Comments Add Comment

दाङको टरिगाँउ विमानस्थल सुचारु

Dang-Airport

१४ जेठ, दाङ । सात वर्षदेखि बन्द रहेको तुलसीपुरको टरिगाउँ विमानस्थल बिहीबाट सुचारु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको लामो प्रयासपछि सात वर्षदेखि अबरुद्ध रहेको विमानस्थल सुचारु भएको हो ।

गोमा एयरको लेट एयक्राफ्ट दिउँसो एक बजे काठमाडौंबाट सुर्खेत हुँदै दाङको टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो ।

विमान अबतरण गर्नासाथ संघको अगुवाईमा  सभासदद्वय डिल्लीबहादुर चौधरी र बुद्धिराम भण्डारी, काँग्रेस जिल्ला सभापति घनश्याम रेग्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राप्ती सार्वजनिक यातायात व्यवसायी समिति, उद्योगी, व्यवसायी, लगायतले विमानका चालकदलका सदस्यहरु तथा यात्रुहरुलाई स्वागत गरेका थिए ।

गोमा एयरले अब प्रत्येक साताको सोमबार र बिहीवार काठमाडौ–सुर्खेत हुँदै टरिगाँउ विमानस्थलमा उडान भर्नेछ ।

गत असार १८ मा सीता एयरले सफल परिक्षण उडान गरेपनि झन्डै एक वर्षपछि विमान सेवा शुरु भएको छ । यहाँ २०१६ सालदेखि ०४२ सालसम्म नियमित विमान सञ्चालन भएको थियो । त्यसपछि २०६० सालसम्म विमान सेवा अवरुद्ध भयो ।

goma-air
अवरुद्ध विमानस्थल २०६० सालदेखि ०६६ मंसिरसम्म नियमित संचालनमा आएको थियो । तर, त्यसयता विमान सेवा सुचारु थिएन ।

विमान सेवा बन्द भएको झन्डै ७ वर्षपछि फेरी जेठ १४ गतेबाट सुरु भएको छ ।  धावनमार्ग कालोपत्रे नभएको, यात्रु अभावलगायत विभिन्न कारण देखाउँदै विमान सेवा सञ्चालन हुन सकेको थिएन ।

झन्डै साढे आठ करोडको लागतमा केही समयअघि धावनमार्ग कालोपत्रे गरिएको थियो ।  विमानस्थल कालोपत्रे गर्न भूमिका खेलेको संघले विमान सेवा सुचारु गर्न गोमा एयरलाई आश्वस्त पार्न एकतर्फी टिकटको जिम्मा आफैले लिएको छ ।

विमानस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष विमल रिजालले लामो समयदेखिको मिसन पुरा भएको बताए । उनले ठूलो जोखिम मोलेर यस क्षेत्रका जनताको सुविधाका लागि एकतर्फी भाडाको जिम्मा लिएपछि गोमा एयरले दाङ उडान भर्न सुरु गरेको बताए ।

दाङका लागि एकतर्फ भाडादर ७ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ ।

शरद रेग्मीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment