Comments Add Comment

राहत बाँड्दै जाने हो भने हामीले मगन्ते बनाउने भयौं

Pradeep-Gyaliप्रदीप ज्ञवाली (सचिव, नेकपा एमाले)

अहिले सबैभन्दा ठूलो चुनौती मैले कहाँनेर देखिरहेको छु भने राष्ट्रिय मनोबल एकदमै खस्किन थालेको छ । त्यसै पनि निराशा नेपाली समाजको मुख्य प्रवृत्ति हो कि भनेजस्तो लाग्दै थियो । यसको मुख्य जिम्मेवारी राजनीतिक नेतृत्वले नै लिनुपर्छ । हामीले यो आशा जगाउन सकेका थिएनौं, त्यो आशा जगाउन नसकेकै स्थितिमा यो विपति आयो । त्यसैले मानिसहरुको मनोबल असाध्यै खस्किने चुनौती मैले देखिरहेको छु ।

हामीले भोगिरहेको यो संकट निकै ठूलो हो । तर, नेपाली इतिहासमा यो भन्दा धेरै डरलाग्दा विपत्तिहरु आएका थिए । हाम्रा पूर्खाहरुले ती सबै चुनौतीहरुलाई सामना गरेर अगाडि बढेका थिए । त्यसैले यो आवधिक परिघटना हो, यसलाई हामी कसरी चिर्न सक्छौं भनेर कसरी विश्वास जगाउने हो, यो चुनौती मैले देखिरहेको छु ।

भूकम्पले धेरै चिज देखाइदियो

भूकम्पले धेरै कुराहरुको खुलासा गरिदियो । हाम्रो राज्य कति कमजोर रहेछ, हामी कति ‘भल्नरेबल’ अवस्थामा रहेछौं, हाम्रा कमजोरी कति रहेछन् भन्ने भूकम्पले ‘एक्स्पोज’ गरिदियो ।

राज्य र राजनीतिक नेताहरुको मात्रै होइन, समाज पनि कति खोक्रो बन्दै गरेको रहेछ भन्ने कुरा पनि भूकम्पले ‘एक्स्पोज’ गरेको छ । त्यसैले हामीले एउटा लिस्ट नै बनाएर राज्य कहाँ चुक्यो, राजनीतिक दलहरु कहाँ चुके भनेर अध्ययन गर्ने बेला पनि हो यो जस्तो लाग्छ ।

नेपाली समाजको आम चरित्र त्यस्तो होइन, तर अवस्था कस्तो देखियो भनेदेखि राहतका सामग्री पनि लुटेर हिँड्ने चरित्र पनि देखियो ।

दुई पोका चाउचाऊ बाँडेर भयंकर ठूलो प्रचार गर्ने र राज्य, राजनीतिक दलहरुले केही पनि गरेनन् भनेर खण्डन गर्दै हिँड्ने प्रवृत्ति पनि देखियो ।

अन्तरराष्ट्रिय दाताहरुको पनि कुहिएका चामल र फाटेका कपडा बाँड्ने अवस्था पनि देखियो । यसरी धेरै चिजहरु ‘एक्स्पोज’ भएको स्थिति छ यो भूकम्पमा ।

मान्छेलाई मगन्ते नबनाऔं

अब हामीले राहतको फेज पार गर्‍यौं कि गरेनौं भन्दा यसलाई कसरी हेर्नपर्छ भने हामीले त्यो चरण पार गर्‍यौं । अब पनि फेरि राहत बाँड्दै जाने हो भने हामीले मान्छेलाई मगन्ते बनाउने भयौं ।

म हिजो साँझ आरुघाटबाट र्फकँदै थिएँ, घ्याम्पेसाल कट्दा साँझ साँझ पर्न लागेको थियो । हामी एउटा गाडीमा आउँदै थियौं । २५/३० जना स-साना नानीहरु उनीहरुले हाम्रो गाडी घेरेर चाउचाउ, चाउचाउ, बिस्कुट भन्न थाले । राहतका नाममा हामीले समाजलाई कतातिर डोर्‍याउँदैछौं भन्ने कुराको एउटा संकेत देखियो ।

मकै गोड्ने बेला भएको छ, मान्छे बारीमा जाँदैन । दुईमाना चामलका लागि दिनभरि लाइन लाग्न तयार हुन्छ भनेदेखि यो राहतको च्याप्टरलाई एउटा बिन्दुमा बन्द नगर्ने हो भने त मान्छे विस्तारै मगन्ते हुने स्थिति देखियो ।

कतिपय ठाउँमा अहिले पनि पर्याप्त राहत नपुगेको अवस्था होला । वषर्ालाई भ्यानमा राखेर स्टक गर्नुपर्ने अवस्था पनि होला । अन्यथा अब हामीले राहतको फेस पूरा गर्‍यौं ।

सबैभन्दा ठूलो चुनौती अल्पकालीन बासस्थान कसरी बनाउने भन्ने छ । यससँग जोडिने अर्को चुनौती वषर्ामा आउने बाढी पहिरोको जोखिम हो । त्यसले ल्याउने विस्थापन लगाउतका विषयलाई केन्द्रविन्दुमा राखेर अलि माथिबाट सोच्नुपर्छ होला जस्तो लाग्छ ।

राष्ट्रिय सरकार बनाऔं

यसै सन्दर्भमा यो संकटलाई एउटा राष्ट्रिय चुनौती महसुस गरेर यसको सामना अब परम्परागत ढंगले नभई अलि माथिबाट गरौं । त्यो माथिको अंगका रुपमा एउटा राष्ट्रिय सरकार बनाऔं ।

यस्तो राष्ट्रिय सरकार, अलि फराकिलो दायराको, काम गर्न सक्ने खालको सरकारको जरुरी छ । यसलाई विशुद्ध सरकार परिवर्तनको खेलका रुपमा, कोही प्रधानमन्त्री बन्ने खेलका रुपमा बुझ्नुहुँदैन । यसलाई संकीर्ण अर्थमा मात्रै लिइयो भने त्यो बेकारको कुरा हुन जान्छ, त्यसले केही पनि काम गर्दैन र जनतालाई झन धेरै निराश बनाउँछ ।

तर, साँच्चै हामी एउटा अभूतपूर्व राष्ट्रिय संकटको वीचमा छौं, यो संकटलाई अवसरमा रुपान्तरित गर्ने हो भने हामीले केही न केही ब्रेक थु्र गर्नैपर्छ भन्ने कुरालाई केन्द्रमा राखेर जाने हो भने राष्ट्रिय सरकार एउटा माध्यम बन्न सक्छ । संविधान निर्माणको एजेण्डा ओझेलमा पर्ने हो कि भन्ने कुरालाई पनि ध्यानमा राखेर त्यो सरकारका दुईवटा मिसन हुनुपर्छ, पुनर्निर्माण र संविधान निर्माण ।

यी दुईवटा मिसनलाई पूरा गर्न सक्ने गरी राष्ट्रिय सरकार बनाउन सकियो भने यसलाई राष्ट्रिय एकताको अवसरका रुपमा रुपान्तरण गर्न सकिन्छ ।

मलाई के लाग्छ भने यो चिर्न नसकिने संकट होइन । तर, मनोबल कमजोर हुने, रुटिनभन्दा बाहिर निस्कन तयार नहुने र सबैले आफूलाई आत्मकेन्दि्रत ढंगले हेर्ने हो भनेदेखि चाहिँ हाम्रो नियतिमा उही हाइटी बन्ने दिशातिर जाने खतरा पनि छ । यो गणतन्त्र दिवसले खतरातिर होइन, अवसरतिर जाने प्रेरणा देओस् ।

(एमाओवादी नेता डा. बाबुराम भट्टराईले ललितपुरमा आयोजना गरेको छलफलमा एमाले सचिव ज्ञवालीद्वारा व्यक्त विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment