Comments Add Comment

सोह्र बुँदेको आधार बनाउन भित्रभित्रै को-को सक्रिय ?

२६ जेठ, काठमाडौं । माघ ८ पछि एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच लगभग संवादहीनताको अवस्था आएपछि दुवै दलका दोस्रो तहका नेताले भित्रभित्रै मेलमिलापको सूत्र खोज्न थालेका थिए ।

एमालेका महासचिव ईश्वर पोखरेल र एमाओवादीका महासचिव कृष्णवहादुर महरा आ-आफ्ना अध्यक्षलाई धेरै टाढा पुग्न नदिन सक्रिय थिए । उनीहरुलाई दोस्रो तहका युवा नेताहरुले साथ दिए ।

Congress, UML and Maobadi

संघीयतामा विशेष गरी एमाले र एमाओवादीको कुरा नमिल्दा सबै प्रक्रिया अवरुद्ध हुने देखेपछि दुवै दलका दोस्रो तहका नेता मध्यमार्गी बाटो खोज्न सहमत भए । करीव साढे तीन महिनाको बीचमा ४० वटाजति अनौपचारिक छलफल भए ।

एमालेबाट यस्ता छलफलमा उपमहासचिव बिष्णु पौडेल, सचिव गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे जस्ता नेता सक्रिय भए भने एमाओवादीबाट कृष्णवहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेत, टोपवहादुर रायमाझी र गिरिराजमणी पोखरेल बढी सक्रिय भए ।

वैशाख १२ गतेको भूकम्पको धक्का अघि नै यी दुई दलका दोस्रो तहका नेताहरुले नाम र सिमाना बिनाका ८ प्रदेशमा सहमति जनाइसकेको थियो । यसमा अध्यक्ष ओलीलाई मनाउने जिम्मेवारी लिएका थिए उपमहासचिव पौडेलले ।

पटक-पटक बसेका एमाले स्थायी कमिटी बैठकमा पनि बिष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताले संविधान जारी गर्न माओवादी सहमत हुन्छ भने ८ प्रदेशमा जान सकिने तर्क पेश गरेका थिए ।

यता एमाओवादीमा पनि महरालगायतका नेताहरुले परिस्थितिको बाध्यता र कांग्रेस एमालेले संविधान जारी गर्ने आधार प्रस्तुत गर्दै ८ प्रदेशमा गएर मिल्नुपर्ने दबाब शीर्ष नेताहरुलाई दिए ।

यी दोस्रो तहका नेताहरुकै सहमति अनुसार ओली र प्रचण्डलाई एक अर्काप्रति आक्षेप लगाएर अभिव्यक्ति दिनबाट रोकियो । एमाले सचिव गोकर्ण विष्टले देशको आवश्यकता अनुसार आफूहरुले हल्ला नगरी सहमतिको वातावरण निर्माण गरेको प्रतिक्रिया दिए ।

यसबीचमा दोस्रो तहका नेताहरु सामुहिक र एक्ला एक्लै पनि धेरै छलफलमा जुटेका थिए । परिणाम नआउन्जेल मिडियामा केही नलैजाने सहमतिअनुसार भित्रभित्रै काम भएको एमाओवादी उपनेता टोपबहादुर रायमाझीले बताए ।

एमाले र एमाओवादीका दोस्रो तहका नेताहरुबीच ८ प्रदेशमा सहमति भएपछि कांग्रेसका दोस्रो तहका नेताहरुसँग उनीहरुले छलफल गरेका थिए ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु महेश आचार्य, नरहरि आचार्य, पूर्णपबहादुर खड्का, रमेश लेखक लगायत यो सहमति निर्माणको काममा सक्रिय रहेको स्रोतले जनाएको छ ।

यी नेताहरुले यसपटक हल्ला नगरी भित्रभित्रै समझदारी निर्माण गरे । अन्ततः ४० भन्दा बढि बैठकबाट १६ बुँदे सम्झौताको आधार तयार भयो र मुलुक संविधान निर्माणको बाटोमा अग्रसर भयो ।

यो अभियानको सफलताले अब शीर्ष नेताको विकल्पमा युवा पुस्ताका नेताहरुले मुलुकको नेतृत्व गर्न सक्षम छौं र हामी मिलेर काम गर्न सक्छौं भन्ने सन्देश समेत दिएको ती नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment