Comments Add Comment

युवराज दीपेन्द्रले भुइँचालोमा थेसिस गरेका थिए

नरेन्द्रराज पौडेल

वि.सं. ०४५ साल भदौ ५ गतेको कुरा । सूर्योदयको पूर्वसन्ध्यालाई अँध्यारो खाष्टो गम्लङ्ग ओडाएर एक्कासी जोडले धर्ती डग्मगायो । इलाम बजारका जस्ते घरहरु गडङडङको रुखो र चर्को आवाज गरेर धामीनाँच देखाउँदै बिहानै थर्किए ।
Narendra-Raj
कम्पनका लहरहरुले धक्का दिँदा मान्छेहरुको सातोपुत्लो उड्यो । बाँसघारीमा चरा कराए । चियाबारीको तलमाथि स्यालको हुइयाँ चल्यो । चोकैमाथि वैद्य मास्टरका गोठका गाईहरु ड्वाँ ड्वाँको रुखो आवाजमा कराउन थाले । बजारहुँदो नानाथरी रोदन क्रन्दनका आवाज निकालेर कुकुर भुक्न थाले । अन्तभन्दा धेरै पालनपोषण गरिने इलाम बजारमा विरालाहरुको घरैपिच्छे धुरी छानाहरुबाट जुहारी चल्यो ।

लौ भैंचालो आयो भन्ने भयातुर कोलाहल गर्दै बजारबासी घर-घरबाट निस्किए । प्रातःस्नान ध्यानमा लागेका बूढाबूढीहरु एक्कासी तर्सिएर रामनाम जप्दै बाहिर लागे । विहानीपखको मीठो निद्रा निदाइरहेका बालबच्चा र युवायुवतीसमेत कहालिँदै जर्‍याक जुरुक उठे । कतिले भूकम्पको अनुमान गरेका थिए, कति त्यो गर्न नसक्ने नावालक र अबोध शिशु थिए । आ-आफ्ना बाबुआमा र अभिभावकले उठाएर दूधे नानीहरुलाईसमेत सडक चोकहुँदो निकालेका थिए । अनि तत्कालीन सुरक्षित गन्तव्य बन्न सक्ने चउर, चोक र चौबाटा र नारनथानहुँदो जम्मा भए ।

मध्यबजारको चोक आसपास कर्मचारी, व्यापारी, शिक्षक विद्यार्थी सर्वसाधारण एकत्रित भए । बजारको तल्लो भागमा पर्ने टुँडीखेल र माथिल्लो चियाबारी कतै खाली ठाउँ रहेन । सडक, बाटा बजार मन्दिर हटिया क्षेत्र र चौराह, जताततै नरनारीको भीड लाग्यो ।

भूकम्पको तिथिमिति, बेला, साइत आदि पर्गेल्ने नवज्योतिषहरु अनेकथरी फुईँ झार्न र सर्वसाधारण सामु माउडे बनेर विज्ञ पल्टिन थाले । जमघटमा अनेक थरी हल्लासँगै मान्छेपिच्छेका मिथक, उखान र किम्वदन्ती चले । अझै ठूलो भूकम्प जाने अड्कल काटेर झल्ला खाले ज्योतिषहरु हल्लाखेती विस्तार गर्न थाले ।

यता कुसाइतका अरु लक्षणहरु पनि भैंचालासँगै देखिन थाले । बङ्गालको खाडीबाट आएको भदौरे मन्सुन त बाक्लो बादल फैलाएर भयावह रुपमा देखापर्न थाल्यो । उज्यालो फिर्नुसट्टा दिन झनझन अँध्यारो बन्दै पो गयो । समय बित्दै जाँदा वरपरबाट दूध, दही, तरकारी लिएर बजार आउनेहरु पनि थपिँदै गए । जमघट बढ्दै जाँदा कुराहरु पनि थपिँदै गए । कोही बारलाई त कोही तिथि, योग र मूहूर्तलाई दोष दिन्थे । एकपटक ठूलो कम्पन गएपछि निकै दिन पछिसम्म भूकम्प फर्किन्छ रे भन्ने एउटै रटान जपेर कोही घर भित्रिन मानिरहेका थिएनन् ।

डीएसपी शारदा पराजुली टीमले तलमाथि पुलिस गस्ती र पेट्रोलिङ गरेर बजार वारपार कतै केही धनजनको क्षति भए नभएको जानकारी दिँदै थियो ।

देशैभरि एउटैमात्र समाचार स्रोत रही आएको रेडियो नेपालले बिहान ७ बजेको समाचारमा उदयपुर केन्द्रविन्दु रहेर ६.८ रेक्टर स्केलको भूकम्प गएको खबर दियो । इलाम बजारमा कतै कतै पर्खाल र कच्ची गोठ मात्र ढलेछन् । मंगलबारे प्रहरी कार्यालयलेे त्यो क्षेत्रका २२ गाउँ पञ्चायतमा व्यापक रुपमा धनजनको क्षतिको अनुमान गरेर जाहेरी आवा पठायो । एकाध घण्टापछि नै एकतप्पा, फुयँतप्पा, इभाङ्ग, राँके, गजुरमुखी पञ्चमी लगायत उत्तरपश्चिमी गाउँहरुमा व्यापकरुपमा घरहरु भत्किएका, पैरो लडेका, गोठभित्र चौपाया पुरिएका र मानिस मरेका खबर आउन थाले ।

पूर्वी क्षेत्रका गाउँहरु भने हल्का काठ र जस्तापता प्रयोग गरेर बनेका रहेछन् । दार्जिलिंगे शैलीका ती हल्का मजबूत घरहरुमा खासै उल्लेख्य क्षती भएनछ । फिक्कल, पशुपतिनगरबाट पनि भूकम्पसम्बन्धी खबरहरु आउँदै रहे ।

सरकारी कसरत

सीडीओ कीर्तिबहादुर चन्दले १० बजे भेला हुने फर्मान जारी गरे । जिल्ला पञ्चायतको सभाहलमा सुरक्षाकर्मी, बिकासे हाकिम र जनप्रतिनिधिको जमघट भयो । जिल्ला सभापति केबी भट्टराईको विशेष पहलमा प्रधानमन्त्री र सरकार साँध्ने काम हुँदैथियो । तत्काल भूकम्पको क्षतिको लेखाजोखा लिने र उद्धार र राहत कार्य पनि संगसंगै पुर्‍याउने हिसावले उद्योग वाणिज्य संघ, रेडक्रस, रेयुकाई , स्काउट, जेसीज, नारी विकास संघलगायत संघसंस्था र जिल्ला पञ्चायत समेतको संलग्नतामा भूकम्प प्रकोप उद्धार समिति निर्माण भयो । जिल्ला सभापति संयोजक र स्थानीय विकास अधिकारी सदस्यसचिव रहेको सो समितिबाट तत्काल सम्पन्न गर्नुपर्ने कामकाज र राहतका कार्यक्रम तय गरियो ।

पटकैपिच्छे गाउँतिर आउजाउ गर्न समय र जनशक्ति पनि थिएन । र, नै उद्धारमा जाने सेना प्रहरीसँगै राहत र सहायता बाँड्ने कर्मचारी पनि एकैसाथ खटाउने निर्णय गरियो । प्रशासकीय अधिकृत कृष्ण पौडेल, उद्योग वाणिज्य संघका सभापति र नगर पञ्चायतका प्रधानपञ्च हिमालय कर्माचार्यको संयुक्त पहलमा बजारमा स्टक रहेको खाद्यान्न तत्काल खरीद गरेर चिउरा, चामल पीडितको हातमा पुर्‍याउने अभियान चलाइयो । घाइतेको थप उपचारका सामाग्रीसहित डाक्टर, अहेब र अनमी खटिने भए ।

जनशक्ति कम थियो । थप मद्दत पठाइदिन माथि लेखापढी चल्दैजाँदा उल्टै सिमसिम पानी परेर इलाम चारआलीको बाटो अवरुद्ध हुन पुग्यो । भर्खर निर्माण हुन थालेको मेची राजमार्गको इलाम खण्डमा स्क्याभेटरले काटेर फस्र्योल पार्दा माटैमाटोका ढिस्का डाँडा तेर्सिएका थिए । बर्खा लागेदेखि नै सम्पूर्ण राजमार्ग क्षेत्र हिलम्मे थियो । गाडी त के, पैदलै मान्छे हिँड्न पनि गारो थियो ।

यता दिन चड्दै गएपछि भूकम्प प्रभावित क्षेत्रका बासिन्दा आआप\mना समस्या लिएर सदरमुकाम आउने क्रम चल्यो । बेलुकीसम्म यो क्रम थेगी नसक्नु बनेर बढ्दै गयो । तत्काल त्यहीँ थोरबहुत राहत प्रदान गरेर त्यो रातको गुजारा चलाइयो र भोलिपल्टै घर फर्काउनतिर लागियो । छाता, घुम आदि सामान्य ओडा लिएर उद्धारटोली गाउँतिर लाग्यो ।
भरपर्दो सूचना प्रणाली नभएकाले गाउँ गाउँ सोधपुछ गर्दै, पहिरो पन्छाउँदै टोलीको कामकाज र भ्रमण चल्दै गयो । इभाङमा चार घर पुरिएछन् पहिरोले ।

राहतको रामकहानी

भूकम्पले ध्वस्त भएका र पहिराले पुरेका ८ सय घरको विवरण हप्ता दिनभित्रै आइपुग्यो । सबै उमेर समूहका गरी ६८ जना नरनारीको ज्यान गएछ । हजारभन्दा बढी पशुपञ्छी पुरिएर मरेछन् । प्रत्येक मृतकको किरियाखर्च र क्षतिपूर्ति बापत दुई/दुई हजार रुपैयाँ र भत्किएका घरका लागि तत्काल १५ सय राहत रकम वितरण गरियो ।

त्यही राहत रकम पनि कतिपय ठाउँमा हिनामिना भएका खवर आइपुगे । कतिपय काल गतिले ६ महिनाअघि मर्नेहरु पनि सहायता पाउने सूचिमा परेछन् ।

कतिपय जिउँदाहरु नै मृत घोषित भएर क्षतिपूर्ति लिनेमा अघि सरेछन् । जालझेल गरेर सरकारी पैसा हत्याउनेमा सम्वन्धित कर्मचारी र प्रधानपञ्चहरु अग्रस्थानमा थिए । । पीडित परिवारलाई अवस्था हेरी १०/१५ किलो चामल चिउरा वितरण गरियो । पश्चिम इलामका गाउँहरुमा मकै पाक्ने समय भएकाले पनि भोकमरीको हाहाकार हुन पाएन ।

दीर्घकालीन सहायताका लागि कामका लागि खाद्यान्न कार्यक्रम अन्तरगत चामल, दाल, तेल वितरण गर्ने कार्यक्रम सरकारी तहबाटै अलि दिनपछि नै जिल्लामा आइपुग्यो ।

घर बनाउनका लागि दीर्घकालीन सहुलियत ऋणका रुपमा प्रतिपरिवार १० हजार रुपैयाँ बैंकबाट उपलब्ध गराउने निर्णय पनि सरकारले लियो ।

विनासले ल्याएको विकास

सातसाले पुस्ताका व्यक्ति भएर पनि विकास प्रेमी र दूरदृष्टिका नेता थिए सभापति केबी भट्टराई । उनले त्यस विपत्तिलाई अवसरका रुपमा लिने मौका छोपेर जिल्लाको नेतृत्व गरे । त्यसै बर्ष शुरु  भएको कामका लागि खाद्यान्न कार्यक्रमले हिउँद लागेपछि जिल्लाभर प्रत्येक गाउँमा मोटरबाटो पुर्‍याउने अभियान अघि बढायो ।

जिल्ला पञ्चायतले गाउँपिच्छे सञ्चालन गरेको ‘एक घर, एक गाई र दुई चिया बोट’ अभियानले इलामलाई नेपालको पहिलो दूध उत्पादक पहाडी जिल्ला स्थापित गरायो ।

विनासले विकासलाई डोर्‍याएको जिउँदो उदाहरण बन्न गयो चिया अनि दुग्धविकास कार्यक्रम । अलैंची, अम्रिसो, आलु र अदुवालाई नगदे बालीकारुपमा विकास गरेर गरिवी निवारण गर्ने महाअभियान चल्यो ।

विनाशकारी भूकम्पबाट क्षति भएका विद्यालयहरुको त्यसै बर्षदेखि नै भूकम्प सहन गर्ने मापदण्ड अनुसार नव निर्माण अभियान थालियो ।   मङ्गलबारे, गजूरमुखी माइमजुवा जमुना श्रीअन्तु जिर्मले लगायत गाउँहरुमा कामका लागि खाद्यान्न कार्यक्रमबाटै मोटरबाटो बन्ने अभियान शुरु भयो । जनताका अनुभूत आवश्यकताका योजना हुनाले लक्ष्यभन्दा चा-चाँडो प्रगति हासिल हुँदै गयो ।

युवराज दीपेन्द्रको भूकम्पको थेसिस

Dipendra Shahभूकम्पको आघातबाट तङ्रिँदै गरेको इलाममा जेठ महिनाको एक दिन तत्कालीन युवराज दीपेन्द्रको अत्यन्त गोप्यरुपले सवारी भयो । ब्यारेकमा आज मसिनु चामल पकाको छ, खसी काट्या छ, राजा आ’का छन् भन्दै एक दिन बिहानैदेखि फ्याङ्ली क्वार्टर (फेमिली क्वार्टरलाई मानिसहरु फ्याङ्ली क्वार्टर भन्थे ) वरपर केटाकेटीहरु हल्ला गर्दै थिए । सभापति केबी भट्टराई र मेरो बसाइ त्यतिबेर गेष्टहाउसमै थियो । केटाकेटीको हल्लामा अचम्म मान्दै हामी दुबैजना सीडीओ सा’बको निवासमा पुगेका थियौं । उनी र प्रशासकीय अधिकृत कृष्ण पौडेल पनि हामीजस्तै अलमल्ल हालतमा झोक्राउँदै गरेको अवस्थामा फेला परे । आफ्नो मातहत निकायबाट जानकारी भए पनि औपचारिक रुपमा भने त्यतिबेरसम्म उनलाई पनि युवराज आउने थाहा रहेनछ ।

जिल्लाको सीडिओलाई समेत थाहा नदिई देशका युवराज सवारी हुने कस्तो कार्यक्रम हो यो ? हामी सबैले चियाका चुस्कीसँगै संयुक्त रुपमा आश्चर्य प्रकट गर्‍यौं । तत्कालै टुप्लुक्क आइपुगेका ब्यारेकका मेजरसंँग भलाकुसारी गरेपछि बल्ल कुरा खुल्यो । बेलायतको इटन कलेजमा भूगोल विषयको उच्च शिक्षा लिँदै गरेका युवराज भूकम्पसम्बन्धी थेसिस तयार गर्न इलाम जिल्ला छानेर आएका रहेछन् ।

यति सामान्य कुरालाई मेजर र युवराजकै सचिवालयले पनि किन त्यति साह्रो गोप्य राखेको भन्ने कुरा हामीले बुझेनौं । र, बुझ्ने प्रयास पनि गरेनौं । भूकम्पसम्बन्धी जानकारी र अध्यनका लागि दीपेन्द्र दिउँसो जिल्ला पञ्चायत आउने कार्यक्रम रहेछ । तर, सीडीओ र  एलडीओबाहेक अरु पञ्च नेता र कर्मचारी कसैलाई थाहा नदिनु भन्ने फर्मान रहेछ । त्यो सुनेपछि सभापति मज्जैले झोक्किए र मेजरमाथि व्यङ्ग्य प्रहार गर्न थाले । सम्झाउन खोज्दा उल्टै आइलागेर आफ्नै गाउँ साखेजुँगतिर हिँडे ।

मैले हत्तपत्त राष्ट्रिय पोशाकमा ठाटिँदै अफिस ओर्लिएर पाले पहरा भेला गरेँ । समीक्षालय र कार्यालय परिसरको तत्कालै सरसफाइको व्यवस्था मिलाएँ । डालीभरि फूल आइपुग्यो । पुष्पगुच्छा तयार भए । गेटमा अबीर फूलले रङ्गएिका घडा सजिए । आफ्नो कार्यकक्षमा युवराजलाई बसाउने कौच टेबुलको इन्तीजाम भयो । दिउँसो उनलाई जाहेर गर्नुपर्ने सम्भावित कुराहरुबारे टिपोट तयार गरेँ ।
समीक्षालयको फ्लिप चार्ट ल्याएर कार्यकक्षको भित्तो सजाउन लगाएँ । नभन्दै ११ बजेतिर युवराज दीपेन्द्र सिभिल ड्रेसका एक जीप हतियारबन्द सुरक्षा दस्तालाई पछि लगाएर आफ्ना निजी गुरु बालकुमार केसीसँगै जिल्ला पञ्चायत प्राङ्गणमा भित्रिए ।

मैले गेटमा ट्यानछ्यान बसेर पुष्पगुच्छा टक्र्याउँदै युवराजको भावपूर्ण स्वागत गरें र अगुवाइ गर्दै आफ्नो कार्यकक्षतर्फ सवारी चलाएँ । उता युवराजसँग भेट नगराएको भनेर कलिका कार्की, लीला श्रेष्ठ, उर्मिला लामालगायत महिला नेतृहरु उल्टै मसँग रिसाएर बमबम भए ।

अत्यन्त शान्त र सौम्य प्रकृतिका देखिने रहेछन् युवराज दीपेन्द्र । नगीच बस्दा निकै आत्मीयता र भरोसा उत्पन्न भएझैं लाग्यो । चिया कफीको प्रस्ताब राख्दा पछि लिउँला भने । उनको मनसायअनुसार नै शुरुमा फ्लिप चार्टमाथि लौरो दौडाएर भूकम्पको क्षति, उद्धार तथा राहत र पुनर्निर्माणबारे जानकारी गराउँदै गएँ । वीचवीचमा थप प्रश्न र जिज्ञासा राखेर उनले भूकम्पको क्षति र राहत तथा पुनर्निर्माणबारे अङ्ग्रेजी अक्षरमा लामो टिपोट तयार गरेका थिए ।

फ्लिप चार्टमा न खुलेका र नअटाएका कतिपय कुराहरु सम्बन्धित फायल पल्टाएर उनको आशयअनुसार जानकारी गराउँदै गएँ । भूकम्प प्रभावित प्रत्येक गाउँ र प्रत्येक पीडित परिवारको फायल केलाएर स्थितिको जायजा लिँदैजाँदा ४ घण्टा बितेछन् । बाहिर कतै केही न खाने रहेछन् क्यार, अध्ययनकै बीचमा निवासमा बनाएर ल्याएको कफी पिए । चित्रा, भकारी, घुम, आली, समाहा, जस्ता स्थानीय शब्दहरु नबुझ्ने रहेछन् । प्रकारान्तरले अर्थ्याएपछि ढीलोगरी बुझेको भाव देखाउँथे । तर, कुनै विषयको जानकारी लिँदा असाधारण तन्मयता देखाएर एकोहोरिएका हुन्थे ।

दीपेन्द्र पढलेख गर्नमा अब्बल छन् भन्ने सुनेको कुरा उनको ताल देखेर सत्य रहेछ भन्ने विश्वास जाग्यो । अनि त्यस दिनको उनीसँगको लामो बसाइ र व्यबहारले विनाकारण पघ्रिएको अत्मीयताको मधुरो अनुभूति लामै समयसम्म ताजा रह्यो ।

(सिडियोका १७ वर्ष पुस्तकका लेखक पौडेल इलामका तत्कालीन स्थानीय विकास अधिकारी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment