Comments Add Comment

भूकम्प पीडितलाई हजार घर बनाइदिने गोल्छा र ह्याबिट्याटको घोषणा

Golchha
१४ जेठ, काठमाडौं । मुलुकको सबैभन्दा पुरानो व्यवसायीक घरना गोल्छा अर्गनाइजेशनले ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गरेर भूकम्प पीडितका लागि एक हजार घर निर्माण गरिदिने भएको छ ।

‘आश्रय’ नामक योजनाअन्तर्गत घरबार बीहिन परिवारका लागि घरहरु बनाइदिने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न चरणमा भूकम्प प्रभावित विभिन्न जिल्लामा घरहरु बनाइदिने छ ।

अभियानको पहिलो चरणमा ह्याबिट्याट फर ह्युम्यानिटीले पाइलट प्रोजेक्ट गरिरहेको बताइएको छ । जसअन्तर्गत काभ्रेको पिपलटारमा सय दिनभित्र सयवटा घरहरु बनाइनेछन् । कम्पनीले निर्माण सम्पन्न भएपछि यी घरहरु स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने छ ।

‘आश्रय’ अभियानका लागि गो अटोमोबाइल्स र हंसराज हुलासचन्द एण्ड कम्पनीले संयुक्त रुपमा १ करोड २८ लाख ६ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।

यस विषयमा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका निर्देशक एल्मुडेना बार्टेयर्स, ह्याबिट्याट फर ह्युम्यानिटी इन्टर्नेशनलका एसिया–पेसिफिक उपाध्यक्ष रिक ह्याथवे, हुलासचन्द एण्ड कम्पनीका शेखर गोल्छा र गो अटोमोबाइल्सका आकाश गोल्छाबीच सहमति भएको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटीले विश्वभरका मानिसले उचित वासस्थान पाउनुपर्छ भन्ने मिसनका साथ काम गर्दै आएको छ । नेपालमा सन् १९९७ देखि काम गर्दै आएको यस संस्थाले अहिले सम्म ५८ हजारभन्दा बढी घरबीहिन परिवारहरुलाई सहयोग गरिसकेको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटीले विभिन्न क्षेत्रका मानिसहरुसँग सहकार्य गर्दै घरबीहिन परिवारका लागि सहयोग जुटाउँदै आएको छ ।

गोल्छा अर्गनाइजेसनले ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गरेर कम खर्च लाग्ने, छिटो बनाउन सकिने र बसोबासका लागि उचित घरहरु बनाउने अभियान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment