Comments Add Comment

‘बेलायती समाचारपत्रद्वारा प्रकाशित समाचार आधारहीन’

१४ जेठ, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले बेलायती समाचारपत्र द गार्डियनले कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा यही जेठ १० गते प्रकाशन गरेको समाचार आधारहीन भएको स्पष्ट गरेको छ ।

Tek-bahadur-gurungगत वैशाख १२ गतेको भूकम्प र कतारमा रहेका नेपाली कामदारका विषयमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई उद्धृत गर्दै छापिएको समाचार विवरणले मन्त्री गुरुङको अभिव्यक्तिलाई यथार्थमा प्रतिविम्बित नगरेको उक्त मन्त्रालयले प्रस्ट गरेको छ ।

मन्त्री गुरुङले असल नियत र भावनाका साथ भूकम्पबाट प्रभावित भएका कामदारका आफन्तजनलाई भेट्न नेपाल फर्काउने वातावरण तयार गर्न कतारी रोजगारदाता कम्पनीसँग गर्नुभएको आग्रहलाई उक्त समाचारपत्रले राज्यमन्त्रीको आशय विपरीत अन्यथा छापेको जनाएको छ ।

उक्त मन्त्रालयले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कतारी रोजगारदाता कम्पनीले राज्यमन्त्री गुरुङको आग्रहलाई सकारात्मक रुपमा लिएर नेपाली कामदारलाई स्वदेश फर्काउन सहजकर्ताको भूमिका निर्वाह गरिरहेका बताएको छ ।

मन्त्रालयले गार्डियनजस्तो नाम चलेको पत्रिकालाई वास्तविकतामा आधारित भएर जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै आधारहीन त्यस्ता समाचारले नेपाल र कतारबीच विद्यमान सुमधुर सम्बन्धमा कुनै असर नपार्ने जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment