Comments Add Comment

राजनीतिक खेलाडीको दौडले खेलकुद परिषदमा पहिलो पटक महिलालाई अवसर

Sakuntala-Nagarkoti

३२ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को निमित्त सदस्य सचिवमा सकुन्तला नगरकोटीको नियुक्तिसँगै सदस्य सचिवको दौडमा रहेका एमाले सम्बद्ध खेलकर्मी तथा प्रतिस्पर्धी नेताहरुको ‘रेस’ले नयाँ मोड लिएको छ ।

परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा र नगरकोटी बाहेक अरु सबैले युवराज लामासँगै अवकाश पाए लगत्तै युवा तथा खेलकुद मन्त्रालयले नगरकोटीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएपछि शेर्पा झस्किएका छन् ।

सुनकाण्डमा राजश्व अनुसन्धानले तारिखमा छाडेका शेर्पालाई मन्त्रालयले निलम्बितको दर्जामा राखेर नगरकोटीलाई निमित्त दिएपछि सदस्य सचिवको दौडमा रहेका शेर्पाका प्रतिस्पर्धीहरु उत्साहित भएका छन् । नगरकोटी पनि एमालेकै कोटाबाट सदस्य नियुक्त भएकी थिइन् ।

खेलकुद मन्त्री पुरुषोत्तम पौडेल निकट स्रोतका अनुसार सदस्य सचिवका लागि पार्टीका नेतापिच्छे फरक-फरक नाम सिफारिस भएकाले उनले तत्काल कसैको नाम प्रस्ताव नगरी नगरकोटीलाई निमित्त दिएका हुन् ।

मन्त्री पौडेलेले तत्काल सदस्य सचिव नियुक्तिको प्रस्ताव अघि नबढेकै कारण निमित्त दिइएको बताए । पौडेलले अनलाइनखबरसँग भने-‘तत्कालै अर्को नियुक्ति हुने भए निमित्त दिइने थिएन, तपाई आफैं मिलाएर बुझ्नुस् ।

खेलकुद मन्त्रालयको सबैभन्दा आकर्षक मानिने खेलकुद परिषदको सदस्य सचिवका लागि एमालेबाटै करीव आधा दर्जन प्रतिस्पर्धी छन् । ती मध्ये हिक्मत कार्कीले आफू दौडबाट पछि हटेको प्रष्ट पारेका छन् ।

हाला झापामा रहेका एमाले केन्द्रीय सदस्य तथा मेची अन्चल इन्चार्ज कार्कीले आफ्नो प्राथमिकता मेची अन्चलको पार्टी काम रहेकाले सदस्य सचिव बन्न नेताहरुले गरेको आग्रह अस्वीकार गरेको बताए ।

कार्कीले गोकुल बास्कोटालाई सदस्य सचिव बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । एमाले काभ्रेका पूर्व अध्यक्ष तथा दृष्टि साप्ताहिकका पूर्व सम्पादक बास्कोटालाई सदस्य सचिव बनाउन एमाले अध्यक्ष केपी ओलीले पनि चाहेको स्रोतले जनाएको छ ।

खेलकुदमा धेरै राजनीति हुने गरेका र त्यहिँका रैथानेहरुलाई नियुक्त गर्दा स्वार्थको टक्कर हुने गरेकाले व्यवस्थापकीय क्षमता भएका बास्कोटालाई पठाउन ओलीमाथि दबाव परेको स्रोतले जनाएको छ ।

ओली पक्षकै पिताम्बर तिम्सिना, केशव स्थापित र पुरेन्द्र विक्रम लाखे पनि सदस्य सचिवका आकांक्षी हुन् । तिम्सिना परिषदका पूर्व उपाध्यक्ष हुन् भने काठमाडौंका पूर्व मेयर स्थापित एमालेको ९ महिने शासनका बेला २०५२ सालमा सदस्य सचिव भएर सफलता पनि पाएका थिए ।

तीनैजना ओलीलाई भेट्न बालकोट पुगेका थिए । तर, तीनैजनालाई हुन नदिन खेल क्षेत्रकै अन्य एमालेहरु लागि परेका छन् ।

मन्त्री पौडेलले भने एमालेको भातृ संगठन खेलकुद महासंघका कार्यवाहक अध्यक्ष केशव बिष्टलाई सदस्य सचिव बनाउन चाहेका छन् । तर, महासंघको १९ सदस्यीय कार्य समितिमा १७ जनाको समर्थनको हस्ताक्षर बोकेर टेण्डी शेर्पा सदस्य सचिव बन्न हिडेका छन् ।

अध्यक्ष ओलीले खेल क्षेत्रका व्यक्तिहरु एकले अर्कोलाई हुन नदिन हिडेकाले नयाँ मान्छे पठाउने आशय व्यक्त गरेका छन् । त्यस क्रममा केन्द्रीय सदस्य हिक्मत कार्की, ठाकुर गैरे र गोकुल बास्कोटाको नाम आएको थियो ।

कार्कीले आफू नहुने भनिसकेको अवस्थामा बास्कोटा बलियो दावेदार बनेका छन् । बास्कोटाले आफू दौडमा नरहे पनि पार्टीले जिम्मेवारी दिएको खण्डमा कुशलतापूर्वक निर्वाह गर्न तयार रहेको प्रतिक्रिया दिए ।

सदस्य सचिवमा व्यक्ति छनौट गर्न नसकिएपछि मन्त्री पौडेलले पार्टी नेताहरुकै सल्लाह अनुसार नगरकोटीलाई निमित्त सदस्य सचिव नियुक्त गरेको स्रोतले जनाएको छ । उनी खेलकुद परिषदको ६६ वर्षको इतिहासमा पहिलो महिला सदस्य सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment