Comments Add Comment

अख्तियारका आयुक्तलाई भ्रष्टाचार आरोपीको सम्मान

नवीन झा

२२ जेठ, जनकपुर । यो घटना भुइँचालो आएको दिन अर्थात् बैसाख १२ गतेको हो । अख्तियारका आयुक्त राजनारायण पाठकलाई सम्मान पत्र प्रदान गरिसकेपछि साहित्यकार राजेन्द्र विमल भन्दै थिए- ‘असल व्यक्तिलाई वास्ता नगरेर खराबलाई अवसर दिँदै जाने हो भने समाजमा भूइँचालो जान सक्छ ।’

12-Baishak-ma-samman-grahan-gardai-Pathak-ra-Bimal-sir

विमलले यति बोलिनसक्दै कार्यक्रमस्थलमै भूइँचालो गयो । अख्तियारका आयुक्त पाठकसमेत सम्मानपत्र बोकेर भागे । कार्यक्रमस्थलमा केहीबेर भागदौड मच्चियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई धनुषा जिविसका करौडौंको भ्रष्टाचार काण्डमा मुछिएका जीवनाथ चौधरीले चाँजोपाँजो मिलाएर जनकपुरमा सम्मान गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको थियो । पाठकलाई सम्मानपत्र दिन साहित्यकार राजेन्द्र विमललाई लगाइएको थियो ।

जनकपुरस्थित रामानन्द क्लवमा आयुक्त पाठकलाई सम्मान गरिएको हो । कार्यक्रमका लागि भ्रष्टाचार आरोपी जीवनाथ चौधरी आफै आएर असाध्यै कर गरेपछि जान बाध्य भएको विमलले बताए ।

चौधरी आयुक्त पाठकलाई सम्मान प्रदान गर्ने रामानन्द क्लवका पूर्वसभापतिसमेत हुन् । धनुषा जिविसका सहलेखापाल रहेका उनी जिविसको करोडौंको भ्रष्टाचारमा मुछिएपछि उनी निलम्बनमा परेका छन् । उनीमाथीको मुद्दा अख्तियारमा अहिलेसम्म विचाराधीन छ ।

चौधरीले पछिल्लो समयमा आफ्ना सहयोगी मार्फत् मुद्दाबाट छुटकारा पाउन आयुक्त पाठकलाई सम्मान गराएका हुन् । पाठक कांग्रेस नेता एवं वर्तमान मन्त्री विमलेन्द्र निधिको सिफारिसमा आयुक्त बनेको जनकपुरमा चर्चा छ । भ्रष्टाचार आरोपी चौधरी मन्त्री निधिका पि्रयपात्र मानिन्छन् । निधीले नै पाठकलाई आयुक्त बनाएका हुन् ।

पाठकलाई सम्मानको कार्यक्रमको आयोजक रामानान्द युवा क्लव भए पनि यसको सम्पूर्ण चाँजोपाँजो क्लबका पूर्वअध्यक्ष चौधरीले गरेका थिए ।

चौधरीले सुरुमा प्रसिद्ध साहित्यकार राजेन्द्र विमलको नाममा रहेको “राजेन्द्र विमल प्रष्ठिान” लाई समेत सहआयोजकको रुपमा राख्ने प्रयास गरेका थिए । तर, विमलको असन्तुष्टिका कारण उनको त्यो प्रयास सफल हुन सकेन र पछि विमलको हातबाट आयुक्त पाठकलाई सम्मान गराउने बन्दोबस्त गरियो ।

पत्रकार शिव गाउँले भन्छन्, ‘यो घटना न्यायाधीशले मुद्दाको पक्षलाई भेटे जस्तै हो, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक अङ्गको पदाधिकारी त्यही निकायमा विचाराधीन मुद्दाका अभियुक्तबाट सम्मानित हुनु लज्जित, अनैतिक र अनुपयुक्त काम हो ।’

नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका गाउँले भन्छन्, ‘यस्तो कार्यले राजनारायण पाठक अख्तियार जस्तो संवैधानिक अङ्गको पदाधिकारी हुन योग्य छैनन् भन्ने देखाउँछ । संसदको वाञ्छित हस्तक्षेपबाट मात्रै यस्ता विकृतिको अन्त्य सम्भव छ ।’

को हुन् जीवनाथ ?

jibnath chaudhary_400महोतरीको नैनही बासोपटीमा ०२७ सालमा जन्मेका जीवनाथ चौधरी ०४६ सालतिर सानोतिनो किराना पसल गरिरहेका बुबासँगै जनकपुर छिरेका हुन् । रामानन्द युवा क्लव मार्फत कांग्रेस नेताहरुहरुसँग सम्बन्ध जोडेका चौधरी ०४९ सालमा कांग्रेसका रामसरोज यादव जिविस सभापति भएपछि जिविसमा सहलेखापाल भए ।

जिविसको ठेक्कामा सञ्जय साह (हाल जेलमा ) का पार्टनर भएका चौधरी विस्तारै जिविसको ठेक्का कसलाई दिने भन्ने निर्णायक भूमिकामा पुगे । ०६३/०६३ को जनआन्दोलन र मधेश आन्दोलनताका उनी रामानन्द युवा क्लवका सभापति थिए, जसबाट उनले जनकपुरमा राजनीतिक हैसियत बनाउन थाले ।

सुरुमा आर्थिक अवस्था सामान्य रहेका सानो तहका सरकारी कर्मचारी रहेका चौधरीको अहिले रामानन्द चौकमा सुविधासम्पन्न ‘सीता प्यालेस’ होटल छ । क्यासिनो सञ्चालन गर्ने गरी उनको सात तले नयाँ भवन बन्दैछ । जनकपुर नगरपालिकाभित्रै उनको ६ विघा जग्गासमेत छ । जनकपुरमा उनको ठूलो रियलस्टेट कारोबार पनि छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा उनी कांग्रेस नेता तथा मन्त्री विमलेन्द्र निधी र धनुषा कांग्रेसका सभापति रामसरोज यादवको प्रचार-प्रसारमा खुल्लारुपमै लागेका थिए ।

मन्त्री निधीसँग चौधरीको कनेक्सन

चौधरी करोडौंको भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा निलम्बित जिविस धनुषाका सहलेखापाल हुन् । उनीमाथि जनकपुर बम काण्डको आरोपसमेत लाग्दै आएको छ ।

डेढ बर्षअघि धनुषा प्रहरीले सशस्त्र समुहका नाइके मुकेश चौधरीलाई समातेपछि जनकपुर बमकाण्डको मुख्य योजनाकार सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह रहेको पुष्टि भएको थियो । त्यस पश्चात सभासद समेत रहेका साहलाई प्रहरीले पक्राउ गरेर हाल सिरहा कारागारमा राखेको छ । यो सम्रग प्रक्रियामा जीवनाथ चौधरीको नाम पनि विभिन्न ठाउँमा मुछिएको थियो । तर, कांग्रेसको राजनीतिक संरक्षणकै कारण उनलाई कारवाही भएको छैन । बरु जनकपुर क्षेत्रमा उनको रवाफ सशक्त हुँदै गएको छ ।

जनकपुर क्षेत्रमा सञ्जय साह र जीवनाथ चौधरी चर्चित ‘डन’ मध्येका मानिन्छन् । उनीहरुले त्यसमा क्षेत्रमा मधेसका नाममा सशस्त्र समुह परिचालन गरेको आरोपसमेत लाग्ने गरेको छ । प्रहरीले अनुसन्धानमार्फत सञ्जय साहलाई कानुनको दायरामा ल्याएपछि जनकपुर क्षेत्रका आम नागरिकले प्रहरी प्रशासनलाई धन्यवाद दिएका थिए । तर, चौधरीमाथी प्रहरीले देखाएको मौनतालाई हाल त्यस क्षेत्रमा नागरिकहरुले रहस्यमय रुपमा लिनेगरेका छन् ।

सञ्जय साहजस्तै गरी सशस्त्र समुहसँगको सम्बन्ध चौधरीको पनि भएको कुरा प्रहरी प्रशासनलाई थाहा नभएको चाहिीँ होइन । डेढ बर्ष अगाडि नै धनुषा प्रहरीले पक्राउ गरेका पृथ्वी सिंह समुहका उमेश यादवले आफनो बयानमा भनेका थिए कि जीवनाथ चौधरीले हामी विरुद्ध सुराकी गरेकै कारण उनीमाथि ०६६ सालमा हामीले गोली प्रहार गरेका थियौं ।

यादवको परिवारले सशस्त्र समुहमै लागेका उमेशका भाइ श्रीराम यादवलाई मार्न लगाएको आरोप मानअधिकार आयोग सम्बन्धी केही संघसंस्थालाई बताएका थिए ।

साथै चौधरीले स्थानीय जिल्ला विकास समिति धनुषाका सहलेखापाल भएर करौडौं भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तीन वर्ष अगाडि नै लगाएको थियो । त्यही क्रममा उनी निलम्बनमा पनि परेका छन् । तर, आज पनि चौधरीको इसाराविना धनुषा जिविसमा कसैको केही चल्दैन ।

अख्तियारले पनि चौधरीको मुद्दालाई अत्यन्तै कमजोर तरिकाले विशेष अदालतमा पेश गरेको देखिन्छ । जानकारहरुको बुझाइमा अख्तियार स्वयंम चौधरीलाई विशेषवाट सफाइ दिलाउने चलखेलमा सामेल छ । र यसैका लागि चौधरीले आयुक्त पाठकलाई सम्मान गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment