+
+

कैदमा परेको गणतन्त्र र हरिनारायणहरु

हरिनारायण चमार पूर्वाञ्चलको कुनै नगरपालिकामा सडकमा बसेर जुत्ता सिउँछन् । परम्परागत भाषामा भन्दा उनी पुख्र्यौली सार्की हुन् । बहुदलीय व्यवस्था आएको ०४६ सालको करिव एक वर्षसम्म उनले र मैले कयौंपटक कार्यक्रमहरुमा एउटा गीत गाएका थियौं ।

टीकाराम भट्टराई टीकाराम भट्टराई
२०७२ जेठ १५ गते १७:४२

हरिनारायण चमार पूर्वाञ्चलको कुनै नगरपालिकामा सडकमा बसेर जुत्ता सिउँछन् । परम्परागत भाषामा भन्दा उनी पुख्र्यौली सार्की हुन् । बहुदलीय व्यवस्था आएको ०४६ सालको करिव एक वर्षसम्म उनले र मैले कयौंपटक कार्यक्रमहरुमा एउटा गीत गाएका थियौं ।

Tikaram-bhattraiमलाई लाग्छ, त्यो गीतका रचैता हालका प्रदीप नेपाल (भूमिगत नाम सञ्जय थापा) हुन् । यो गीतमा हरिनारयणले पनि स्वर थप्ने गरेका थिए । तिनै हरिनारायणसँग करिव एक वर्षअघि सर्वोच्च अदालत परिसरमा भेट हुनेवित्तिकै मैले त्यो गीत सम्झिएँ ।

बहुदलीय व्यवस्थाको आगमनमा हर्षित हुँदै लेखिएको गीत यस्तो थियो-

जुत्ता सिलाउने ती सार्की दाइको अनुहार चम्कियो
घाँस दाउरा गर्ने दिदी र बैनी यही कुरा बुझन
कलम समाउने हे शिक्षक साथी यही गीत सुनाउन
आइपुग्यो प्यारो जनताको साथी, देशलाई ब्युँझाउन …….

यो गीत बहुदलीय व्यवस्थाको आगमनमा लेखिएको थियो । तर, हरिनारायणले मलाई भेट्दा गणतन्त्र आएको ६ वर्ष व्यतीत भइसकेको थियो । हरिनारायणको मुहार चम्किने आशाका साथ ल्याइएको बहुदल र त्यसपछिको गणतन्त्रले उनका पिता पूर्खाका पालादेखिको एउटा भुप्रो बनाएको मोहियानी हक प्राप्त एक कठ्ठा जग्गााबाट उनलाई बञ्चित गरायो ।

उनी बजारको वीचमा जुत्ता सिएर बस्थे । कलम कापी र अक्षरसँग उनको कहिल्यै भेट हुने सम्भावना थिएन । कालो अक्षर भैंसी बराबरको अवस्थामा रहेका उनलाई जग्गाधनीले उनी जग्गा कमाउन छाडेर  वेपत्ता भएको भनेर भुमिसुधार कार्यलयमा मोही निस्कासनको मुद्दा हालेछन् ।

मोही वेपत्ता भएको भनेपछि उनलाई भुमिसुधार कार्यललयले कुनै सूचना नै जारी नगरी मोही हक समाप्त हुने फैसला गरेछ । फैसला च्यापेर जग्ग्ााधनी चुपचाप बसेछन् र पाँच वर्षपछि तेरो मोही लगत कट्टा भयो भनेर त्यो झुप्रोबाट हटाउन जाँदा हरिनारायण छाँगाबाट खसेजस्ता भएछन् ।

एकजना वकिल समाएर उनले पुनरावेदन अदालतमा पुनरावेदन गरे । त्यो अदालत पनि कहाँ कम थियो र ? भुमिसुधारको फैसला मिलेकै देखियो भन्दै सदर गरिदियो । हुनेखाने र  साहु महाजन अनि कर्मचारीको मुद्दामा मर्का परेको पक्षलाई नबुझी गरिएको फैसला प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन्छ भनेर व्याख्या गर्ने त्यो अदालतले हरिनारायणको हकमा त्यो सिद्धान्त सम्झने कुरै भएन ।

त्यो फैसला गर्ने न्यायाधीशका जुत्ता पालिस गर्ने हरिनारायणले कहिल्यै त्यही मान्छे नै आफ्नो मुद्दा फैसला गर्ने न्यायाधीश हो भन्ने चिन्ने अवसर नै पाएनन् । अर्कोतर्फ जग्गाधनीले न्यायाधीश नचिन्ने कुरै भएन । यसरी पुनरावेदन अदालतबाट पनि पराजित हरिनारायण अहिले पनि न्यायको आशमा भौंतारिइरहेका छन् । देशमा यतिबेला गणतन्त्र आइसकेको छ ।

पुनरावेदन अदालत समेतले हराएपछि हरिनारायणले त्यो छाप्रो छाड्नुको विकल्प रहेन । जग्गाधनीले पुनरावेदन अदालतको फैसला तेस्र्याएर  सर्वदलीय समिति बसाए । प्रदीप नेपाल र मैले गाउने गीतमा लय मिलाउने मानिस समेत त्यो समितिमा बसे । अदालतले समेत मोहीको  लगत काटेकाले उनले हट्नै पर्ने निश्कर्ष निकाल्यो । बाँसका भाटामाथि माटोले लिपेको त्यो घर छाडेर हरिनारायण खोलाको छेउमा छाप्रो हालेर गणगतन्त्रको रसस्वादन गरिरहेका छन् ।

उनीसँग फोन छैन । थाहा भएन, यो भुइँचालोले त्यही छाप्रो पनि उडायो कि ?

गणतन्त्रमा यस्ता लाखौं हरिनारायणहरु एउटै कथा व्यथाका साथ जिउन बाध्य छन् । यिनी त प्रतिनिधि पात्र मात्र हुन् । हरिनारायण जस्ता सार्की, परम्परागत पेशा व्यवशायमा लागेका विश्वकर्मा, दर्जी, चमार, दुसाद, सतार, पासवान, राउटे, रातोदिन भारी बोक्ने भरिया, हली, सडकमा सुत्ने बेसहारा लगायत भूमिहीन, सुकुम्वासी र अभिवावकविहीन सडक वालवालिकाहरुका लागि मात्र होइन, निम्न वर्ग, निम्न मध्यम वर्ग र साना किसानहरुले पनि यो गणतन्त्रको प्रतिफल प्राप्त गर्न सकेका छैनन् ।
हिजो दरबारको जय जयगान गाएर पञ्चायतको वरिपरि घुम्नेहरुले  जसरी पञ्चायती व्यवस्थाको रसस्वादन गरेका थिए, आज त्यसैको प्रतिछाँया जस्तो अर्को स्वरुपमा दल र दलको वरिपरि लाग्ने तर त्याग, तपस्या र इमान्दारिता नभएका अधिकांशले गणतन्त्रको भरपुर उपयोग गरिरहेका छन् ।

परिवर्तनकारी मुख्य राजनीतिक दलको नेतृत्व अहिले पनि  राजा र पञ्चायतको विरुद्यमद्धा वलिदानी गरेर जीवन कुर्वानी गर्न तयार भएकाहरुकै हातमा छ । तर, गणतन्त्रप्राप्ति पछि अझ विगत पाँच वर्षभित्र तिनले गरेका नियुक्तिका अनुहारहरु अनि तिनले संरक्षण गरेर व्यापार व्यवसायमा लगाइदिएका वा ठेक्कापट्टा मिलाइदिएकाहरुको सूचि हेर्ने हो भने गणतन्त्रको रसस्वादन गर्ने अधिकांश त्यस्ताअनुहार छन्,  जसले वहुदलीय व्यवस्था वा गणतन्त्र प्राप्तिको आन्दोलनमा एक थोपा रगत होइन, पसीना पनि बगाएका छैनन् । कतिपय त आन्दोलन दबाउने प्रतिकार समितिमै बसेका थिए । यस्तो गणतन्त्र कसरी जनताको गणतन्त्र हुन सक्छ ?
राज्यको श्रोत र साधन अहिले पनि सीमित वर्गको हातमा केन्दि्रत छ । हुनेखाने र हुदाँखानेहरु वीचको खाडल दिन प्रतिदिन बढिरहेको छ । बैंकहरु, होटलहरु, सञ्चारका साधनहरु बाटाघाटाहरु खुलेका छन्, तर ती सबैमा सीमित वर्गको लगानी रहेकाले प्रतिफल पनि तिनैको वरिपरि घुमेको छ । नहुने, नखाने र नसक्ने अनि हुनेखाने एवं सक्नेहरुको पहिचानसम्म यो गणतन्त्रले गर्न सकेको छैन ।

गरिवीको रेखामुनि रहेकाहरुलाई सुचीकृत गरेर राज्यद्वारा प्रवाह गरिने सेवा सुविधामा विशेष सहुलियत दिनका लागि परिचयपत्रसम्म यो गणतन्त्रले बाँड्न सकेन । परिणामस्वरुप अहिले भूकम्पपछिको राहत वितरणमा पनि अग्ला होचा कोही देखिएनन् । सबैले सबै सुविधा उपयोग गर्न तँछाड मँछाड गरिरहेका छन् ।

सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोर्खा  र काभ्रेका हरिनारायणहरुले र काठमाडौ र भक्तपुरका धनबहादुर वा लक्ष्मीकुमारीहरुले पाउने राहत एउटै छ । जवकि धनबहादुर र लक्ष्मीकुमारीहरुसँग बंैक ब्यालेन्स छ, कम्पनीमा सेयर छ । अनि एउटा घरमा बसेर कयौं घरहरु भाडामा लगाइएका छन् । अब बैंकहरुद्वारा प्रदान गरिने सस्तो ब्याजको  उपयोग पनि तिनै धनबहादुर र लक्ष्मीकुमारीहरुले गर्नेछन् । विचरा हरिनारायणहरुसँग धितो राख्ने सम्पति छैन । तसर्थ दसकौंसम्म तिनले छाप्रोमै जिउनुपर्नेछ ।

राज्यका सबै निकायहरु कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिकामा पनि हुनेखाने वर्गकै पँहुच र प्रतिनिधित्व रहेको छ । सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्न हिँडेका दल र तिनका  नेताहरु सुनखानीमा सुन खोज्न सुरुङ पसेको  मजदुर खानीभित्रै वेपत्ता भएजस्तै भएका छन् । इमान्दार, असल र त्याग तपस्याको कुरा गर्ने नेता कार्यकर्ताहरु दलबाट पाखा लाग्ने क्रममा छन् । तिनले कहिल्यै टिकट पाउने छैनन् र तिनको पहँुच र प्रतिनिधित्व यो राज्यसत्ताले स्वीकार गर्नै सक्दैन । वर्गीय मुक्तिको गीत गाएर कलिला नौजवानहरुलाई क्रान्तिको वलिवेदीमा होमिन उत्प्रेरित गर्ने दल र तिनका नेताहरु जातीय राज्य नभई संविधान नै बनाउन नदिने कसम खाएर हिँडिरहेका छन् ।

सुखानी, हरेबर्रे, टिम्बुरबोटे, छिन्ताङ, पिस्कर र दोरम्बामा जीवन वलिदान गर्नेहरुले जनताको गणतन्त्रको सपना देखेका थिए । तर, आज जनताको नाममा आएको यो गणतन्त्र दिन प्रतिदिन प्रतिक्रियावादीहरुको कब्जामा गइरहेको छ । यसले हरिनारायणहरुलाई पुन विद्रोहको ज्वाला बोक्न बाध्य पार्नेछ । यसर्थ सीमित वर्गको हातमा कैद गरिएको यो गणतन्त्रलाई जनताको हातमा ल्याउन जरुरी छ । त्यसका लागि दलभित्रैबाट त्यसको थालनी गरिनु पर्दछ । आफैं उत्पादन कार्यमा लागेको र राज्यबाट केही लिने होइन, राज्यलाई केही दिने अठोट र प्रतिवद्धता अनि इमान्दारिता भएका हजारौं युवाहरुले आफ्नै दलभित्र विद्रोहको आँधीबेहेरी ल्याउन सक्नु पर्छ ।

लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था मध्येको उत्तम शासन व्यवस्था हो । तर, यसलाई सीमित वर्ग समुदायको कैदबाट मुक्त गर्न जरुरी छ ।

अन्त्यमा रामेश दाइको एउटा गीतको स्मरण गरौं जसले हाम्रो लक्ष्यलाई झक्झकाइरहने छ-

यात्रा हाम्रो जिन्दगी हो वर्षौं वर्षसम्म
लडिरहन्छौं नपुगुन्जेल आफ्नो लक्ष्यसम्म

हो, आज पनि यो गीत त्यतिकै सान्दर्भिक छ । शान्तिपूर्ण बाटो बाटै आमूल परिवर्तन सम्भव हुने राजनीतिक व्यवस्था हामीले प्राप्त गरिसकेका छौं । अब  आमूल आथ्ािर्क सामाजिक रुपान्तरणको मार्गमा लागेर यो गणतन्त्रलाई हरिनारायणहरुको गणतन्त्रमा रुपान्तरण गरौं ।

गणतन्त्र दिवसमा सबैलाई बधाइ एवं शुभकामना !

लेखकको बारेमा
टीकाराम भट्टराई

अधिवक्ता भट्टराई संवैधानिक कानूनका विज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?