Comments Add Comment

मन्त्रिमण्डल विस्तारको औचित्य छैन : प्रचण्ड

१५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तार वा केही मन्त्रीको हेरफेरमात्रै गरेर समस्या समाधान नहुने बताएका छन् । राष्ट्रिय सरकार बनाउने हो भने संविधानमा सहमतिको सुनिश्चिता हुनुपर्ने शर्त प्रचण्डले अगाडि सारेका छन् ।
prachanda
नयाँ बानेश्वरमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय सरकार गठनबारे शर्त अघि सारेका हुन् । राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि सरकारको जोड घटाउको मात्रै औचित्य नहुने उनले तर्क गरे ।

‘यहाँहरु सबैले थाहा पाइराख्नुभएकै छ, अहिले राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको कुरा पनि चर्चामा छ,’ प्रचण्डले भने, ‘मन्त्रिमण्डलको विस्तार अथवा मन्त्रीहरु थपिनेमात्रै पार्टीहरु सरकारमा थपिनेमात्रै भयो भने त्यसको कुनै औचित्य हुने छैन ।’

प्रचण्डले भने- ‘म के स्पष्ट गर्न चाहन्छु भने एउटा ऐतिहासिक संकल्प, नयाँ भिजन र संविधानमा सहमतिको सुनिश्चिततासहित राष्ट्रिय शक्ति एक ठाउँमा जाने कुरा आवश्यक छ । तर, त्योभन्दा बाहिर, सामान्यतः परम्परागत ढंगले सरकारको जोड घटाउले चाहिँ नेपाली समाजमा खासै असर गर्दैन ।’

भूकम्पको महाविपत्तिपछि राष्ट्रिय एकताको खाँचो रहेको बताउँदै प्रचण्डले अब बन्ने राष्ट्रिय सरकारका दुईवटा कार्यभार रहेको बताए । उनले भने- ‘यतिबेलाका दुईवटा ऐतिहासिक कार्यभार आएका छन् : एउटा कार्यभार संविधान निर्माणको र अर्को भूकम्पद्वारा सिर्जित परिस्थितिको सामना गर्नका लागि नवनिर्माण र पुनर्निर्माणको एउटा महाअभियान सञ्चालन गर्ने एकतावद्ध संकल्पको ऐतिहासिक आवश्यकता ।’

राष्ट्रिय सरकारबारे प्रचण्डको प्रस्ताव छ – ‘यी दुईवटा कार्यभार पूरा गर्ने शर्तमा एउटा नयाँ ऐतिहासिक संकल्पसहित नयाँ भिजन, नयाँ इच्छाशक्ति र दृढतासहित कार्यक्रम बनाएर त्यो कार्यक्रमका आधारमा राष्ट्रिय संयुक्त सरकार बन्ने कुरा ऐतिहासिक रुपले औचित्यसिद्ध हुन सक्छ ।’

अहिले राष्ट्रिय एकता र मजबुत इच्छाशक्तिसहित अगाडि बढ्ने हो भने भूकम्पद्वारा पैदा भएको चुनौतिलाई नवनिर्माणको अभियानद्वारा मुकाबिला गर्न सकिने प्रचण्डले बताए । उनले भने- ‘नेपाललाई छिटै सम्वृद्ध बनाउन सम्भव छ । यही दिशातिर अहिले चिजहरु जाँदैछ ।’

मागेर खाने नबनौं

एमाओवादी अध्यक्ष प्रचण्डले विदेशीको मात्रै मुख ताक्ने र मागेर खाने बन्न नहुने बताए । ‘अहिले देशमा नयाँ चुनौती खडा भएको छ, त्यसको सामना गर्नका निम्ति एउटा राष्ट्रिय एकताको दृष्टिकोणले पुनर्निर्माण र नवनिर्माणको निम्ति एकताको खाँचो छ,’ प्रचण्डले भने- ‘विदेशीको मात्रै मुख ताक्ने र अरुसँग मात्रै मागेर खानेका रुपमा हामी परिणत हुनुछैन । हामीले आफ्नो खुट्टामा उभिएपछि हाम्रा छिमेकी मित्रराष्ट्रहरुको सहयोगलाई हाम्रो आफनो प्राथमिकतामा स्वीकार गर्छौं र धन्यवाद पनि दिन्छौं ।

ट्याम्के टावरको बजेट अभियान घोषणा

नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा भोजपुरको ट्याम्के डाँडामा बनाउन लागिएको ‘किरात गणतन्त्र टावर’ को बजेट अभियान प्रतिनिधि घोषणा गरिएको छ ।

करिब ३ अर्बको लागतमा बन्ने भनिएको ३६५ फिटको सो टावर निर्माणको योजना एमाओवादी नेता गोपाल किरातीले अघि सारेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले राष्ट्रिय सहमतिको स्थिति बन्यो भने किरात गणतन्त्र निर्माण पनि अझ सहज हुने र आफ्नो तर्फबाट यो टावर निर्माणको कामलाई सहयोग गर्ने बताए ।

प्रचण्ड सिन्धुली जाँदै

यसैवीच एमाओवादी अध्यक्ष राहत वितरण एवं भूकम्पको क्षतिको अवलोकन गर्न शुक्रबार सिन्धुली जाने कार्यक्रम रहेको उनको सचिवालयले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment