Comments Add Comment

भूकम्पको ऋण १० वर्षमा तिरे हुन्छ : राष्ट्र बैंक

१४ जेठ, काठमाडौं । भूकम्पका कारण घरबार गुमाएकाहरूलाई घर बनाउन २ प्रतिशत ब्याजदरमा दिइने ऋण १० वर्षमा तिरे हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बुधबार जारी गरेको सहुलियत ऋणसम्बन्धी कार्यविधिमा यस्तो ऋण ५ देखि १० वर्ष भित्र बुझाए हुने उल्लेख छ । तर, तोकिएको समयभन्दा अगावै पनि बुझाउन सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।nepal rastra bank

सरकारले उपत्यकामा प्रतिघर २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँ  २ प्रतिशत व्याज दरमा ऋण उपलब्ध गराउने निर्णय गरेसँगै राष्ट्र बैंकले कार्यविधिलाई अन्तिम रुप दिएको हो ।

राष्ट्र बैंकले अन्य बैंकहरुलाई शून्य प्रतिशत व्याजदरमा एक वर्षका लागि पुनकर्जा उपलब्ध गराउनेछ र सो पुनकर्जा हरेक वर्ष गरी बढीमा १० वर्षसम्म नवीकरण गर्न सकिनेछ ।

सहुलियतपूर्ण ऋणमा बीमा, धितो मुल्यांकन, कर्जा सुचना र कर्जा सुरक्षण गर्दा लाग्ने शुल्क बाहेक बैंकहरुले ऋणीसँग अन्य शुल्क लिन नपाउने कार्यविधिमा उल्लेख छ । ऋणीले तोकिएको अवधि अगावै ऋण तिरे बैंकले अतिरिक्त शुल्क लिन पाउने छैन ।

जसको घर बस्न योग्य छैन, त्यस्ता पीडितले मात्रै सहुलियत दरको कर्जा लिनसक्ने छन् । ऋण लिनका लागि आवास बस्नै नहुने गरी भत्केको गाविस वा नगरपालिकाले सिफारिस गरेको हुनुपर्नेछ ।

सर्वसाधारण र सरोकारवालाहरुको प्रतिकृया लिएर ऋण सम्बन्धी अन्तिम कार्यविधि सार्वजनिक गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी थिए ।

आवासीय घर पुननिर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार किस्तामा ऋणीलाई भुक्तानी हुने गरी प्रवाह गर्नुपर्ने कार्यविधिमा जनाइएको छ ।

ऋणीले राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना गरेर मात्रै घर निर्माण गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । यस्तो कर्जाको अनिवार्य बीमा हुनुपर्ने कार्यविधिमा अर्को शर्त राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो पुनर्कर्जा कुल प्राथमिक पुँजीको ८० प्रतिशतसम्म पाउनेछन्  । कर्जा असूल हुने अवस्था देखेमा मात्रै बैंकहरुले पीडितलाई ऋण दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत बैशाख २४ गते एक सूचना प्रकाशित गरी २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई मूर्तरुप दिने बुधबार कार्यविधि सार्वजनिक गरिएको हो ।

यस्तो कर्जा प्रवाह गर्न चाहने बैंकहरुलाई बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment