Comments Add Comment

जाजरकोट जिल्ला विकास समितिमा अख्तियारको छापा

फाइल फोटो
फाइल फोटो

१३ जेठ, जाजरकोट । जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले मङ्गलबार बेलुकी छापा मारेको छ ।

विभिन्न सञ्चार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको हो । टोलीले स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले जनसहभागिताको नाममा मनोमानी ढङ्गले बाँडेको रु ८२ लाख रकम र विकेन्द्रिकृत ग्रामीण पूर्वाधार विकास तथा जीविकोपार्जन सुधार (ड्रीलिप) कार्यक्रम अन्तर्गत खलङ्गा (रिम्ना र मोर्क ) बालुवा सडकको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि सार्वजनिक निर्माण शीर्षकको ७३ लाख रूपैयाँ  गुपचुप बाँडेको कोटेसनका कागजात नियन्त्रणमा लिएको छ ।

स्थानीय विकास अधिकारी पोखरेलले जनसहभागिता शीर्षकको रु ८२ लाख बजेट उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको आदेश भन्दै मनोमानी बाँडेका थिए । त्यसैगरी, केही दिनको अन्तरालमा (ड्रीलिप) कार्यक्रमको लाखौँं रुपैयाँ रकम केही व्यक्तिलाई मिलेमतोमा ‘कोटेसन’ बाँडेका थिए । जनसहभागिताको रकम र ‘कोटेसन’ बाँडेको विरोधमा जिविसमा तालाबन्दी गरिएको थियो । पोखरेलले मनपरी काम गरेको भन्दै संस्थागत भ्रष्टाचारविरुद्ध शुद्धिकरण अभियानको टोलीले जिविसमा तालाबन्दी गरेको थियो ।

अख्तियारको छापापछि ताला खोलिएको अभियानका संयोजक सिपी घर्तीले जानकारी दिए ।

कालीकोट र रोल्पामा स्थानीय विकास अधिकारी रहँदा पनि विभिन्न काममा विवादित बनेका पोखरेल जाजरकोटमा पुगेलगत्तै विवादमा मुछिएका छन् । स्थानीय विकास अधिकारीले गरेको अनियमित कामको जाजरकोटका विभिन्न सङ्घसंस्थाले विरोध गर्दैआएका छन् । अनियमितताको बारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment