Comments Add Comment

भूकम्पबाट माथि उठौं, काठमाडौं वरिपरिमात्रै नसोचौं

डा. पिताम्बर शर्मा

हामीले जति कुरा गरे पनि नीतिलाई चलाएर लिएर जाने त राजनीतिले नै हो । त्यसकारण राजनीति भनेको कस्तो रहेछ भने त्यो हामीले चाहेर, हाम्रो मनले बुझेर त्यो राजनीति आफैं तरंगित हुँदैन । राजनीतिलाई तरंगित गर्ने खास-खास मौकाहरु हुन्छन् । हाम्रो विचारले मात्रै तरंगित गर्ने होइन ।

pitamber-sharmaएकथरिको सोच के हो भने अहिलेको हाम्रो नेपालको वस्तुस्थिति यस्तो छ, जसले गर्दा हामीलाई राजनीतिले एकातिर डोर्‍यायो । त्यो डोर्‍याएको के हो भने नेपालको पुनर्निर्माण, नवनिर्माण गर्ने ।

योभन्दा अगाडि म केही तथ्यहरु राख्न चाहन्छु । हामी अहिले पुनर्निर्माण यताउति भनेर जुन ठूलो कुरा गरिराखेका छौं नि, यो कुरा आवेगमा आएर गरेको हो कि त्यसको पछिल्तिर नेपाल निर्माण गर्ने दीर्घकालीन सोच पनि छ ? योबारेमा हामी क्लियर हुनुपर्छ ।

किनभने जनजिविकाको दृष्टिकोणले हेर्दा अहिले नेपाललाई ठूलो विपत्ति भयो । सबैतिर पिरै पिर छ, दुख नपरेको कुनै घर छैन । अर्कोतर्फ हेर्दा नेपालको कुल जनसंख्याको २४/२५ प्रतिशत जनसंख्या यसबाट प्रभावित छ र हाम्रो अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको २८/३० प्रतिशत यसबाट प्रभावित होला । त्यसैले अहिले हामीले पुनर्निर्माणको बारेमा सोच्दा जहाँ भूकम्पको प्रभाव परेको छ, त्यहाँमात्रै सोझो हिसाबले सोचेर मात्रै पुग्दैन । काठमाडौं र वरिपरिका जिल्लाहरुमा जुन भयंकर आघात पर्‍यो, ती जिल्लालाई मात्रै सोच्दा बाहिरको नेपाल बाहिरै हुन्छ ।

त्यसैले हाम्रो सोचाइ भूकम्पले ल्याएको पुनर्निर्माणमा मात्रै सीमित हुनुहुन्न । यसले पूरा नेपाललाई समेट्नुपर्छ । यदि पूरा नेपाललाई समेटिएन भने फेरि पनि जुन केन्द्रीकृत नेपाली मानसिकताले अहिलेसम्म हाम्रो राजनीति, अर्थनीति र विकासलाई डोर्‍याएर लग्यो र भड्खालोमा पार्‍यो, त्यसैमा हामी फेरि पर्छौं ।

त्यसैले पुनर्निर्माणको कुरा गर्दा खाली काठमाडौंलाई पुनर्निर्माण गर्ने, वरिपरिका जिल्लाहरुको क्षतिलाई मात्रै पुनर्निर्माण गर्ने भन्ने सोचले मात्रै हुँदैन ।

यसका लागि एउटा वृहत राष्ट्रिय सोच चाहिन्छ । जुन सोच यो भुइँचालोभन्दा माथि उठ्नुपर्छ । अनि बल्ल पुनर्निर्माण अलिकति गतिशील र नेपालको यथार्थलाई बुझेको पुनर्निर्माणको कुरा हुन्छ । नत्र हुँदैन ।

दोस्रो, हामीले अहिले पूरा राजनीतिक शक्तिहरु एक हुनुपर्छ भन्यौं । त्यो राजनीतिक शक्ति एक हुने कुरा पनि यही जुन मैले भनें नि, कसलाई प्रभाव पारेको छ, को तरंगित छ, त्यसलेमात्रै निर्णय गर्ने कुरा जस्तो छ । काठमाडौंमा भएको हुनाले काठमाडौंका सबै राजनीतिक दलहरु यसमा प्रभावित भए । तर, काठमाडौं बाहिरका राजनीतिक शक्तिहरुलाई कसरी हेर्ने भन्ने कुरा पनि एकातिर छ ।

यसले गर्दा हाम्रो सोचाइ के हुनुपर्‍यो भने अहिलेका जुन मुख्य दलहरु छन्, ती दलहरु कुन कुन एजेण्डा लिएर अगाडि आउने हो ? उनीहरुको एजेण्डा क्लियर हुनुपर्‍यो ।

पुनर्निर्माण गर्ने मिल्ने यो राम्रो कुरा हो । तर, सबलाई लिएर जाने पनि त एउटा एजेण्डा चाहियो नि । कुन कुन त्यस्तो कुराहरु हुन्, जुन कुरा यो भूकम्पले अगाडि ल्यायो र यसले गर्दा हामी सब अगासड बढ्नुपर्छ भन्ने महसुस भयो ? यो एजेण्डाबारे नेताले राखिदिएको भए हामीलाई यसमा छलफल गर्न सजिलो हुन्थ्यो ।

नत्र प्रत्येक राजनीतिक दलले यसलाई आफ्नै दृष्टिकोणले हेर्ने, सत्तामा रहेको पार्टीले सत्तामा रहेरै कसरी परिवर्तन गर्न सकिन्छ भनेर सोच्ने अनि सत्ताबाहिर भएका दलले कसरी हामी पनि सत्ताको साझेदार हुने भनेर सोच्ने मानसिकता राखेको बाहिर यस्तो बुझियो ।

त्यसैले गर्दा राजनीतिभन्दा पनि एजेन्डा अगाडि लिएर जाऔं । हामीले चाहेको सँगै आउनुपर्ने खण्ड के हो ? त्यसले माग गर्ने सामाजिक, आर्थिक, राजनीतिक सोच के हो ? यसलाई अगाडि ल्याइयो भने बल्ल होला ।

मेरो भनाइ यतिमात्र हो, हामी जे कुरा गर्छौं, एजेन्डालाई स्पष्टरुपमा अगाडि ल्याएर राखौं । हामीले गर्न चाहेको कुरा के हो ? भन्न चाहेको कुरा के हो ? र, अहिले हामीले मिल्न सक्ने मिलनविन्दुहरु के के हुन् ? यी मिलनविन्दुहरु ठीक ठाउँमा छन् कि छैनन् ? कि हामीले बुझेको मात्रै हो ?

हे हामीले बुझेजस्तै बझाङको मान्छेले पनि बुझ्छ ? बझाङमा भुइँचालो गयो, धरानमा भुइँचालो गयो, तर यस किसिमको सोच त आएन । अहिले नै यो सोच किन आयो ? यो सोचले किन सबैलाई समेट्नुपर्छ ? यो कुरालाई अलिकति ठण्डा दिमागले विचार गरौं । एजेन्डाहरुलाई अगाडि ल्याऔं । अनि बल्ल यो विषयमा (राष्ट्रिय सरकारबारे) कुरा गर्न सकिन्छ ।

उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी एवं विभिन्न पेशा व्यउवसयामा लागेका तपाईहरुसँग विभिन्न एजेण्डाहरु होलान् । पहिले ती एजेण्डालाई अगाडि ल्यायो भने अनि हामी कसरी मिलेर अघि जान सक्छौं र कसरी त्यो संयन्त्र -प्राधिकरण) को निर्माण गर्न सक्छौं भन्ने कुरा आउला अनि बल्ल हामी यो विषयको चुरोभित्र पस्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment