Comments Add Comment

काभ्रेमा घर नबनाउँदै छुट्टिए कलाकार, ‘काम गर्ने भन्दा नगर्नेको चर्चा’ भएको आरोप

फाइल तस्बिर
फाइल तस्बिर

‘हामी सबैका लागि’ अभियान लिएर विभिन्न स्थानमा अस्थायी घर र राहत वितरणमा सक्रिय रहेका कलाकारहरु अलग हुन थालेका छन् । संयोजक सुरेश दर्पण पोख्रेल, उप-संयोजक केकी अधिकारी र केही कलाकार बाहेक अन्यलाई छायाँमा पारिएको, कामको उचित मुल्यांकन नभएको भन्दै कलाकारहरु असन्तुष्ट बनेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै केही कलाकारले आफूहरुलाई हेपाहा प्रवृत्ती देखाइएको भन्दै यो समुहबाट अलग भएको बताएका छन् । नाम नभन्ने शर्तमा यो अभियानमा सहभागी केही कलाकारले राहत वितरणदेखि अस्थायी घर बनाउने समयमसम्म आफूहरु लागेको तर हेपाहा प्रवृत्ती बढी देखाइएपछि छाडेको बताए ।

यो अभियानमा सहभागी एक कलाकारका अनुसार काभ्रेमा घर बनाउने दोश्रो दिनमा आफूहरुले संयोजक, उप-संयोजकदेखि केही कलाकारलाई कुरेको तर भोलिपल्ट आफूहरुले जानकारी गराउँदा पनि आधा घन्टा पनि नकुरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

सबै कलाकारहरु सहभागी भएपनि मिडियादेखि हरेक ठाउँमा केहीको नाम मात्र प्राथमिकतामा परेपछि कलाकारहरुमा असन्तुष्टी बढेको हो । अहिले यो अभियानबाट सुरक्षा पन्त, बर्षा सिवाकोटी, निराजन लगायत अन्य केहीले हात झिकेका छन् । अहिले यो अभियानका क्रममा कलाकारहरु नुवाकोटमा अस्थायी घर बनाउन पुगेका छन् ।

काम गर्ने भन्दा काम नगर्नेको नाम प्राथमिकतामा परेपछि आफूहरुले पछि झनै ठूलो समस्या आउने भन्दै छाडेको भनाई केहीको छ । ‘हामी सबैका लागि’ अभियानमा सुरुवातदेखि नै सहभागी सबै कलाकारले आफ्नो गोजीबाट रकम झिकेर अस्थायी घर बनाउने अभियानको सुरुवात काभ्रेको रामपुर डाँडाबाट गरेका थिए ।

कलाकारहरुले आफूहरुले वुझाएको रकमको हिसाबकिताब पनि नदेखाएको गुनासो गरेका छन् । काभ्रेमा अस्थायी घर बनाउन सुरुवात गरेसँगै कलाकारहरुमा असन्तुष्टी सुरु भएको र यसले अन्त्यमा विभाजन ल्याएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment