Comments Add Comment

शुरु भयो यार्साको सिजन, हिमाली क्षेत्रमा यार्सा खोज्नेको लर्को

Yarsa-Gumba

बी.बी. गिरी

१४ जेठ, जाजरकोट । बहुमूल्य जडिबुटी यार्सागुम्बाको सिजन सुरु भएको छ । यार्सा खोज्न सातुसामल बोकेर मानिसहरु हिमालतिर लागेका छन् ।

जेठको पहिलो सातादेखि विद्यार्थीहरु यार्सा खोज्न आफ्ना अभिभावकहरुसंगै कर्णाली अञ्चलको डोल्पा, हुम्ला र मुगु जिल्लाको हिमाली क्षेत्र तर्फ हिँडेका छन् । विद्यार्थीहरु हिँडेपछि जाजरकोटका विद्यालयमा पढाइ ठप्प भएको छ । जिल्लाका उत्तरपूर्वी क्षेत्रका १५० विद्यालय यतिबेला विद्यार्थी विहीन छन् ।

बन्दोबस्तीका सामानसहित विद्यार्थीहरु हिँडेपछि पठनपाठन बन्द भएको सिता माध्यमिक विद्यालय कार्कीज्यूलाका प्रधानाध्यापक भूमिलाल शाहीले बताए । यार्सा बेचेर वर्षभरीको खर्च जुटाउनुपर्ने बाध्यता भएकाले विद्यार्थीहरु पढाइ नै छाड्न बाध्य छन् ।

‘के गर्नु विद्यालयको नियमले उनीहरुको बाध्यता पूरा हँुदैन, स्थानीयको आयस्रोतको एकमात्र उपाय यार्साको खोजी भएकाले बिद्यार्थी हिँडिहाल्छन्,’ प्रधानाध्यापक शाहीले भने ।

यो सिजनमा कमाएको पैसाले विद्यार्थीले बर्षभरीको पढाइ खर्च चलाउनुको साथै घर खर्चमा समेत सहयोग गर्ने गर्दछन् । परीक्षामा सहभागी हुने विद्यार्थी बाहेक अरु सबै यार्साको खोजीमा हिँडेको नलगाड क्याम्पसका प्रमुख नारायणबहादुर सिंहले बताए ।

५/६ कक्षामा अध्ययन गर्ने समेत यार्सा खोज्न हिमालतिर लागेको बीरेन्द्र ऐश्वर्य उच्च माबिका प्राचार्य गोरखबहादुर सिंहले बताए । विद्यार्थीहरु आफ्ना अभिभावकसँगै एक महिनाको लागि हिमाल तर्फ गएको प्राचार्य सिंहको भनाई छ ।

डोल्पाको लेकतर्फ यार्सा खोज्न जानेको लर्को छ । छोटो समयमा धेरै आम्दानी हुने भएपछि अधिकांस बासिन्दा यार्सा संकलनमा आकर्षित छन् । जिल्लाका रग्दा, खगेनकोट, भगवती, रामीडाँडा, नायकबाडा, सक्ला, रोकायगाउँलगायत डेढ दर्जन गाविसका बासिन्दा यार्सा खोज्न डोल्पा तर्फ लागेका छन् । गाउँमा बुढाबुढी र बालबालिका मात्रै छन् ।

यस बर्ष यार्सा प्रतिपिसको ५ सयभन्दा बढी मूल्यमा विक्री हुने गरेको छ । दुई साताको यार्सा खोजाइबाट एक व्यक्तिले ५० हजार रुपैयाँ भन्दा धेरै कमाई गर्ने स्थानीयको भनाइ छ । आम्दानीको अन्य स्रोत नहुदा जाजरकोट अधिकांश बासिन्दा कर्णाली अंचलका उच्च लेकमा जोखिमपूर्ण तवरले यार्सा टिप्न वाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment