Comments Add Comment

जमिन चिरिन थालेपछि नुवाकोटका बस्तीहरू रित्तिए

Nuwakot earth quake

१४ जेठ, नुवाकोट । विनाशकारी भूकम्पका कारण नुवाकोट बस्तीहरू अत्यास लाग्ने बनेका छन् । तीसभन्दा बढी घना मानवबस्ती भूकम्पका कारण चिराचिरा भएका छन् ।

आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीय त्रसित छन् । नुवाकोट जिल्लाको घ्याङफेदी, उर्लेनी, किम्ताङ, भाल्चे, नर्जामण्डप, काहुले, मनकामना, खरानीटार, दुईपिपल, फिकुरी, सुन्दरादेवी, जिलिङ, कुमरी, गाउँखर्क, साल्मेलगायत गाउँ विकास समितिका बस्ती रहेका जमिन चर्केका छन् ।

किम्ताङ, कुमरी, घ्याङफेदी, फिकुरी, भाल्चे, साल्मे, नर्जामण्डपका केही वडाका बासिन्दा विस्थापितसमेत भएका छन् । घ्याङफेदी गाविसबाट झन्डै २०० जना विस्थापित भइसकेका छन् । भूकम्पबाट ८५ जनाले ज्यान गुमाएको त्यस गाविसका ७०० घर पूर्णरुपमा ध्वस्त भएका छन् ।

१४ जनाको मृत्यु भएको नर्जामण्डपका केही वडाका नागरिक आफ्नो थातथलो छाडेर हिँडेका छन् । यसरी आफ्नो गाउँठाउँ छाड्नेहरु छिमेकी गाविसमा गएर बसेका छन् । उनीहरुको बसोबास त्रिपालमुनि हुँदैआएको छ ।

नुवाकोटको किम्ताङ र घ्याङफेदी गाविसलाई पूरै सार्नुपर्ने अवस्था आएको छ भने फिकुरीका केही वडामा बसोबासको सम्भावना नै नभएको बताइएको छ । यस्तै, नर्जामण्डपका वडा नं ३, ५ र ९ मा बस्न लायकको जमिन नरहेको बताइएको छ ।

घ्याङफेदी गाविसको नेगी, बिसाङ, मलुङ, सेलेलो, च्याम्दुङ, कोङगङ, ओप्राका सयौं स्थानीय विस्थापित भएको कर्मजित तामाङले जानकारी दिए । सेलेलो गाउँका २५, बिसाङका नौ, मलुङका सात, च्याम्दुङका १५ र कोङगङ ओप्राका ५३ परिवार विस्थापित भएका छन् ।

नेगी गाउँका ५६ परिवार विस्थापित भएर समुन्द्रटारको दुप्चेश्वर उच्च माविमा पाल टाँगेर बसिरहेका छन् । ओप्रा र कोङगङ गाउँका ५३ परिवार गाउँ छाडेर नजिकैको ध्याबाचौरमा आश्रय लिएर बसेका गाविसका प्राविधिक सहायक जीवन तिमिल्सिनाले जानकारी दिए ।

यस्तै,जमिन चिरिएसँगै आएको पहिरोबाट नर्जामण्डपको वडा नं ५ को आलडाँडाका ३५ र  नं ९ को स्याङलेका ३१ परिवार विस्थापित भएका छन् । विस्थापित भएका नागरिक छिमेकी गाविसमा आश्रय लिएर बसिरहेका छन् । वडा नं ३ का विस्थापित १४ घर अहिले जङ्गलतिर बास बस्न गएको सामाजिक परिचालक रामचन्द्र खनालले जानकारी दिनुभयो ।

भूकम्पका कारण पहाड चर्किएका र जमिनमा धाँजा फाट्न थालेपछि स्थानीयको बास असुरक्षित भएकाले सरकारी निकायले विज्ञको टोली अध्ययनका लागि गाउँगाउँमा खटाएको छ । यसरी खटिआएको टोलीसँग परामर्श गरेरमात्रै बसोबासको ठाउँ रोज्न पनि आग्रह गरिएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले असुरक्षित मानिएका स्थानमा बसोबास नगर्न र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment