, हाय धरहरा, ओए, ओए धरहरा, ऐय्या-ऐय्या धरहरा, मरें-मरें धरहराको अटुट राग रटना छ ।

धरहरामा मर्नेहरुको लाममा अखबारको पहिलो पातोमा फोटो छापिने सामाजिक हैसियत भएको कोही परेन । परेको भए शायद उसको गरिमामय फोटोपछि अरु मर्नेहरुको नाम पनि आउँदो हो । जो मरे, ती अनाम थिए । जो मरे, ती पहिचानविहीन थिए । जो मरे, ती अकिञ्चन थिए । त्यसैले सत्तापति, धनपति, धाकधक्कुपति र वर्चश्वपतिहरुका दृष्टिमा ती मूल्यहीन धूलीकण ठहरिए, र हिजोको आजै ती बिर्सिइए ।

भावी पुस्ताले अनुकूल र समृद्ध समयमा मन लागे उत्रै धरहरा बनाऊलान्, मन नलागे धरहराको त्यही प्रारुपमा चित्त बुझाउलान्

धरहरा हाम्रा पुर्खाले छाडिगएको पौरख र गौरवको निशानी हो, मानें । धरहरा हाम्रा पूर्खाका कल्पनाशील र सिर्जनशील पदचापको गहिरो छाप हो, मानेँ । धरहरा आँखाको आकर्षण र मनको आनन्द खोजिहिँड्ने पर्यटकहरुलाई खिच्ने र तिनबाट द्रव्य दुहुने साधन हो, मानेँ । तर, सामाजिक सम्पदाको महत्ताक्रममा पहिले आउने चीज के हो ? मानिस कि धरहरा ? पुनःनिर्माणको सूचीमा नम्बर एकमा पर्ने मानिस हो कि धरहरा ? मानिसले धरहरा बनाउँछ, धरहराले मानिस बनाउँदैन । मानिस धरहराका लागि होइन, धरहरा मानिसका लागि हो ।

भग्न धरहरा छेवैको टुँडीखेलमा घरविहीन सुत्केरी फ्यालफ्याले पालमुनि चाउचाउ खाएर प्राण धानिरहेकी होलिन् । तिनको कलिलो शिशु आमाको दूध नपुगेर रोइरहेको होला । पहिले कसको जीवनलाई उठाउने हो ? ती जीवित सुत्केरी नारी र त्यो अबोध शिशुको कि निर्जीव धरहराको ?

दुर्गम पहाडका विकट वस्तीहरुमा मुन्टो लुकाउने घर, पटे भर्ने अन्न र आङ ढाक्ने लुगा गुमाएका नारीहरु मरेका प्रियजनहरुलाई सम्झेर रुँदै राहत र सहाराको बाटो हेरीबसेका होलान् । पहिले कसलाई राहत र सहारा दिने हो ? ती जीवित नारीहरुलाई कि निर्जीव धरहरालाई ?

हामीसँग साधन सीमित छ, श्रम सीमित छ । त्यसैले म त भन्छु-भग्न धरहराको जगबाट अहिले हत्तपत्त धरहराको पुरानैजति अग्लो लाँक्रो नउठाए पनि हुन्छ । अतीतको सम्झना र सम्मानका लागि धरहराको सानो प्रतिरुप वा नमूना बनाए पुग्छ । त्यो प्रतिरुपको वरिपरि एउटा पुष्पवाटिका होस्, र त्यसको छेवैमा एउटा ठूलो पाटीमा धरहरा ढल्दा जीवन गुमाउने १ सय ५५ जाना मानिसका तस्बिर र नामहरु कुँदिऊन् । भावी पुस्ताले अनुकूल र समृद्ध समयमा मन लागे उत्रै धरहरा बनाऊलान्, मन नलागे धरहराको त्यही प्रारुपमा चित्त बुझाउलान् । किमधिकम् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment