Comments Add Comment

सुशीलले छाड्छन्, रामचन्द्रलाई पुगिसक्यो : उदयसमशेर

कांग्रेसका युवा नेता तथा सभासद उदय शमसेर राणाले संविधान जारी भएपछि पनि कांग्रेसकै नेतृत्वमा राष्ट्रिसरकार गठन हुनुपर्ने अवाज कांग्रेस संसदीय दलमा उठेको बताएका छन् ।

संविधान जारी भएपछि सुशील कोइरालाले सरकार छाड्ने र महाधिवेशनपछि पार्टीको नेतृत्व पनि छाड्ने दाबी गर्दै राणाले भने-अब शेरवहादुर देउवाले नेतृत्व गर्नुहुन्छ । भूकम्पपछिको पुननिर्मार्ण अभियान चलाउने सरकारको नेतृत्व पनि ठूलो पार्टीको नाताले कांग्रेस बाहेक अरुले दाबी गर्न नैतिक रुपमा पनि मिल्दैन ।

भारतीय दूतावासबाट सिधै राहत सामाग्री लगेर ललितपुरको आफ्नो निर्वाचन क्षेत्रमा वितरण गरेका राणाले आफूले अरुबाट लिएर पीडितलाई दिएको दाबी गरे । प्रस्तुत छ, राणासँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानी ।

Udaya-Samser-Rana

दलहरुबीच राष्ट्रिय सहमति हुन पनि भूकम्पनै आउनुपर्ने रहेछ होइन ?

– अहिले जुन १६ बुँदे सम्झौता भएको छ, यो त अवश्यम्भावी नै थियो । तर, विनाशकारी भूकम्प नआएको भए सायद यति चाँडै नेताहरु सहमतिमा पुग्ने थिएनन् होला । भूकम्पले सहमति गर्न र मुलुक निर्माणका लागि लाग्न दबाव दियो । यसलाई एक प्रकारले ठूलो भूकम्पको राजनीतिक पराकम्पन भन्दा पनि हुन्छ ।

संविधान त एक महिनापछि जारी होला, त्यसपछिको सरकारको नेतृत्व त कांग्रेसले त्याग्नुपर्ने भयो नि होइन ?

– सम्झौतामा काहिँ पनि त्यस्तो भनिएको छैन । पुनर्निर्माणको सरकारको नेतृत्वमा कांग्रेसको स्वभाविक दावी हुन्छ । देश विदेशको अनुभव हेर्दा पनि यस्ता ठूला विपत्तिपछि बन्ने राष्ट्रिय सहमतिका सरकारको नेतृत्व त्यहाँको ठूलो दलले नै गर्ने गरेको पाइन्छ । त्यसैले अबको सरकारको नेतृत्वमा पनि कांग्रेसको दावी रहन्छ ।

त्यसो त सुशील कोइरालाको अहिलेकै सरकारलाई राष्ट्रिय सरकार भनेर बनाइदिए भइगो नि ? त्यही नमिलेर संविधान जारी हुञ्जेलका लागि कोइरालालाई राखेको होइन र ?

– राम्रो त कोइरालाकै नेतृत्वमा अरु दललाई पनि मन्त्री बनाएर यही सरकारलाई चलाउन ठीक हो । शेरबहादुर दाइले त अरु झण्झटमा नलागौं, यहि सरकारमा अरुलाई पनि थपौं भन्नुभएको हो । तर त्यो च्याप्टर अब सकिएको छ । अब त सुशील दाइ आफैंले संविधान जारी भएपछि एक मिनेट पनि बस्दिँन भन्नुभएको छ । उहाँले म फेरि पार्टी सभापति पनि लड्दिन भन्नुभएको थियो । प्रधानमन्त्री पनि छाड्छु भनिसक्नुभएको छ । त्यसैले कोइरालाको निरन्तरता अब हुँदैन ।

तर, उहाँले सभापति छाड्छु भन्नुभएको छ र ? सभापति र प्रधानमन्त्रीबाट विदा गरेर राष्ट्रपति बनाउने हो ?

– पहिले नै मलाई एकपटक मौका दिनुस् भन्नुभएको हो । यदि उहाँ बचनमा इमान्दार हुनुहुन्छ भने सभापति र प्रधानमन्त्री दुबैमा अब दाबी गर्नु हुन्न । राष्ट्रपतिमा सहमति भयो भने सुशील दाइ बन्नु कुनै आपत्तिजनक कुरा होइन । उहाँले सभापति छाड्छु भन्नुभएको छ । अब कांग्रेसको सभापति स्वभाविक रुपमा शेरवहादुर देउवा नै हो । उहाँले दुई पार्टी एकीकरणपछि सबै सदस्यले अवसर पाए, मैले सभापति हुन पाइँन भन्नुभएको छ । उहाँलाई सभापति बनाएर न्याय गर्नुपर्छ ।

त्यसो भए प्रधानमन्त्रीको दाबेदार चाहिँ कांग्रेसबाट को त ?
– जहाँसम्म को हुने भन्ने कुरा छ, हाम्रो संसदीय दलले नयाँ नेता चयन गर्नेछ । दलबाट जो नेता चुनिन्छ उसैले प्रधानमन्त्री बनेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्छ । अब प्रधानमन्त्री हुने व्यक्तिले आफ्नो स्पष्ट नीति सार्वजनिक गर्नुपर्छ । भारतमा नरेन्द्र मोदीले गुजरात भूकम्पपछि पुननिर्माण होइन, नयाँ आर्थिक नीति ल्याए । त्यसले गुजरात सम्बृद्ध बन्यो । त्यसैले मोदीलाई गुरु थापेर नयाँ निर्माणको नयाँ आर्थिक नीति ल्याउनुपर्छ ।

आर्थिक नीति नभई नयाँ बस्ति बनाएर मात्र मान्छेले के गरेर खान्छ ? गाउँमा गाइबस्तु पाल्ने खेती गर्ने मान्छेलाई एकीकृत बस्तीका नाममा चारआना जग्गामा सारेर उसले के खान्छ ? त्यसैले आर्थिक नीति महत्वपूर्ण कुरा हो ।

सभापति देउवाले पाउनुपर्ने, प्रधानमन्त्री पनि दलको नेता चुनिएर आउनुपर्छ भन्नुको मतलब देउवा नै आउने त्यसो भए रामचन्द्र पौडेलमाथि चाहिँ न्याय भयो त ?
– रामचन्द्र दाइमाथि अन्याय भएको छैन । उहाँले के पाउनुभएन ? बहुदलीय व्यवस्था स्थापनापछिका क्यालेन्डर पल्टाउने हो भने उहाँले हरेकपटक कुनै न कुनै पद पाउनुभएको छ । उहाँ पदविहीन भएको र अवसरविहीन भएको कहिल्यै देखिन्न । उहाँले केही पाइँन भन्दा दुःख लाग्छ । उहाँभन्दा धेरै दुःख पाएका र उहाँ जत्तिकै दुःख पाएका नेताहरुले सभासद समेत बन्न नपाएका धेरै उदाहरण छन् । अहिलेका हाम्रा सिनियर नेताहरुले आवश्यकता भन्दा बढी नै पाइसके । जति पाउनुपर्ने हो त्यो भन्दा बढी पाइसकेका छन् । अब पनि पाइँन भन्ने हो भने त अजीर्ण हुन्छन् ।

तपाईहरु कांग्रेसकै नेतृत्वको सरकारको लबिङ गरिरहनुभएको छ, अबको सरकारको नेतृत्व त एमाले अध्यक्ष केपी ओलीले गर्ने कुरा ओपन सेक्रेट होइन र ?
– त्यस्तो सहमति कहिँ भएको छैन । व्यक्तिले अहिलेसम्म केही पाएको छैन भनेर उसको महत्वाकांक्षा सेटल गर्ने कुरा प्रधानमन्त्रीको पद होइन । अब कुन नेता हुने भन्दा पनि पुननिर्माणको निम्ति उसको एजेण्डा के छ ? अबको आर्थिक नीति उसको के हुन्छ ? त्यस आधारमा प्रधानमन्त्री चयन हुनुपर्छ । तर, पनि एमालेले पाउनुहुँदैन भन्ने छैन । एमाले हामीपछिको दोस्रो ठूलो पार्टी हो । सिटको हिसाबले हाराहारीको शक्ति हो । उसको दाबी पनि अस्वभाविक होइन । यद्यपि भूकम्पको विपत्तिपछि मुलुकलाई पार लगाउन, बन्ने सरकारको नेतृत्व ठूलो पार्टीको हैसियतमा कांग्रेसलेनै गर्न पाउनुपर्छ भन्ने हाम्रो धारणा बनेको छ ।

भूकम्पपछिको राहत,उद्दार र पुनर्स्थापनाको काममा कांग्रेस नेतृत्वको सरकार असफल भएपछि फेरि कांग्रेसकै दाबी सुहाउँछ ?
– यस्तो बेलामा अशन्तुष्टि हुनु स्वभाविक हो । तर, असफल नै भन्न मिल्दैन । मेरो जिल्ला ललितपुरकै कुरा गर्ने हो भने सरकारको राहत तथा पुनस्र्थापना प्याकेज पर्खेर म बसिन् । मैले मेरो निर्वाचन क्षेत्र र अन्य क्षेत्रमा समेत राहत र पुनस्र्थापनाको अभियान नै चलाएँ । यस्तो बेलामा नेता, कार्यकर्ताहरु राजनीतिकर्मीले गाली खानु स्वभाविक हुन्छ । तर, पनि आफ्नो दायित्वबाट पछि हट्ने कुरा भएन । मैले राहत वितरणका क्रममा खाद्यान्न, त्रिपाल, औषधी र सुरक्षा यी सबै पूरा गरेँ । आफूले गरेको कामबाट म सन्तुष्ट छु । अरु सबैले आ-आफ्नो दायित्व निर्वाह गर्ने हो भने सम्भव छ ।

तर, तपाईले त पहुँचको दुरुपयोग गर्नु भएको, भारतीय दूतावासबाट सिधै ट्रक लिएर हिँडेको आरोप पनि लाग्यो नि ?
– यस्तो बेलामा पहुँचको प्रयोग गर्ने नै हो । कसैले गर्देला भनेर पर्खिने कुरा होइन । मैले जहाँ जहाँबाट राहत संकलन गरे पनि सिडिओ कार्यालयमा दर्ता गराएर गाउँ पठाएको छु । दूतावासबाट पनि ३ ट्रक ल्याएकै हो । अन्य साथीभाइ, विदेशी संघ संस्थाले पनि सघाए । मेरो बुबा र दाजुले पनि ठूलो सहयोग संकलन गरे । मैले ललितपुरका अन्य पार्टीका समानुपातिक सभासदलाई समेत साथमा लिएर दुर्गम गाउँहरुमा हेलिकोप्टर लिएर गएँ । ललितपुरका १२ दुर्गम गाविसमा नत्र राहत नै पुग्ने थिएन मैले हेलिकोप्टर नलगेको भए । यसबाट पनि मसँग धेरै मान्छे डराएर राहतमा राजनीति समेत गरे ।

अनि राहत दुरुपयोग गर्ने सभासदमा तपाईको नाम पनि आयो होइन ?
– शुरुमा त मलाई यो समाचारले साह्रै दुःखित र बिचलित बनायो । तर, मलाई मेरा जनता र साथीभाइले ढाडस दिए । यसमा राजनीतिक स्वार्थ देखियो । केही विपक्षी र केही मेरै पार्टीका मान्छे लागेका रहेछन् । मैले विपत्तिका बेला जनतालाई सहयोग गरेपछि मेरो लोकपि्रयता बढ्ने देखेर उनीहरुले राजनीति खेले । मैले पीडित नेपाली नागरिकलाई सहयोग गर्न सबैतिर हात फैलाएकै हो । तर, दुरुपयोग गरेको छैन । म सातपुस्तालाई पुग्ने सम्पत्ति भएको खानदानी मान्छे हुँ । राहत बेचेर सात दिनको खर्च पनि चल्दैन ।
कम्तिमा मलाई आउने दिनमा पनि आरोप लाउनेले हेलिकोप्टर बेच्यो, प्लेन बेच्यो भने पत्याउलान्, तर राहत बेच्यो भनेर कसैले पत्याउँदैन । उदय शमसेरले हेलिकोप्टर बेच्यो भन्दा पत्याउलान्, तर यस्ता आरोप कसैले पत्याउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment