Comments Add Comment

राजधानीका सिसा पसल भूइँचालोले झर्‍याम झुरुम !

नविन अर्याल

१३ जेठ, काठमाडौं । भूकम्पपछि तपाईले कुनै सिसा पसल देख्नुभएको छ ? देख्नुभएको छ भने पक्कै थाहा पाउनुभयो होला, भुइँचालो आएपछि गोदाममा राखिएका सिसा झर्‍याम झुरुम हुँदारहेछन् । घरमा लगाइएका सिसा सग्लै देखिए पनि भूइँमा राखिएका सिसा चाहिँ जोगाउन नसकिने यसपालिको भूकम्पले स्पष्ट पारेको छ ।

Glass-Pasal-4

विनाशकारी भूकम्पले राजधानीको सिसा व्यवसाय नै धरासायी बनाइदिएको छ । भूकम्पले एउटै गोदाममा ६ करोड रुपैयाँको सिसा फुटेर नष्ट भएको छ । पसल तथा गोदाममा राखिएको ९० प्रतिशतभन्दा बढी सिसा फुटेको व्यवसायीको दुखेसो छ ।

‘भूकम्पले जमिन हल्लिएपछि सिसाको चाङ ढलेर झरमझुरुम भयो’ वत्तिसपुतलीका सिसा व्यवसायी धनबहादुर पन्तले अनलाइनखबरसँग भने- ‘एउटा सिसा पनि सग्लो भेटिएन ।’

सतुगंलस्थित नेपाल ग्लास उद्योग राजधानीमा भित्रिने सिसाको महत्वपूर्ण डिलर हो । यसपालिको भूकम्पमा त्यहाँ रहेका ६ करोड रुपैयाँ बराबरका सिसाहरु फुटेका छन् । उद्योगमा भएका सबै सिसा फुटेको सञ्चालक अशोक श्रेष्ठले बताए ।

काठमाडौंमा सिसाका ४/५ वटा होलसेलर छन् । सबै होलसेलरका सिसा फुटेर नष्ट भएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार होलसेलरको करिब १५/१६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । खुद्रा पसलमा भएको क्षतिको गणना भएकै छैन ।

राजधानीका अधिकांश खुद्रा पसलका सिसा फुटेका छन् । सिसा ब्यापारी पन्त आफ्नो पसलबाट केही फर्निचरसहित २४/२५ लाख रुपैयाँ बराबरको सिसा फुटेको बताउँछन् ।

Glass-Pasal-5

बानेश्वरमा रहेको शर्मा ग्लास हाउसमा ३० देखि ३५ लाख रुपैयाँ बराबरको सिसा फुटेर नष्ट भएको बताइएको छ । खुद्रा पसलले क्षमता अनुसार राखेका सबै सिसा फुटेको पन्तको भनाइ छ ।

‘हाम्रो उठीबास भयो’

‘भूकम्पले हामीलाई उठीबास बनायो, अब पहिलाको अवस्थामा आउन निकै समय लाग्छ’ होलसेलर श्रेष्ठले भने- ‘सिसा रि-युज गर्न नमिल्ने वस्तु भएको हुँदा पुरै नोक्सानी बेहोर्नुपर्ने भयो ।’

सिसाका होलसेलर व्यवसायीले विमा गरे पनि खुद्रा पसलहरुले विमा नगरेको श्रेष्ठ बताउँछन् । ठूलो नोक्सानी भए पनि विमाबाट एक करोड रुपैयाँ जति मात्रै आउने अनुमान गरेको उनले बताए । नोक्सानीका अगाडि यो रकम नगन्य भएको उनको भनाइ छ ।

भूकम्पमा पसलका सिसाहरु फुटे पनि घर तथा भवनका सिसाहरु भने खासै फुटेको देखिँदैन । वैशाख १२ गते गएको भूकम्प उफार्ने र हल्लाउने खालको भएको हुँदा सिसाको चाङ ढलेर फुटेको व्यवसायीको भनाइ छ ।

Glass-Pasal-3

सिसा फाल्ने ठाउँ चाहियो

सिसा फुटेर ठूलो नोक्सानी बेहोरिरहेका व्यवसायीहरुले त्यसलाई फाल्ने ठाउँ पनि पाएका छैनन् । सिसा फाल्ने ठाउँ नपाउँदा गोदाममै थुपि्रएको व्यवसायीहरुको गुनासो छ ।

‘गोदाममा ३०/३५ ट्रक सिसा थुपि्रएको छ, फाल्ने ठाउँ छैन’ श्रेष्ठले भने- ‘राज्यले सिसा फाल्ने ठाउँ देखाइदिनुपर्‍यो ।’

केही वर्ष अगाडिदेखि नै सिसा फाल्ने ठाउँ उपलब्ध गराइदिन भनेर विभिन्न निकायमा पत्राचार गरे पनि सुनुवाइ नभएको श्रेष्ठको गुनासो छ ।

यसपटक भूकम्पले ठूलो मानवीय क्षति भएको हुँदा सिसा फाल्ने ठाउँ उपलब्ध गराउन आग्रह नगरेको श्रेष्ठले बताए । ‘मानवीय क्षतिका अगाडि हाम्रो क्षति गौण हुने ठानेर केही बोलेका छैनौं,’ उनले भने ।

खाली ठाउँ हुनेहरुले थुपारेर राखे पनि अधिकांश पसलेहरुले फुटेका सिसा उठाउनसमेत सकेका छैनन् । ‘पसलको सिसा उठाएर कहाँ लगेर फाल्ने ? खुद्रा व्यवसायी पन्तले प्रश्न गरे ।

सिसा नकुहिने र जोखिमयुक्त वस्तु भएको हुँदा जहाँ पायो त्यहीँ लगेर फाल्न पाइँदैन ।

Glass-Pasal-2

सिसाको स्रोत भारत र चीन

नेपाली बजारमा छिमेकी मुलुक चीन र भारतबाट सिसा आउने गर्छ । त्यहाँबाट सिसाका पाता ल्याएर नेपालमा आवश्यकता अनुसार काटेर बिक्री वितरण गरिन्छ ।

नेपालमा ८/९ प्रकारको सिसा आउने गरेको व्यवसायी पन्तको भनाइ छ । घरमा प्रयोग गर्ने सिसा मात्रै ४/५ प्रकारको हुने गर्छन् । न्यूनतम ४० रुपैयाँ स्क्वायर फिटदेखि ४ सय रुपैयाँ स्क्वायर फिटसम्मको सिसा नेपाली बजारमा उपलब्ध छ ।

व्यवसायीका अनुसार प्रतिस्क्वायर फिट ३.५ मिलिमिटरको सीसा ५३ रुपैयाँ, ४ मिलिमिटरको ५७ रुपैयाँ, ५ मिलिमिटरको ७८ रुपैयाँ, ८ मिलिमिटरको १५० रुपैयाँ, १० मिलिमिटरको २०० सय रुपैयाँ, १२ मिलिमिटरको २५० रुपैयाँ र ग्यास सिसाको ४०० सय रुपैयाँसम्म पर्छ ।

कालो र नीलो सिसाको मूल्य भने अन्य सिसाको तुलनामा केही महंगो पर्ने बताइन्छ । नेपालमा हरियो, नीलो, कालो, पहेँलो, ऐना लगायतका सिसा आउने गर्छन् ।

Glass-Pasal

तस्वीर : संघर्ष पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment