Comments Add Comment

कार्गोको चौरमा राहतको खात, भूकम्प पीडितको पुर्पुरोमा हात (फोटो फिचर)

vansar (19)

१३ जेठ, काठमाडौं । महाभूकम्पले विनाशलीला मच्चाएको एक महिना पुगिसक्दा पनि दुर्गमका पीडित जनताले गासबास पाएका छैनन् । तर, तिनै पीडितका नाममा विदेशबाट गैरआवासीय नेपाली र विदेशी मित्रले पठाएका करोडौं मूल्यका राहत सामाग्री भने सरकारी गोदाम बाहिर असरल्ल पारेर फालिएका छन् ।

सामान छुटाउने जिम्मेवारी प्राप्त भन्सार कार्यालय र विदेशबाट एयर कार्गो मार्फत आएका सामान क्लियर गरेर गोदामसम्म पुर्‍याउनुपर्ने नेपाल एयरलाइन्सको चरम लापरवाहीका कारण पीडितका लागि आएका राहत सामाग्री उनीहरुसम्म नपुग्दै सड्न थालेका हुन् ।

गोरखा कम्युनिटी मिड वे लण्डनले मिसन टु हेल्प नेपाल संस्था मार्फत सिन्धुपाल्चोकको पाङताङ गाउँका लागि पठाएको राहत सामाग्री टर्किस एयरबाट एक सातअघि नै त्रिभुवन विमानस्थलमा आइपुगेको थियो ।

vansar (12)

सामान बुझ्नका लागि सबै कागजी प्रक्रिया पूरा गरेर जयन्द्र लामा पाँच दिनदेखि कार्गो गोदाममा गए पनि उनले त्रिभुवन विमानस्थलमा झरिसकेको सामान बुझ्न पाएनन् ।

नेपाल एयरलाइन्सको चरम लापरवाहीका कारण सिन्धुबासीका लागि आएका लाखौं मूल्यका राहत सामाग्री अन्ततः अब ती पीडित जनताले नपाउने भएका छन् ।

‘कर्मचारीले काम नगरेपछि समयमै गोदाममा सामान आएन, आज गोदाममा सामान आयो तर राहत सामाग्री जेठ १२ पछि जाँचपास नगर्ने परिपत्र देखाउँदै भन्सारका कर्मचारी पन्छिए,’ लामाले भने ।

vansar (6)

एयर कार्गोमार्फत आएका राहत सामाग्री समयमै छुटाएर गोदामसम्म नल्याउँदा हप्तौंदेखि स्वयंसेवी तथा सामाजिक कार्यकर्ताहरु धाइरहेका छन् । तर, पीडितलाई आएका सामान तत्कालै छुटाएर सम्बन्धित ठाउँमा पुर्‍याउनुपर्छ भन्ने भावना नै छैन कर्मचारीमा ।

व्यापारिक र्फमहरुले मगाएका सामान तत्कालै पास हुन्छन् । किनकि व्यापारीले लोडरदेखि कर्मचारीसम्म सबैलाई काम छिटो र सहज ढंगले गरिदिए बापत पैसा दिने गरेका हुन्छन् ।

विमानस्थलमै कार्यरत एक निजी स्वास्थ्य संस्थाका प्रतिनिधिले भने-व्यापारीका सामान भए हारालुछ गरेर छुटाइ सक्थे । तर, राहत सामाग्री भनेपछि कसैले वास्तै गर्दैनन् पैसा आउँदैन भनेर ।

कार्गो गोदाम पछाडिको खुलाचौरमा करोडौं मूल्यका खाद्यान्न, लत्ताकपडा, पाल, टेन्ट, स्लिपिङ ब्याग, औषधिलगायतका सामाग्रीहरु असरल्ल पारेर फालिएको अवस्थामा छन् ।

पानी र हावाहुरीले कतिपय सामाग्री उडाएर पाखामा पुर्‍याएको छ । खाद्यान्नका प्याकेट फुटेर भुइभरि छरिएका छन् । बिभिन्न संस्थाको नामबमा भूकम्प पीडितलाई पठाइएका राहत सामाग्री हात पार्नु भनेको युद्ध जितेसरह छ ।

vansar (21)

‘राहतका लागि आएका सामान तत्कालै सहज प्रक्रियाबाट छुटाएको भए अहिले सबै भूकम्प पीडितलाई पुग्ने गरि विदेशबाट आएका छन्’ विमानस्थलकै एक सुरक्षाकर्मीले भने, ‘तर यहाँ कसैको चासो छैन, त्यतिकै कुहिएर जाने भए ।’

राहत सामाग्रीमा भन्सार छुट भएकाले राहतका नाममा कतिपय व्यक्ति र व्यापारीले तस्करी गरेको भन्दै सरकारले राहतका सामान जेठ १२ गतेदेखि जाँचपास गरेको छैन ।

अर्को निर्णय नभएसम्म जाँचपास नहुने नभएपछि ती सामाग्री झनै बेवारिसे बनेका छन् । एक साता दश दिनअघि आएका सामान समेत समयमै गोदाममा नआउँदा सम्बन्धित संस्थाले बुझ्न पाएनन् ।

अब राहत सामाग्री जाँचपास गर्ने समय थप्ने कि नथप्ने भन्ने बारेमा बैठक चलिरहेको कर्मचारीहरु बताउँछन् ।

पीडितका नाममा खरिद गरिएका त्रिपालमा कमिसन चलिरहेका बेला विदेशबाट सित्तैमा आएका त्रिपाल, टेन्ट र अन्य राहत सामाग्री किन फालियो ? एक कर्मचारीले भने, ‘प्रधानमन्त्री, मन्त्री र मुख्य सचिवले एकपटक गएर कार्गो गोदाम बाहिरको पटांगिनीमा हेरुन् ।’

गृहमन्त्रालयले सार्वजनिक गरेको राहत सामाग्रीको सूचीमा भन्सार छुट दिने निर्णयको म्याद बुधबारदेखि सकिएकाले भन्सारसम्बन्धी लफडा सुरु भएको छ ।

vansar (13) vansar (17) vansar (11) vansar (9) vansar (7) vansar (5)
vansar (2) vansar (4) vansar (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment