Comments Add Comment

पर्यटन प्रवर्द्धनका लागि विदेशी सेलिब्रेटी भित्राउनुपर्छ

सुमन पाण्डे
सामान्यतया नेपालमा पर्यटनका दुईवटा सिजन छन् । एउटा अक्टोबर–नोभेम्बरको अटम सिजन र अर्को मार्च–अप्रिलको स्प्रिङ सिजन । अटम सिजन पदयात्रा र दृश्यावलोकन गर्ने सयम हो भने स्प्रिङ पदयात्रा र दृश्यावलोकनका साथै हिमाल आरोहणको पनि सिजन हो ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पर्यटकीय सिजनको पिक समय प्रभावित बनाएको छ । भूकम्पले अगष्तसम्म नेपाल भ्रमणमा आउने पर्यटक गुमाइसकेको अवस्था छ । गत वर्षको तथ्यांकलाई आधार मान्ने हो भने यस अवधिमा करिव १ लाख ७५ हजार पर्यटक गुमाएका छौं । दश १० अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गुमेको छ ।

सेप्टेम्बरपछि पनि पर्यटक पहिलाकै जति त आउँदैनन । त्यसपछि थप क्षति हुने देखिन्छ । यसकारण नेपाली पर्यटन क्षेत्रले भूकम्पबाट धेरै ठूलो क्षति बेहोर्नुपर्ने
Suman-Pandey-Photoभएको छ । हामीलाई यो रिकोभर गर्न लामो समय लाग्छ । हाम्रा धेरै पर्यटकी संरचना क्षतविक्षत भएका छन् । भौतिक पूर्वाधार क्षतिग्रस्त छन् ।

कसरी अगाडि बढ्ने ?

नुहुनपर्ने क्षति भइहाल्यो, अब हामी रोएर, कराएर केही हुँदैन । यो अवस्थाबाट पार पाउन राम्रो भिजनसहित अगाडि बढ्नुपर्छ । पर्यटकको नेपाल प्रवेशद्धार काठमाडौं उपत्यकामा दृश्यावलोकन गर्ने भनेका पाटन, भक्तपुर र बसन्तपुर दरबार स्क्वायर प्रमुख हुन् । पर्यटकलाई योग्य नरहेका यी सम्पदाहरु पुनर्निर्माणमा जुटिहाल्नुपर्छ ।

नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्र विश्वमै पदयात्राका लागि प्रख्यात मानिन्छ । भूकम्पले यो क्षेत्र पनि क्षतिग्रस्त भएकोक छ । अहिले लाङटाङ र मनास्लु पदयात्राका लागि योग्य छैनन् । दोलखाको रोलवालिङ क्षेत्र पनि भूकम्पबाट विक्षिप्त बनेको छ ।

तामाकोशी देखि मस्र्याङ्दीसम्म पर्यटक लिएर जानसक्ने अवस्था छैन् । सगरमाथा क्षेत्रमा भने कम क्षति पुगेको हुँदा पर्यटक लैजान सकिन्छ । त्यो भन्दा कम क्षति अन्नपूर्ण क्षेत्रमा भएको छ । तरपनि विज्ञहरुले अनुगमन तथा निरिक्षण नगरेसम्म हामीले केही भन्न सकिदैन ।

पहिलो काम निरिक्षण

नेपालको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउनका लागि हामीले धेरै कामहरु क्रमानुगत रुपमा गर्नुपर्ने देखिन्छ । यसका लागि सबैभन्दा पहिला क्षतिग्रस्त क्षेत्रको तत्काल निरिक्षण गरेर यथास्थिती खोज्नुपर्छ ।

पर्यटनसँग सम्बन्धीत संरचनाहरुको निरिक्षण गरेर कहाँ कति क्षति भएको छ ?, के–कती संरचना हेर्न लायक छन् ? कुन संरचना हेर्न अयोग्य छन् ?, आधा भत्किएका संरचना सुरक्षित–असुरक्षित के छन् ?, पर्यटकको चहल–पहल बढ्दा भत्किएका संरचना कसरी व्यवस्थापन गर्नुपर्छ, कहाँ घुम्न जान लायक छ, कहाँ छैन ? लगायत निरिक्षण गरेर रिपोर्ट बनाउनुपर्छ ।

हामीले भूकम्प प्रभावित क्षेत्रमा बाटोघाटो तथा ट्रेलहरु मर्मत तथा परिवर्तन गर्नुपर्ने भएमा सुरु गरिहाल्नुपर्छ । पुलहरु जँचाउने, पहिरो आउन सक्ने सम्भावित ठाउँहरुमा रातो स्टिकर लगाउने काम पनि गर्नुपर्छ । पुराना सम्पदा कति भत्काउनुपर्ने हो, कति मर्मत गर्नुपर्ने हो त्यसतर्फ पनि कदम अगाडि बढाउनु जरुरी छ ।

सार्वजनिक निजी अवधारणमा गठित पर्यटन पुनरुत्थान समिति (टिआरसी)ले अहिले निरिक्षण गरि बास्तविकता बाहिर ल्याउने काम सुरु गरेको छ । नेपाल एशोसियसन अफ टुर अपरेटरले सम्पदाको निरिक्षण गर्ने काम गरिरहेको छ ।

अहिले पशुपति, बु्ढानिलकण्ठ र बौद्धनाथ बाहेक अन्य सम्पदाहरु पर्यटकका लागि भ्रमणयोग्य छैनन् । बसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायरमा सरसफाइ गरेर पर्यटक लैजान सकिने पुरातत्व विभागले जनाएको छ ।

यसैगरी पदयात्रा रुटहरुको निरिक्षण गरेर बास्तबिकता बाहिर ल्याउने काम टानले गरिरहेको छ । हानले होटलहरुको निरिक्षण गरिरहेको छ । निरिक्षणको क्रममा काठमाडौंका अधिकांश होटलहरु सुरक्षित नै रहेको देखिएको छ ।

नगरकोट र धुलिखेलका केही होटल बाहेक अन्य पर्यटकलाई सेवा प्रदान गर्न योग्य रहेको बताइएको छ । टिआरसीले यी सबै सूचना केन्द्रीकरण गरेर देश विदेशमा यथार्थ सन्देश पुर्‍याउने काम गर्ने छ ।

विज्ञबाट निरिक्षण

हामीले असुरक्षित संरचना सुरक्षित बनायौं भनेर पुष्टि गर्नुपर्छ । यत्तिकै हामीले हाम्रा पर्यटकीय गन्तव्य सुरक्षित छन भन्दैमा पर्यटक आउँदैनन् । यसका लागि हामीले अन्तराष्ट्रिय स्तरका निष्पक्ष संघ–संस्थाबाट क्षतिग्रस्त संरचना निरिक्षण तथा जाँच गरेर यथार्थ प्रतिवेदन सार्वजनिक गर्नु जरुरी छ ।

उक्त प्रतिवेदन विभिन्न निकायमार्फत सबै मुलुकमा पुर्‍याउनुपर्छ । अहिले पर्यटकीय संरचनाहरुको जाँच गरेर सर्टिफिकेट लिने काम भइरहेको छ । त्यो सर्टिफिकेटले नेपाली पर्यटनमा धेरै फाइदा पु¥याउँछ । सर्टिफिकेट भएपछि विदेशी टुर अपरेटलाई पनि नेपाल भ्रमणमा पठाउन सजिलो हुन्छ । त्यहाँ इन्स्योरेन्स कम्पनी नेपाल आउने पर्यटकको इन्स्योरेन्स गर्न सहमत हुन्छन् ।

अहिले भ्रमणका लागि नेपाल सुरक्षित छैन भनेर विभिन्न देशले ट्राभल एडभाइजरी जारी भएको छ । निरिक्षण रिपोर्ट तथा सर्टिफिकेट भएको खण्डमा त्यसलाई आधार बनाएर ट्राभल एडभाइजरी पोजेटिभ बनाउन पहल गर्न सकिन्छ ।

नेपाल सुरक्षित भइसक्यो भनेर विदेशी मुलुकले ट्राभल एडभाइजरी जारी गरिदिएमा नेपालमा पर्यटक आउने वातावरण बनिहाल्छ । आउँछन् नै भन्ने चाहीँ हुँदैन । यसका लागि हामीले पनि थुप्रै मार्केटिङ क्याम्पियन सञचालन गर्नुपर्छ ।

हामीले नेपाल भ्रमण वर्ष, नेपाल पर्यटन वर्षजस्तै एउटा अभियान चलाउनुपर्छ । अन्तर्राष्ट्रिय संघ–संस्था, मिडिया, टुर अपरेटर तथा सेलिब्रिटीलाई आमन्त्रण गरेर विज्ञले सर्टिफाइड गरेका कुराहरु देखाएर सकरात्मक सन्देश विश्वभर फैलाउन सकिन्छ ।

अब हामीले अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रोडक्टहरुको सकेजति बजारीकरण गर्नुपर्छ । नेपाललाई मायाँ गर्नेहरुको विदेशमा ठूलो जमात बनिसकेको छ । उनीहरुलाई तिमीहरुले आज हो नेपाललाई मायाँ गर्ने भन्दै इमोशनल क्याम्पियन सुरु गर्नुपर्ने देखिन्छ ।

नेपालको उन्नतीका लागि, नेपाली सम्पदाको पुनर्निर्माणका लागि निमीहरु फेरी नेपाल जानुपर्छ भन्ने किसिमका क्याम्पियन सञ्चालन गरेमा धेरै पर्यटक भित्राउन सकिन्छ । नेपाल आउने हरेक पर्यटकलाई यहाँको पुनर्निर्माण तथा पुनरुत्थानमा सहभागी भएको आभास दिलाउने खालका कार्यक्रम ल्याउनुपर्छ ।

सेलिब्रिटी भित्राएर प्रमोशन गरौं

अहिले भूकम्प पीडितलाई अन्तर्राष्ट्रिय सेलिब्रिटी, कलाकार, खेलाडी, नेता, उच्च अधिकारीले सहयोग गरिरहेका छन् । भोली नेपाल भ्रमणमा आउने गरी उनीहरुको सेन्टिमेन्ट क्याच गर्ने खालका क्याम्पियन चलाउन सकिन्छ ।

हामीलाई मित्र राष्ट्रहरुले के सहयोग गर्नुपर्‍यो भनिर सोधिरहेका छन् । हामीले उनीसँग माग्नुप¥यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी के सहयोग गरौं भनिरहेका छन्, हाम्रा प्रधानमन्त्रीले तपाई एक महिनाभित्र नेपाल भ्रमणमा आइदिनुस्, त्यहि ठूलो राहत हुनेछ भन्नुपर्‍यो ।

अमेरिकी राष्ट्रपति बराक ओबामादेखि बेलायतका प्रधानमन्त्रीसम्मलाई बोलाउनुपर्‍यो । उनीहरुले यहाँ आएर नेपाल भ्रमणका लागि ठिक छ भन्ने म्यासेज आफ्नो मुलुकमा लगिदिनुपर्‍यो । राहत भन्दा ठूलो आहात त्यो हुन्छ ।

हामीले बलिवुडदेखि हलिवुडसम्मका कलाकार तथा खेलाडीसम्म बोलाएर नेपाल भ्रमण गराई यथार्थ बाहिर पु¥याउन सक्छौं । नेपालप्रति साहानुभुति देखाइरहेका क्रिस्टियानो रोनाल्डो, ज्याकी च्याङ, अमिताभ बच्चनलाई ल्याउन सकिन्छ । उनीहरु एकपटक नेपाल घुमेर गएमा विश्वभरीका पर्यटक नेपालप्रति सकरात्मक बन्नेछन् ।

पुनरुत्थानमा पाटाको सहयोग

नेपालको पर्यटन पुनरुत्थानका लागि प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) इन्टरनेशनल आइपुगेको छ । पाटासँग एशिया प्यासिफिक क्षेत्रमा दैबी प्रकोपले घायल बनाएको पर्यटन पुनरुत्थान गर्ने अनुभव रहेको छ ।

थाइल्यान्डको सुनामी होस वा जापानको भूकम्प होस्, इन्डोनेसियाको दैबीप्रकोप होस्, चाइनाको भूकम्प होस् वा फिलिपिन्सको साइक्लोन होस यी सबै मुलुकमा पाटाले त्यहाँको सरकार र पर्यटनसँग सम्बन्धीत निकायसँग सहकार्य गरेर रिकोभरी क्याम्पियन गरिसकेको छ ।

पाटा नेपाल च्याप्टरको आग्रहमा हेडक्वार्टरबाट प्राविधिक सहितको टोली नेपाल आएर काम सुरु गरिसकेको छ । टोलीमा पाटाका उपाध्यक्षसहित अनुभवी एक्स्पोर्टहरु रहेका छन् । पाटाको टोलीले पर्यटन पुनरुत्थान समिति, मन्त्रालयका अधिकारी, विज्ञहरु तथा स्थानियहरुसँग छलफल गरेर रिपोर्ट तयार गर्नेछ ।

त्यो रिपोर्टका विषयमा हेडक्वार्टरमा व्यापक छलफल हुनेछ । त्यसपछि नेपालको पर्यटन पुनरुत्थानका लागि क्याम्पियन सञ्चालन गर्ने छ । पाटाले पुनरुत्थानका लागि फण्डसमेत कलेक्सन गरिरहेको छ ।

राष्ट्रिय संरचना आवश्यक

पर्यटन पुनरुत्थान क्याम्पियन चलाउन राष्ट्रिय स्तरको संरचना निर्माण गर्नुपर्ने पनि देखिन्छ । यसो भयो भने क्रमानुगत रुपमा देश विदेशमा विभिन्न क्याम्पियन चलाउन सकिन्छ । साथै, भत्किएका संरचनाको पुनर्निर्माणका लागि पनि उक्त संरचनाले प्रभावकारी काम गर्न सक्छ ।

भोली सरकारले त्यसलाई आवश्यक ठानेर काम गर्न खोज्यो भने ठूलो संरचना पनि खडा हुन सक्छ । नेपाल सुरक्षित छ भनेर मात्र हुँदैन, टिसर्ट लगाएर मात्र पनि हुँदैन, प्रचाहरु छरेर पनि हुँदैन ।

विदेशी कार्यक्रम ल्याउँ

अब अन्तर्राष्ट्रिय स्तरका म्युजिकल कार्यक्रम, कर्पोरेट प्रोग्राम तथा मिटिङ सेमिनारहरु नेपालमा गर्ने वातावरण बनाउन सरकार तथा निजी क्षेत्र जुट्नुपर्छ । त्यस्ता कार्यक्रम नेपालमा हुन थालेपछि मिडियाले प्रचार–प्रसार गर्छन । अनि नेपालमा यस्ता कार्यक्रम भइरहेका छन्, अर्कोतिर रिपोर्ट पनि आइसकेको छ, नेपाल साँच्चिकै सुरक्षित गन्तब्य बनेछ भनेर पर्यटकको ध्यानाकर्षण हुन्छ ।

विस्तारै पर्यटक बढ्न थालेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले पनि फ्लाइट बढाउन थाल्छन् । प्यासेञ्जर मुभमेन्ट कम हुँदा अहिले फ्लाइट कम भइरहेका छन् । सरकार तथा निजी क्षेत्रले पनि विभिन्न प्याकेजहरु ल्याउनुपर्छ । सरकारले पनि निजी क्षेत्रलाई इन्टेन्सिभ दिनुपर्छ । सरकारले निषेधित क्षेत्रहरु खोल्नका लागि तयारी गरिरहेको छ । यो सकरात्मक हो ।

लगानीलाई असर गर्दैन

चार महिना पर्यटक गुमाउनु परेपनि सेप्टेम्बर महिनादेखि पर्यटन उकालो लाग्ने देखिन्छ । त्यो हुनसाथ लगानी आकर्षित भइहाल्छ । पर्यटकले लगानी वृद्धि गर्छ, लगानीले पर्यटक वृद्धि गर्छ । यी दुई पक्षबीच चक्रिय सम्बन्ध रहेको हुन्छ ।

घोषणा भइसकेको लगानी फिर्ता हुँदैन् । नेपालको होटल उद्योगमा आउन लागेका प्रख्यात बहुराष्ट्रिय ब्रान्ड भूकम्पकै कारण फर्किन्छन जस्तो लाग्दैन । किनभने भूकम्प, बाढी पहिरो, सुनामीजस्ता प्राकृतिक प्रकोप जुनसुकै मुलुकमा हुनेगर्छ ।

ट्रेकिङ मरेको छैन

नेपालमा ट्रेकिङ पर्यटन होटल खोलेर सुरु भएको होइन । नेपालमा केही नभएको ठाउँमा पर्यटक घुम्न थालेपछि होटल खुलेका हुन् । हाम्रो ट्रेकिङको हिजोको पूर्वाधार भनेको टेन्टेड क्याम्प हो । विस्तारै ट्रेकिङमा आउने पर्यटक बढ्न थालेपछि गाउँलेले आफ्नो घरलाई लजमा परिणत गर्न थाले । त्यसलाई ‘टि हाउस’ भन्यौं ।

अन्नपूर्ण, लाङटाङ र खुम्बु लगायतका पदयात्रा गन्तव्यहरुमा टि हाउस प्रयाप्त भएपछि टेन्ट लैजान परेन । नत्र सुरुमा टेन्ट लगेर पर्यटकलाई घुमाएर फार्काइन्थ्यो । भोलीका दिनमा टि हाउस भत्किको ठाउँमा टेन्टेड क्याम्प ट्रेकिङ गराउन सकिन्छ ।

हाम्रो टेन्टेड क्याम्प ट्रेकिङ त जिउँदै छ । हिजो टेन्टेड क्याम्पबाट सुरु भएको ट्रेकिङ पुनः क्याम्पमा परिणत भएको मात्र हो । हामी १५ वर्ष पछाडि फर्किएर जाउँला, ट्रेकिङ मरेर त जाँदैन । हिमाल, झरना, बनजंगल, चराचुरुङ्गी भएसम्म ट्रेकिङ मर्दैन ।

चाइना र इन्डियालाई समात्नुपर्छ

पछिल्लो समयमा नेपाल आउने पर्यटक सबैभन्दा बढी चिनियाँ र भारतीय हुने गरेका छन् । यी मुलुकको अर्थतन्त्र माथि लागेपछि घुमफिरमा निस्कनेहरुको संख्या बढी रहेको छ । त्यसैले हामीले बजारीकरण गर्दा यी दुई मुलुकलाई बढी जोड दिनुपर्छ ।

नेपाली पर्यटनको भविष्यको प्रमुख बजार भारत चीन हो । पुरानो परम्परागत बजार युरोप र अमेरिका हो । पछिल्लो समय आन्तरिक पर्यटक पनि बढीरहेका छन् । दुर्गम क्षेत्रमा आर्थिक कृयाकलाप बढाउन आन्तरिक पर्यटकको ठूलो भूमिका रहेको देखिन्छ ।

यो क्रम बढीरहेको छ । आजको दिनमा सौराहा, पोखरा लगायतका क्षेत्रहरु आन्तरिक पर्यटकले धानिरहेका छन् । त्यसैले हामी विदेशीमात्र नभई आन्तरिक पर्यटक मुभमेन्ट गर्नेतिर पनि ध्यान पुर्‍याउनु जरुरी छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष पाण्डेसँग गरिएको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment