Comments Add Comment

नक्सा पास नगरेका घर भत्काऔं, बैंकबाट ऋण नदिऔं

Deepak Shrestha (4)

दीपककुमार श्रेष्ठ, इन्जिनियर
विशेष गरेर माटो कमजोर भएको ठाउँमा भूकम्पको क्षति धेरै  देखियो । त्यस्ता ठाउँमा पनि सबै घर भत्किएका छैनन् । जसले इन्जिनियरिङ नर्म्स फलो गरेको छैन, उसको मात्रै भत्किएको छैन ।

दोस्रो, जहाँ माटो कमजोर छैन, राम्रो माटो छ, त्यहाँ काँचो ईंटाको घर पनि भत्किएको छैन । पुतलीसडकपूर्व अनामनगर, नयाँबानेश्वर, सिनामंगल, गोठाटारसम्मको क्षेत्रमा धेरैजसो संरचनाहरुमा डिफेक्ट छैन । पुराना घरहरु भत्किएका छन् । एयरपोर्टको छेउमा पुरानो ईंटाको दुई तले घर पनि भत्किएको छैन ।

बिम र पिल्लर कसरी बनाउने ?

मान्छेले फ्रेम स्ट्रक्चर भनेको बिम र पिल्लर एउटै साइजको हुनुपर्छ भनेर बुझेका रहेछन् । बिमले जसरी लोड लिन्छ पिल्लरले पनि त्यसरी नै लोड लिन्छन् भनेर बुझेका रहेछन् । काम गर्ने ठेकेदारदेखि घरधनीसम्मले के कुरा बुझेनन् भने बिम र स्लाबले लिने लोड भनेको त एक तलाको मात्र भार हो । पहिलो तलाको बिम र स्लाबले दोस्रो, तेस्रो तलाको भार लिनु पर्दैन ।

तर, हरेक पिल्लर र सबैभन्दा तलको पिल्लरले सबैको भार लिनुपर्छ । त्यसैले तलको पिल्लरलाई मजबुत बनाउनुपर्छ । साइज पनि ठूलो, छड बढी र मोटो हालेको हुनुपर्छ । कंक्रिटको स्ट्रेन्थ पनि बलियो हुनुपर्छ ।

एकजना डाक्टरले कमजोरी गर्ने हो भने एकजना मर्ने हो । एउटा इन्जिनियर र मित्रीले कमजोरी गर्‍यो भने घरमा बस्ने सबैको ज्यान जान सक्छ । यो धेरै संवेदनशील कुरा हो

जस्तो साधारण तथा १/२/४ भन्छौं । यो भनेको एक भाग सिमेन्ट, दुई भाग बालुवा र चार भाग रोडा राख्ने चलन हुन्छ आरसीसीको बिम र स्लाबमा । तर, तलको पिल्लरले १/२/४ ले पुग्दैन । कम्तिमा १/१.५/४ चाहिन्छ । अझ स्ट्रक्चरल डिजाइन गर्ने हो भने १/१/२ पनि चाहिन सक्छ ।

अर्को समस्या भनेको कंक्रिटमा रोडा हाल्दा एक इन्चीको रोडा हाल्ने गरिन्छ । रोडा ठूलो भयो र बीचमा मसला कम भयो । मसलामा प्रयोग भएको बालुवा पनि माटो मिसिएको हुने गरेको छ । त्यसमा सिमेन्टको भाग पनि कम भयो । कंक्रिटको गुणस्तर खस्किएको छ ।

अर्को समस्या भनेको कंक्रिटमा पानी धेरै हाल्नुहुँदैन । पानी र सिमेन्टको अनुपातलाई ख्याल गर्नुपर्छ । जति पानी धेरै हाल्यो, काम गर्न सजिलो हुन्छ । निर्माणमा काम गर्नेहरुलाई भाइब्रेटर लगाएर कोच्न सजिलो हुन्छ भनेर पानी बढी हाल्छन् । तर, पानी नापेर नै हाल्नुपर्छ । गर्मीको समय छ भने थोरै पानी बढाउनुपर्ला । तर, जाडोको समयमा पानी बिल्कुल बढी हाल्नुहुँदैन । जति कम्प्याक्ट राम्रोसँग गर्न सक्यो, त्यति राम्रो हुन्छ ।

सबैभन्दा ठूलो कमजोरी केमा देखेँ भने पिल्लर उठाउँदा फर्मालाई अड्याउनुपर्ने हुन्छ । त्यसका लागि टाइबिचमाथि एक डेढ इन्चीको खुट्टा बनाउँछन् । त्यहाँ डिफल्ट भेटियो । उनीहरुले के गरे भने चिप्लोखालको फर्मा राख्न सजिलो हुने गरी बनाए । पिल्लर बलियो भए पनि त्यहीँ फेल भएको छ । अर्कोतिर बाबुले बनाएको जगमा छोराले तला थप्छ । नातिले थप्छ । अनि तल्लो तला कमजोर भएका छन् ।

घर बनाउने मिस्त्रीले लाइसेन्स लिनुपर्छ

म के भन्छु भने मिस्त्रीहरु लाइसेन्स प्राप्त हुनुपर्छ । भूकम्पबारे जानकारी हुनुपर्छ । अब जसले लाइसेन्स लिँदैनन्, उनीहरुलाई काम गर्न दिनु हुँदैन ।

Surachhit-Ghar

किनभने एकजना डाक्टरले कमजोरी गर्ने हो भने एकजना मर्ने हो । एउटा इन्जिनियर र मित्रीले कमजोरी गर्‍यो भने घरमा बस्ने सबैको ज्यान जान सक्छ । यो धेरै संवेदनशील कुरा हो । यसप्रति मानिसहरु अझै गम्भीर भएको देखिँदैन ।

नेपालको विडम्बना नै भनौं इन्जिनियरहरुको नाम छैन । हामी पनि सबै इमान्दार छैनौं होला । तर, कुनै प्रोजेक्टरलाई हेरेर स्टिमेट गर्नुभन्दा स्टिमेटलाई हेरेर प्रजेक्ट बनाउनुपर्छ । बजेट थोरै हुन्छ । १० करोडको घर होला । तर, २ करोड मात्र छ, त्यसमै बनाऔं भन्छौं । गुणस्तरमा सम्झौता गर्छौं । घरमा मात्र होइन, सडकदेखि खानेपानीमा पनि यस्तै छ । बजेट थोरै छ, त्यतिमै बन्ने बनाइदिनुस् इन्जिनियर सा’ब भन्छन् । त्यसपछि गुणस्तर हुँदैन । जबसम्म प्रोजेक्ट अनुसार स्टिमेट नभएसम्म यो समस्या रहिरहन्छ ।

पैसामुखी हुँदा समस्या

अर्को के भने मान्छेहरु लोभीपापी भए । पैसा आउँछ भने जे पनि गर्न तयार हुने अवस्था आयो । गोंगबुका होटलहरु कोल्याप्स हुनुको कारण पनि त्यही हो । उनीहरुले आवासका लागि २/३ तलाको नक्सा पास गरेका छन् । भाडा लाग्ने भएपछि स्वीकृति नै नलिएर तला थपिएको छ ।

व्यवसायिक रुपमा बनाएका भवनहरुमा छड कमजोर राखिएको छ । भोलि बेच्दा पनि नाफा होस् भन्ने मनसाय राखिएको छ । हामी पैसामुखी भयौं र जोखिम हेरेनौं ।

अबको विकल्प भनेको सरकारले कडा नीति नियम ल्याउनुपर्छ । १०/१५ वर्षमा स्थानीय निकायमा जनप्रतिनिधि भएनन् । कर्मचारीले मात्र काम गर्न सक्दैनन् । उनीहरुले आँखा चिम्लिएका छन् ।

मेरो विचारमा यो सबैभन्दा पहिला खानेपानी र विद्युतले लागू गर्नुपर्ने थियो । जसको घर नक्साभन्दा बढी छ, उसलाई खानेपानी र विद्युत दिन हुँदैनथ्यो । त्यहाँबाट रोक्न सजिलो हुन्थ्यो । तर, उसले गरेन ।

त्यस्तालाई बैकले ऋण दिनु हुँदैन

अर्को भनेको बैंकबाट ऋण दिँदा घर निर्माण सम्पन्न भएको प्रमाण पत्र ल्याउनुपर्छ । अघिल्लो गभर्नरले ल्याउने प्रयास गर्नुभएको थियो । तर, त्यो ढीला भइसकेको थियो । ५/६ वर्षमा काठमाडौंमा धेरै घर बने ।

Deepak-Shrestha-(3)अहिले मूल्यांकनकर्ताको भूमिका कस्तो छ भने भिसा अफिसरको जस्तो छ । विशेष गरेर विकासन्मुख देशका मानिसहरुलाई विकसित देशको भिसा अफिसरले कसरी भिसा नदिउँ भनेर कागजपत्र खोज्छन् । रिजेक्ट गर्ने कुनै ठाउँ नपाएपछि पास गर्छ ।

हामीले पनि गर्ने के हो भने उसको कमीकजोरी कहाँ छ भनेर खोज्छौं । नक्सा कति तलाको छ ? नक्सा पास कति तलाको छ ? जग्गा हेर्छौं र नापी नक्सामा पनि भिडाउँछौं । कुनै न कुनैमा कमजोरी भेटिन्छ । त्यसपछि डिपि्रसेसन गर्दा पनि के गर्दा घटाउन सकिन्छ भनेर ध्यान दिने भएकाले खरिद बिक्री डेढ करोडमा भएको घरको १ करोड २० लाख मात्र आउँछ ।

मूल्यांकन गर्दा नक्सपास जतिको छ, त्यतिको नै गर्ने हो । तर, नक्सा पास तीनतलाको छ र चार तलासम्म बनाएको छ भने धेरै जोखिम नभएकाले मूल्यांकन गर्छौं । तर, तीनतलाको नक्सापास छ तर, १२ तलाको छ भने हामी त्यसको मूल्यांकन नै नगर्ने कि भन्ने पक्षमा छौं ।

नक्सा पासभन्दा बढीका अवैध भवनको संरचनाहरु भत्काउनुपर्छ भन्ने बहस सुरु भएको छ । यसले बैंकहरुलाई कुनै घाटा छैन । जति नै तला भए पनि नक्सा पास भएको संरचनाको मात्र मूल्यांकन गरिएको हुन्छ । बरु फाइदा के हुन्छ भने घर सुरक्षित हुन्छ ।

अझ संवेदनशील कुरा के छ भने तीन तलाको नक्सा पास छ तर, ६ तलाको बनाएको छ र त्यो घर भत्कियो भने तीन तलाको भनेर पो दिएको त, ६ तलाको बनाएको रहेछ, हामी दाबी गरेको रकम दिन सक्दैनौं भन्न पनि सकिन्छ । भोलि आउन सक्ने समस्या हो यो । त्यसैले नक्सापास भन्दा बढी तलाहरु घटाउनुपर्छ ।

अब नयाँको हकमा तीन तलाको नक्सापास छ तर, चारतलाको बनाएको रहेछ भने केही हदसम्म लचिलो बन्न सकिन्छ । त्यस्तोमा लोन नै नदिने भन्दा नक्सापासभन्दा बढी भएको एक तला यति दिनभित्र भत्काउन तयार छु भनेर कागज गरेपछि मात्र मूल्यांकन पेश गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

बैंकले लगानी मात्र रोक्ने हो भने मानिसहरुले अवैधरुपमा घरहरु बनाउन छाड्छन् । बिगारेको त बैंकहरुले पनि हो भन्छु म । बढी तला भएकालाई ऋण नदिने भन्ने हो भने मानिसहरुले रोक्ने थिए । तला थप्दा मूल्यांकन बढ्छ, आम्दानी बढ्छ, छिट्टै ऋण तिर्छ भन्ने ठानेका होलान् । तर, अवस्था यस्तो आयो । त्यसैले अब बैंकहरुले सहयोग गर्नुपर्छ । नयाँलाई नदिने र पुरानालाई पनि बोलाएर भत्काउनुस्, नत्र ऋण जारी रहँदैन भन्नुपर्छ ।

तर, कुनै एउटा बैंकले मात्रै गरेर हुँदैन । सबैले भन्नुपर्छ र राष्ट्र बैंकले पनि भूमिका खेल्नुपर्छ । विजुली, पानी, ढलले पनि यसरी नै सहयोग गर्नुपर्छ । जनताले पनि सहयोग गर्नुपर्छ । अधिकार मात्र खोजेर हुँदैन, दायित्व पनि पूरा गर्नुपर्छ ।
(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment