Comments Add Comment

बंगलादेशले राहतकालागि पठाएको ५० लाख किलो चामल खै ?

१४ जेठ, काठमाडौं । भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेट्रिक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेटि्रक टन (५० लाख केजी) बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन।

विदेशबाट आएका राहत सामग्रीको केन्द्रीय तथ्यांक तयार पार्ने जिम्मेवारी पाएको गृह मन्त्रालयले त झन् बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल (५० लाख केजी) चामल मात्र नेपाल भित्रिएको दाबी गरेको नागरिकमा खबर छ।

‘राहतस्वरुप विदेशी राष्ट्रले पठाएका सामग्री नेपाल भित्रिनेबित्तिकै रेकर्ड हामीकहाँ आउँछ। अहिलेसम्म बंगलादेशबाट ५० हजार क्विन्टल चामल नेपाल भित्रिएको तथ्यांक हामीसँग छ,’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने।

नेपालमा वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि वैशाख २१ गते बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई तत्काल १० हजार मेट्रिक टन चामल दिने निर्णय गरेको थियो।

नेपालका भूकम्प प्रभावितका लागि भनी बंगलादेशले पठाएको १० हजार मेट्रिक टन चामल दुई साताअघि नै नेपाल भित्रिएको थियो। सडक मार्ग हुँदै चामल बोकेका कन्टेनर नेपाल भित्रिएका थिए। बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै ५ सय २१ वटा ट्रकमा १० हजार मेट्रिक टन चामल काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको थियो।

बंगलादेशबाट १० हजार मेट्रिक टन चामल भित्रिएको होइन र ? भन्ने नागरिकको जिज्ञासामा गृह प्रवक्ता ढकालले अनभिज्ञता प्रकट गर्दै भने, ‘एकपटक आपूर्ति मन्त्रालयलाई सोध्नुस् न !’

काठमाडौंस्थित बंगलादेश दूतावासका अनुसार राहतको पहिलो खेप वैशाख २३ गते नेपाल भित्रिएको थियो भने अन्तिम खेप जेठ १ गते। सबै चामल झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। नेपाललाई चामल हस्तान्तरण गर्न काठमाडौंस्थित बंगलादेशी दूतावासका कर्मचारी बारीकुल इस्लाम आफैं झापा पुगेका थिए।

नेपालले बुझेपछि उक्त परिमाणको चामल झापा, बिर्तामोड र चन्द्रगढीस्थित नेपाल खाद्य संस्थानको गोदाममा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment