Comments Add Comment

गणतन्त्र दिवसमा प्रधानमन्त्री र मन्त्रीले भूकम्प प्रभावित क्षेत्र सफा गर्ने

१४ जेठ, काठमाडौं । गणतन्त्र दिवसको दिन प्रधानमन्त्री र मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रको सरसफाइमा खटिने भएका छन् ।

Sushil,-Bamdev,-Prakshman

शुक्रबार विहान ७ बजेदेखि प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्रीहरुले तोकिएका क्षेत्रमा गएर भग्नावशेष पन्छाउने, सरसफाइ गर्ने लगायतका काम गर्नेछन् ।
को कहाँ ?

उर्जामन्त्री राधा ज्ञवाली, भुमिसुधार मन्त्री दलबहादुर राना र शिक्षामन्त्री चित्रलेखा यादव पाटनमा खटिने छन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बुङमतीमा खटिनेछन् ।

केही मन्त्रीहरु खटिने स्थान खुलाइए पनि सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री सुशील कोइराला खटिने स्थान भने तत्काल सार्बजनिक गरिएको छैन ।

गणतन्त्र दिवस खल्लो

गणतन्त्र दिवसमा यसपाली कुनै औपचारिक कार्यक्रम हुनेछैनन् । टुँडिखेलमा नेपाली सेनाले गर्ने औपचारिक कार्यक्रम, राष्ट्रपति डा. रामवरण यादवले गर्ने चियापान लगायतका सबै औपचारिक कार्यक्रम यसपालि रद्ध गरिएको छ । तर सार्बजनिक विदा भने यथावत रहने छ ।

सामान्य प्रशासन मन्त्री पण्डितले अनलाइनखबरसँग भने, ‘भूकम्पको विपत्ती परेकाले गणतन्त्र मनाउने स्वरुपमा परिवर्तन भएको छ, अघिल्ला वर्षजस्तो औपचारिक कार्यक्रम र उल्लास हुँदैन ।’

०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको विधिवत अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।

कैदीबन्दीलाई आममाफी

सरकारले ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदी बन्दीहरुलाई आममाफी दिने भएको छ । गम्भीर अपराधका मुद्दा नलागेका र राम्रो चालचलन भएका ५१९ जना र ७० वर्ष उमेर पूरा भइ अशक्त भएका २२ जनालाई आममाफी दिने प्रस्ताव विहीबारको मन्त्रिपरिषद बैठकमा पेश भएको थियो । तर, यो संख्या केहि बढ्न सक्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

‘५४१ जनालाई आममाफी दिने प्रस्ताव आए पनि यो संख्या केही बढ्नसक्छ,’ उनले भने ।

अर्थमन्त्रीको संयोजकत्वमा दातृ सम्मेलन तयारी समिति

मन्त्रिपरिषद बैठकले दातृ निकायको सम्मेलनको तयारी गर्न अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेल र अर्थ, शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात लगायत मन्त्रालयका सचिवहरु छन् ।

सरकारले दातृ निकायहरुको सम्मेलन आउँदो असार १० गते गर्ने प्रस्ताव गरेको छ ।

पूजा साहको परिवारलाई ६ लाख

बलात्कारपछि हत्या गरिएकी बाराकी ६ वर्षीया बालिका पूजा साहको परिवारलाई ६ लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको मन्त्री पण्डितले जानकारी दिए ।

गुप्तचर विभागको प्रमुखमा रेग्मी

गृहमन्त्रालयको प्रस्तावमा गुप्तचर विभागको प्रमुखमा दिलिप रेग्मीलाई नियुक्त गरेको सरकारले विभागकै एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गरेको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा सुगतरन्त कंशाकार र नेपाल नागरिक उड्डेयन प्राधिकरणको महानिर्देशकमा संजीव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले विपद व्यवस्थापनमा सहयोग गर्न र राहत जुटाउन मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनिसा कोइरालालाई सदभावना दूत नियुक्त समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment