Comments Add Comment

विद्युतका हाकिम भन्छन्- अब लोडसेडिङ बढ्छ

पुष्प दुलाल
१४ जेठ, काठमाडौं । विनासकारी भूकम्पले जलविद्युत् क्षेत्रमा १७ अर्ब रुपैयाँ बढीको क्षति गरेकाले अब डेढ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने विद्युत प्राधीकरणका अधिकारीले बताएका छन् ।

Electricity

नेपाल विद्युत प्राधिकरणले सरकारी आयोजनाहरुको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीमा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक  प्रतिवेदन उर्जा मन्त्रालय पठाएको छ ।

त्यसैगरी, निजी प्रवर्द्धकहरुद्वारा सञ्चालित आयोजनाहरुमा ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यद्यपि सरकारी निकायबाट त्यसको आधिकारिक प्रतिवेदन भने आएको छैन । सरकारी र निजी क्षेत्र दुबैतर्फका आयोजनाहरुको क्षतिबारे पूर्णप्रतिवेदन आउँदा २० अर्ब रुपैयाँसम्म पुग्न सक्ने उर्जा मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

भूकम्पका कारण ४५ मेगावाट जडित क्षमताको भोटेकोशी, १० मेगावाट जडित क्षमताको विद्युत प्राधिकरणको सुनकोशी र २.४ मेगावाट विद्युत जडित क्षमताको सानिमा हाइड्रोको सुनकोशी आयोजना पूर्णरुपमा ठप्प भएका छन् ।

ती आयोजनाहरुको जडित क्षमता ५७.४ मेगावाट भए पनि अहिले सुख्खायाम भएकाले २० देखि २५ मेगावाट विद्युत मात्रै उत्पादन गर्दै आएका थिए । भूकम्पको त्रासका कारण विद्यालय, उद्योग, कलकारखाना तथा विभिन्न कार्यालयहरु अहिले पनि बन्द भएकाले लोडसेडिङ नबढेको हो ।

जनजीवन सामान्य बन्नेवित्तिकै एकदेखि डेढ घन्टासम्म लोडसेडिङ बढ्नसक्ने विद्युत प्राधिकरणका उच्च अधिकारीहरु बताउँछन् ।

 वितरण प्रणालीमा १० अर्ब नोक्सान

उत्पादन भएको विद्युत वितरण प्रणालीमा ९ अर्ब ७१ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । पुनािर्माण तथा सुदृढिकरण, मिटर जडान र मर्मत कार्यका लागि ५ अर्ब ८६ करोड ६२ लाख ९६ हजार रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, सबस्टेसन उपकरण तथा जडान कार्यमा ७ करोड ६५ लाख, भवन पुननिर्माणका लागि ३ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
Transmission-line
प्रसारणमा साढे चार करोड क्षति

विद्युत प्रसारणलाईनतर्फ ४ करोड ६९ लाख ९४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । काठमाडौं गि्रड महाशाखा अन्तर्गतका क्षतिग्रस्त सबस्टेसनहरुको मर्मतका लागि १ करोड ४८ हजार रुपैयाँ, भार सम्प्रेषण् केन्द्र क्षतिग्रस्त सामानहरुको खरिद तथा मर्मत गर्न २ करोड ३४ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै गि्रड सञ्चालन विभाग अन्तर्गतका महाशाखाहरुको क्षति भएको सबस्टेसनको कम्पाउण्ड, भवनको मर्मतका लागि १ करोड ३५ लाख रुपैयाँ आवश्यक रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

 उत्पादनमा ७४ करोड क्षति

प्राधिकरणले आफू संलग्न विभिन्न जलविद्युत आयोजनाहरुमा ७४ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । त्रिशुली, देवीघाट, सुनकोशी लगायतका विद्युत केन्द्रहरुको कन्ट्रोल बिल्डिङको कार्यालय रहेको भवन र आवास भवनलगायतमा २० करोडको क्षति भएको छ ।

त्यस्तै सामान्य क्षति भएका भवनहरुको मर्मतका लागि २ करोड लाग्ने अनुमान गरिएको छ भने सुनकोशी र त्रिसूली जलविद्युत केन्द्रको नरहमा भएको क्षति मर्मत गरी दुरुस्त राख्न २ करोड लाग्ने अनुमान गरिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध १७ इन्च भासिएपछि निर्माणकार्य ठप्प भएको छ । यो आयोजनाको क्षतिबारे यकिन तथ्यांक आइसकेको छैन

कुलेखानीको बाँधमा परेको चिरा टाल्न ५ करोड, कालीगण्डकी बाँधको बाँयापट्टकिो पहिरो नियन्त्रण गर्न ५ करोड आवश्यक रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, त्रिसूली ३ ए लगायतका आयोजनाहरुको पहुँचमार्ग पुननिर्माण गर्न २० करोड, विभिन्न विद्युत केन्द्रहरुको सुरक्षात्मक पर्खाल मर्मत गर्न ५ करोड आवश्यक रहेको जनाएको छ ।

 
भोटेकोशीमा ५ अर्ब क्षति

भूकम्पले ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना पुरिएको छ । आयोजनाको पावर हाउसमा पानी पठाउने पाइपहरु फुटेर संरचना बगेपछि करिव ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले जानकारी दिए । आयोजनाको मुख्य लगानीकर्ता सिप्रदी हो । यो आयोजना पुननिर्माण गरी सञ्चालन गर्न कम्तिमा एक वर्ष लाग्ने दाहालले बताए ।

वैशाख १२ गते गएको पहिलो झड्काले ठूला ढुंगाहरु झरेर आयोजनाका पाइपहरु कुच्चिएका थिए । दोस्रो दिन गएको भूकम्पबाट झनै ठूला ढुंगाहरु झरेर पाइप ध्वस्त भएको थियो । पाइप ध्वस्त भएपछि करिव ४ किलोमिटर टनेलमा जमेको पानी जोडले पावर हाउसमा पसेपछि आयोजना बगरमा परिणत भएको छ ।

आयोजनाको पावर हाउसमा अन्डरग्राउन्ड ४ तला रहेको थियो । त्यो ४ तला माथिबाट जोडले आएको लेदोयूक्त पानीले भरिएको छ । पावर हाउसा ठूला ढुंगा र माटोले पुरिएको दाहालले जानकारी दिए ।

Upper-Tamakoshi-Hydro
माथिल्लो तामाकोशीको बाँध १७ इञ्च भासियो

भूकम्पका कारण दोलखामा रहेको बहुचर्चित ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध १७ इन्च भासिएपछि निर्माणकार्य ठप्प भएको छ । यो आयोजनाको क्षतिबारे यकिन तथ्यांक आइसकेको छैन । तर, अरबको हाराहारीमा क्षति भएको अनुमान गरिएको छ ।

सुरुङ लगायतका अन्य संरचनामा क्षति नभए पनि ड्याममा भएको क्षति र श्रमिकहरु आतंकित भएपछि आयोजनाको निर्माण कार्य बन्द भएको छ ।

सिन्धुपाल्चोक र दोलखाका अधिकांस जलविद्युत आयोजनाहरु बन्द भएका छन । भूकम्पले प्रत्यक्ष असर नपुर्‍याएका आयोजनाहरु पनि कामदारहरु आतंकित भएर काम गर्न नआउँदा सञ्चालन भएका छैनन्

सो आयोजनाले आगामी केही महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको सर्वसाधारण निष्काशन गर्दै थियो । सेयर लागनीमा चासो राख्ने अधिकांश लगानीकर्ताहरुले तामाकोशीको सेयरमा लगानी गर्न रकम जुटाएर बसेका थिए । भूकम्पको प्रभावका कारण आयोजनाको सेयर निष्काशन पनि प्रभाािवत हुने देखिएको छ ।

 सुनकोशीमा करोडौंको क्षति

विद्युत प्राधिकरणको १० मेगावाट विद्युत उत्पादन क्षमताको र सानिमा हाइड्रकबो २.४ मेगावाट विद्युत उत्पादन क्षमताको सुनकोशी जलविद्युत आयोजनामा पनि भूकम्पले करोडौंको क्षति पुर्‍याएको छ ।

सिन्धुपाल्चोक र दोलखाका अधिकांस आयोजना बन्द

भूकम्पले केन्द्रविन्दु बनाएका सिन्धुपाल्चोक र दोलखाका अधिकांस जलविद्युत आयोजनाहरु बन्द भएका छन । भूकम्पले प्रत्यक्ष असर नपुर्‍याएका आयोजनाहरु पनि कामदारहरु आतंकित भएर काम गर्न नआउँदा सञ्चालन हुन नसकेका हुन । यी दुई जिल्लामा दर्जन बढी विद्युत आयोजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment