Comments Add Comment

भूकम्पले पशुपति क्षेत्रका ९० प्रतिशत पुरातात्विक सम्पदामा क्षति

Pashupatinath-Temple

१६ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले पशुपतिनाथको मूल मन्दिरमा कुनै क्षति नभए अन्य संरचनामा भने ठूलो क्षति पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा भूकम्पले भत्किएका संरचना निर्माणका लागि दाताको प्रस्ताव गरेका छन् ।

भूकम्पले पशुपति क्षेत्रका ९० प्रतिशत पुरातात्विक सम्पदामा क्षति पुगेको थियो । जसमध्ये ७० प्रतिशत सम्पदाको जगैदेखि निर्माण गर्नुपर्ने र २० प्रतिशत सम्पदा मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने प्राविधिक अध्ययनबाट देखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताए ।

लिच्छविकालीन, मल्लकालीन, मध्यकालीन र उत्तर शाहकालीन समयमा बनेका सम्पदा प्रायः क्षतिग्रस्त बनेका छन् । पशुपतिको मूल मन्दिरमा कुनै क्षति नपुगे पनि अन्य संरचनामा एक अर्ब ५६ करोडबराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

जंगबहादुर राणाले विसं १९२१ मा निर्माण गरेको विश्वरुप मन्दिर, जंगबहादुरका छोराले विसं १९३६ मा निर्माण गरेको जीतजङ्ग प्रकाशेश्वर मन्दिर, १७ औँ शताब्दीमा राजा प्रताप मल्लका छोरा नृपेन्द्र मल्लले निर्माण गरेको जयवागेश्वरी मन्दिर, पञ्चदेवल, गोरखनाथ सत्तल, गुह्येश्वरी सत्तल, महास्नान घर, बज्र घर, शङ्खनारायण मन्दिरलगायत धर्मशाला र पाटीपौवामा क्षति भएको छ ।

पशुपति नाथको मूल मन्दिरमा कुनै क्षति नभए पनि दैनिक भोग लगाउन भोजन बनाउने भान्साघर भत्किको छ । अहिले यज्ञशालामा अस्थायी भान्साघर सुरु गरेर नित्य पूजा सञ्चालन गरिएको निर्देशक भरत मरासिनीले जानकारी दिए । “बालभोगलगायत पशुपतिमा नित्य एवम् दैनिक रुपमा चढाइने भोग बनाउन यज्ञशालामै भए पनि अस्थायी भान्सा सञ्चालन गरेका हौं, उनले भने ।

भूकम्पले पशुपति क्षेत्रमा परापूर्व कालदेखि सञ्चालनमा आएका सत्तलमा पनि क्षति भएको छ । भष्मेश्वरघाट सँगैको सुरेश कान्तेश्वर सत्तल भत्कँने अवस्थामा पुगेको छ ।

जयवागेश्वरी मन्दिर अहिले इतिहासकै कठिन अवस्थाबाट गुज्रिएको पूर्व कोषाध्यक्ष एवम् स्थानीयवासी नरोत्तम वैद्यले बताए । “गजुरसहित प्यागोडा शैलीमा निर्मित तीनतले मन्दिरको माथिल्लो तला भत्किएको छ, जसका कारण नित्य पूजाका समयमा समेत पानी र धुलो मूल मन्दिरमै छिर्न थालेको छ,उनले भने ।

जयवागेश्वरी मन्दिरको कलेवर फेर्ने काम गत वर्षमात्र २५ लाख खर्च गरेर सम्पन्न भएको थियो । प्रत्येक १२ वर्षमा कलेवर फेर्ने गरिएको मन्दिर भूकम्पले पुनःनिर्माण गर्नुपर्ने गरी भत्किएको छ ।

भूकम्पले पशुपति क्षेत्रको बत्तिसपुतलीमा रहेको राममन्दिर पनि पूर्णरुपमा क्षति भएको छ । विसं १९२८ मा कमान्डिङ कर्नेल सनकसिंह टण्डनले निर्माण गरेको राजकीय गुम्बज शैलीको भव्य मन्दिरको चारैतिरको मन्दिर ढलेको छ ।

पाञ्चायन शैलीको चारवटा भत्केका संरचना पुरातत्व विभागको सल्लाह र नेपाली सेनाको सहयोगमा भत्काएपछि बीचको मूल मन्दिर पनि भत्कने अवस्थामा पुगेको छ ।

भत्किएका संरचना निर्माणका लागि दाताको प्रस्ताव

यसैबीच पशुपति क्षेत्रको पुनःनिर्माणका लागि भक्तजनबाट प्रस्ताव आउन सुरु भएको कोषले जानकारी दिएको छ । स्थानीय कल्याण शर्माले जयवागेश्वरी मन्दिर जगैदेखि पुनःनिर्माण गरिदिने प्रस्ताव गरेका छन् ।

गुरु नानकदेव सेवा सोसाइटी इन्टरनेसनल क्यालिफोर्नियाले जीतजङ्ग प्रकाशेश्वर मन्दिर र त्यस वरपर भत्किएका धर्मशाला निर्माण गरी नियमित अन्य क्षेत्र सञ्चालन गर्न अनुमति माग गरेको छ । यस क्षेत्रको निर्माणमा नौ करोड लाग्ने प्रारम्भिक अनुमान छ ।

विश्वरुप मन्दिर र यस वरपरको धर्मशालाको निर्माण गर्ने इच्छा नेपाल महर्षी वैदिक फाउन्डेसनले जाहेर गरेको छ ।

विश्वरुप मन्दिरको पुनःनिर्माणका लागि १३ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो रकम विभिन्न दाताबाट जुटाएर पहिलेकै कलामा निर्माण गर्ने फाउन्डेसनको प्रस्ताव छ ।

आनन्द खेर फाउन्डेसन बैंककले पनि पशुपति क्षेत्रमा भत्किएको केही संरचना पुनःनिर्माणका लागि प्रस्ताव गरेको छ । पशुपतिको भेटीघाटीबाट जम्मा भएको ११ करोड कोषमा सञ्चिति रहेको कोषका लेखाशाखा प्रमुख प्रेमहरि ढुङ्गानाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment