Comments Add Comment

आँट्यौं भने जस्तोसुकै कठिन काम पनि गर्न सकिने रहेछ

यसै साता मन्त्रिपरिषदबाट राष्ट्रिय पुनर्निर्माण अभियानका लागि नेपाल सरकारको विशेष दूतमा नियुक्त अष्ट्रेलियाका ९९ औं नम्बरका धनी, नेपाली धर्तीपुत्र शेष घले यतिबेला मातृभूमिको सेवामा जुटिरहेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका घलेले आफ्नो संस्थामार्फत् भूकम्प पीडित नेपालीलाई आपतकालीन राहत पुर्‍याउन निकै उदाहरणीय काम गरेका छन् ।

घलेको नेतृत्वमा रहेको संस्थाले झण्डै ३५ करोडको लगानीमा भूकम्प पीडितका लागि एक हजार घर निर्माण गरिदिने तयारी गरिरहेको छ । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी निजी क्षेत्रको सबैभन्दा ठूलो एक अर्ब रुपैयाँको परोपकारी कोष घोषणा गरेका घले सो फाउण्डेसनमार्फत् पनि नेपालको सेवामा जुटिरहेका छन् ।

हालै मात्र सरकारले नेपालको पुनःनिर्माण अभियानमा बैदेशिक सहयोग जुटाउने जिम्मेवारीसहित घलेलाई सरकारले बिशेष दूत नियुक्त गरेको छ ।

यो ऐतिहासिक जिम्मेवारी कसरी पूरा गर्ने तयारी गरिरहेका छन् ? भूकम्पपीडितलाई राहत वितरण गर्दा के अनुभव गरे ? यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरले घलेसँग गरेको कुराकानी –

Shes Ghaleसर्वप्रथम यहाँलाई बधाइ छ, नेपाल सरकारको बिशेष दूतमा नियुक्त हुनुभएकोमा । अचानक यस्तो जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ ?

म उत्साहित छु र ठूलो जिम्मेवारी वोध पनि गरिरहेको छु । मातृभूमिलाई आवश्यक परेका बेला एक सन्ततीका रुपमा मैले आफ्नो क्षमता र विवेकले भ्याएसम्म योगदान दिँदै आएको छु । यो जिम्मेवारीलाई पनि मैले मातृभूमिको सेवा गर्ने अर्को महत्वपूर्ण र ऐतिहासिक अवसरका रुपमा लिएको छु ।

मलाई थाहा छ, यो त्यति सजिलो काम हैन । मैले जहिले पनि यस्ता चुनौतीलाई अवसरका रुपमा स्वीकार्दै आएको छु । सरकारको अपेक्षा र विश्वासअनुसार आफ्नो शक्तिले भ्याएसम्म पुनःनिर्माण कोषमा बैदेशिक सहायता जुटाउने कार्यमा दत्तचित्त भएर खट्ने वाचा गर्दछु । यो प्रकृयामा म आफ्नो स्रोत, साधन र सम्पर्कलाई मुलुक पुनर्निर्माण अभियानमा भरपुर उपयोग गर्नेछु ।

यो भूमिकामा तपाईले गर्ने काम के हो ? तपाईको क्षेत्राधिकारबारे सरकारले प्रष्ट पारेको छ ?

मेरो भूमिका मूलतः विश्व समुदायलाई भूकम्पपछिको पुनःनिर्माण अभियानमा सहभागी गराई नेपाल सरकारलाई सहयोग गर्नु हुनेछ । यस क्रममा मैले विदेशी सरकार, गैरसरकारी संस्थाहरु, निजी क्षेत्र तथा ब्यक्तिसँग समेत छलफल गरी पुनःनिर्माण अभियानमा सहभागी गराउनेछु ।

यसबाहेक विदेशी दातृ निकायमा विश्वास जगाउन मैले उनीहरुका जायज सुझाव र सल्लाहहरुलाई नेपाल सरकारसँग पनि पुर्‍याउनेछु ता कि सरकारले आवश्यक परेको अवस्थामा आफ्ना नीतिहरुमा संशोधन गरेर दातृ निकायलाई थप सहयोग गर्न प्रेरित गरोस् । पुनर्निर्माण अभियानमा विदेशी लगानी भित्र्याउने मेरो अर्को प्रयास पनि हुनेछ ।

यहाँलाई अवैतनिक बिशेष दूत भनिएको छ । तपाईंले यसका लागि थुप्रै देशको भ्रमण गर्नुपर्ला, थुप्रै ठाउँमा कार्यक्रम गर्नुपर्ला । खर्च त ठूलो हुन्छ । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

मैले विशेष दूतका रुपमा काम गर्दा सरकारबाट कुनै पारिश्रमिक लिने छैन । मैले नै सरकारलाई भनेको हुँ कि यस्तो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा म शून्य लागतमा योगदान दिन चाहन्छु । विदेश भ्रमण गर्दा, त्यहाँ विभिन्न कार्यक्रम आयोजना गर्दा जे जति खर्च हुन्छ, त्यो सम्पूर्ण मैले ब्यक्तिगतरुपमा बेहोर्नेछु । मैले यसलाई स्वयंसेवाकै अर्को अवसरका रुपमा लिएको छु । मुलुकका लागि आफ्नो सीप, सम्पर्क र स्रोत साधनसमेत लगाउन पाउनु मेरा लागि अवसर पनि हो ।

बैदेशिक सहयोग जुटाउन कसरी काम गर्ने योजना बनाइरहनुभएको छ ?

मैले भर्खरै मात्र सरकारबाट औपचारिक जानकारी पाएको छु । प्रशासनिक प्रकृयाहरु पूरा भएपछि मैले काम थाल्नेछु ।तर, यसका लागि सरकारले पुनःनिर्माण खाका तयार गर्नुपर्छ । मैले बिदेशीहरुसामु देखाउने ठोस सरकारी कार्ययोजना जरुरी हुन्छ । राष्ट्रिय योजना आयोगले त्यो कार्ययोजना तयार गरेपछि त्यहीअनुसार नेपालको पुनर्निर्माणमा सहयोग गर्न अपील गर्दै म विभिन्न देशको भ्रमणमा निस्कनेछु ।

एउटा विश्वसनीय खाका बनेपछि सम्भवतः जुलाई पहिलो सातादेखि मैले तिब्ररुपमा काम अगाडि बढाउँछु होला ।

सरकारले पुनर्निर्माणका लागि कोष खडा गरेर सहयोगका लागि विदेशी दाताहरुलाई गुहार्दा पनि नगण्य मात्र रकम जम्मा भएको छ । उनीहरुले नेपाल सरकारको विश्वसनियतामाथि प्रश्न उठाएका छन् । यस्तो अवस्थामा तपाईंले उनीहरुलाई कसरी कन्भिन्स गरेर कोषमा पैसा जम्मा गर्न सक्नुहुन्छ ?

नियुक्ति पाउनासाथ मैले सकेसम्म नेपाल सरकारका धेरैजना अधिकारीहरु र बिदेशी दातृ नियकाहरूसँग छलफल गरिरहेको छु, ताकि मेरो भूमिका र नेपाल सरकारकाे नीति तथा योजना आफैंले बुझ्न सकुँ । अझै केही दिन म त्यही प्रकृयामा रहनेछु र एउटा प्रष्ट कार्ययोजना बन्नेछ ।

अहिलेसम्मको छलफलबाट मैले अनुभव गरेको कुरा के हो भने बिदेशी दातृ निकायहरुले नेपाल सरकारको विगतलाई हेेरेर मूल्याङ्कन गरिरहेका छन् । हिजो जे भएको थियो, भोलि पनि त्यस्तै हुनेछ भन्ने उनीहरुको बुझाइ भएको जस्तो देखिन्छ । यसैगरी अर्कोतर्फ नेपाल सरकार पनि हैटीको भूकम्प र पुनर्निर्माणको खराब उदाहरणसँग नेपालको तुलना हुने अवस्थाबाट सचेत देखिन्छ । त्यही आधारमा नेपाल सरकारले पारदर्शी र जिम्मेवार पुनर्निर्माण खाका बनाउनु जरुरी छ, जसले नेपाली जनताले चाहनाअनुसार विकाश र सम्बृद्धिलाई सुनिश्चित गरोस् ।

यस्तो खाका बनाउन नेपाल सरकारले धमाधम काम गरिरहेको छ । साथै पुनर्निर्माण कार्यको नेतृत्वका लागि बेग्लै अधिकारसम्पन्न निकाय बनाउने प्रकृया पनि अगाडि बढाइरहेको छ । यस्तो निकायले पुनर्निर्माणको गति तिब्र बनाउन र पारदर्शिता कायम गर्न झनै सजिलो हुनेछ । जसमा दाता प्रतिनिधि पनि हुनेछ र यसले दाताहरूलार्इ प्रष्ट हुनेछ कि उहाँहरुको सहयोगले नेपाल र नेपाली जनताको जीवनमा अाएको परिवर्तनबारे तथ्यपूर्ण ज्ञान हुनेछ ।

सरकारको बिशेष दूतका रुपमा मैले नेपाल सरकारले तयार पारेका यिनै खाका र संरचनालाई दातृ निकायसमक्ष राखेर उहाँहरुमा बिश्वास पैदा गरेर नेपालको पुनर्निर्माण अभियानमा सहभागी हुन उत्प्रेरित गर्ने मेरो प्रयास हुनेछ ।

तपाईलाई सरकारले यति रकम जम्मा गर्नुपर्छ भनेर कुनै लक्ष्य दिएको छ ? कति रकम संकलन गर्न सकिएला भन्ने तपाईको अनुमान छ ?

त्यस्तो लक्ष्य दिएको छैन र मैले अहिले नै यति रकम जम्मा गर्छु भनेर अंकमा प्रतिवद्धता जनाउन पनि सक्दिँन । नेपाल सरकारको पूर्ण सहयोगमा मैले काम गर्ने हो । यो क्रममा एक डलरमात्रै बढी ल्याउन सक्ने अवस्था देखियो भने पनि म त्यसका लागि कोसिस गर्छु । तर, मेरो विश्वास के छ भने राम्रै स्केलमा सहयोग जुटाउन सकिन्छ । आर्थिक सहयोग मात्र हैन, धेरै बिदेशी संस्थाले भौतिक सहयोग पनि गर्न चाहेका छन्, उनीहरुसँग समन्वय गरी मुलुक पुनःनिर्माणका लागि जेजस्तो सहयोग उपलब्ध हुन्छ, त्यसलाई नेपालसम्म ल्याइपुर्‍याउने माध्यम बन्न म कोसिस गर्नेछु ।

भूकम्प गएलगत्तै तपाईले गैरआवासीय नेपाली संघमार्फत् आपतकालीन राहत वितरणमा निकै उदाहरणीय काम गर्नुभयो । त्यसकै कारण पनि सरकारले तपाईंलाई यो जिम्मेवारी दिएको अनुमान गरिएको छ । राहत वितरण जति सहज हुन्छ त यो काम ? कति आशावादी हुनुहन्छ ?

आपतकालीन राहत वितरणका क्रममा मैले संगालेको अनुभव के हो भने आँट्यो भने जतिसुकै कठिन काम पनि पूरा गर्न सकिने रहेछ । हामीसँग तुरन्तै स्रोत साधन थिएन, वितरणका लागि हाम्रो आफ्नै सञ्जाल थिएन, अन्य धेरै कठिनाइहरु थिए । तर, हामीले हाम्रो योजनामा केन्द्रित रहेर टीमवर्कलाई बढावा दियौं र निरन्तर खटेर आफ्नो लक्ष्य पूरा गर्‍यौं ।

अहिले सरकारले मलाई दिएको जिम्मेवारी ठूलो स्केलको हो । नेपाल र नेपाली जनताले निकै अपेक्षा गरेर मलाई यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारी पूरा गर्न मलाई राहत प्रकृयाको अनुभवले पनि सहयोग गर्ने छ । मातृभूमिका लागि केही गर्न सक्छु भन्ने आँट मसँग छ भने सारा गैरआवासीय नेपाली, नेपाल सरकार, नेपाली जनता र बिश्व समुदाय समेत यो अभियानमा एकसाथ छाैं भन्नेमा म बिश्वस्त छु । त्यसैले हामी सफल हुन्छौं भन्ने बिश्वास छ ।

तपाईं करिव एक महिना भूकम्प पिडीतका लागि राहत कार्यक्रमको नेतृत्व गर्दै नेपालका गाउँगाउँ पुग्नुभयो, कस्तो रह्यो अनुभव ?

यो निकै हृदयविदारक र पीडादायी थियो । यद्यपि पीडितलाई सहयोग गर्न पाउँदा निकै आनन्दको अनुभूति भयो । योजना तय गर्ने बेलामै खासगरी कोही पनि मानिस अझै पुग्न नसकेको ठाउँहरुमा राहत सामाग्रीहरु छिटो गरी कसरी आपूर्ति गर्ने भन्ने विषयमै हाम्रो सोचाइ रह्यो । प्रभावित गाउँका ९५ प्रतिशत घरहरु भत्किएकाले हामीले पहिलो फोकस आवासमै दिएका थियौँ ।

dolakha-9

तर, हामीले सरकार र नेपाली सेनाको एयर फोर्सबाट निकै धेरै सहयोग र सहकार्य पायौँ त्यसैले भूकम्पको केन्द्रविन्दु रहेको बारपाक, लाप्राक तथा आसपासका अन्य गाउँहरुमा दुई दिनभित्रमै राहत सामाग्री वितरण गर्न सक्यौँ ।

हामीले एकजुट भएर निकै कडा परिश्रम गर्‍यौँ । त्यसैले अनुभुति निकै दुःखद तथा हृदयविदारक रहे पनि हाम्रो एकजना स्वयंसेवीले भनेजस्तै हामीहरु राहत वितरण गर्न गएका साँच्चीकै राहत अनुभूति गरेर फर्कियौँ । हामी जहाँ पुग्यौँ, त्यहाँका मानिसहरु आफ्नो पीडादायी अवस्थाका बाबजुद ‘अतिथि देवो भव’ र हामी गरीब भए पनि मगन्ते होइनौँ’ भन्ने असल नेपाली संस्कार नभुलेको पायौँ ।

मानिसहरुले आफुलाई तत्कालै आवश्यक राहत वस्तुमात्र लिए र तत्कालै नचाहिने वस्तुहरु हामीलाई फिर्ता गरेर अरु पीडितलाई दिन आग्रह गरे । तपाईले यस्तो इमान्दारिता कहाँ पाउन सक्नुहुन्छ ? हामी गएका सबै ठाउँमा मानिसहरु हाम्रो स्वागत सत्कार गर्न अघि सर्थे । यस्तो दुख, अव्यवस्था तथा निराशाका बेलामा पनि मानिसहरुमा यस्तो सत्कार तथा इमान्दारिता अन्त कहाँ देख्न पाउनु ?

विश्वका कुनै भागमा मानिसहरु एक अर्कामा लडिरहेको हामी सुन्छौँ । तर, यहाँ मानिसहरु दुखमा एकजुट भएका छन् र मानिसहरु भग्नावशेषबाट उठ्नका लागि देशी विदेशी सहयोग नपर्खिकन एक अर्कालाई सहयोग गरिरहेका छन् । प्रतिकुल अवस्थाबाट कसरी माथि उठ्ने भन्ने विषयमा हामीले उहाँहरुबाट सिक्न सक्छौँ । हामीले उहाँहरुबाट प्राप्त गरेको राहत यही हो ।

तपाईहरुले छोटो समयमै करिव १३ जिल्लामा राहत वितरण गर्नुभयो । बिदेशमा बस्ने नेपालीको संस्था जोसँग नेपालमा खासै ठूलो प्रशासनिक संरचना छैन, यस्तो अवस्थामा कसरी सम्भव भयो ?

गैरआवासयी नेपाली संघ आफैमा स्वयंसेवी संस्था भएकाले योसँग यति ठूलो तहको भूकम्प जस्ता विपदको सामना गर्ने पर्याप्त श्रोतसाधन र क्षमताको अभाव छ । तर, पनि हामीले १७ हजार त्रिपाल, १५ हजार ब्लाङ्केट, ८० टन खानेकुरा वितरण गर्‍यौँ भने दुई हप्तामै ११ जिल्लामा २६ वटा स्वास्थ्य शिविर सञ्चालन गर्‍यौँ, तेस्रो ठूलो धक्का अगाडिसम्म ।

सुरुमा म र हाम्रो समूहले दैनिक १७ घण्टासम्मै निरन्तर काम गर्‍यौँ । काम गर्दै आवश्यक सुधार पनि तत्कालै गर्दै गर्‍यौँ । इमान्दारिपूर्वक भन्दा प्रभावित क्षेत्रमा उडान भर्नु अगाडि हामीलाई अरु धेरै कुरा थाहा थिएन । त्यसैले आफुले सक्ने सहयोग हाम्रा दाजुभाइलाई गर्नका लागि ग्राउण्ड जिरोमा हामी थियौँ । राहत कार्यलाई कसरी योजना बनाएर व्यवस्थित गर्ने भन्ने बारेमा हामीलाई केही जानकारी थिएन । दृढ इच्छाशक्ति र मेहनतले हामीले छोटो समयमै गाउँसम्म राहत पुर्‍याउन सक्यौं ।

महत्वपूर्ण पक्ष के भने हामीले यो कार्यक्रमलाई प्रभाव, प्रतिफल तथा नतिजामुखी परियोजनाका रुपमा स्थापित गर्‍यौँ र मापनयोग्य बनायौँ, जसका कारण हामीले यसलाई सही ढंगले व्यवस्थापन गर्न सफल भयौँ ।

नेपाल सरकार, नेपाली सेना, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी तथा गाविसका अधिकारी र प्रतिनिधहरुको सहयोगविना यो सम्भव थिएन । र, अझ महत्वपूर्ण पक्ष ती गाउँलेहरु हुन्, जसले उनीहरुको घाउमा मल्हम लगाउने हाम्रा सहयोगी हातलाई स्वीकार गरे ।

तपाईं आफैं एक अर्बपति हुनुहुन्छ, जसलाई मिनेट मिनेट को महत्व छ। राहत वितरण गर्न तपाईं र जमुना गुरुङजीसमेत आफै गाउँ गाउँसम्म खटनुभयो, राहत सामाग्री आफै बोकेर गाउँ पुग्नुभएको हामीले देख्यौं । यो रहर हो कि बाध्यता ?

सबै राजनीतिक दल, कर्मचारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय एजेन्सीहरुसँग मेरो अनुरोध छ कि सकारात्मक परिवर्तत तथा नेपाल र नेपालीको राम्रो भविश्य निर्माणका लागि हातेमालो गरौँ ।

नेपालमा भकम्प आउँदा म मेरो म्यानेजरसँग फोनमा कुरा गरिरहेको थिएँ । एक दुई मिनेटमै उनी एक्कासी चिच्याउन थालेे, त्यतिबेलै मैले भूकम्प आएको जानकारी पाएँ ।

तत्कालै हामी दुबैजनालाई यस्तो महसुस भयो क हामी हाम्रा दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न ग्राउण्ड जिरोमा पुग्नुपर्छ । तर, कस्तो सहयोग र कसरी गर्ने भन्ने थाहा थिएन । यो नेपाल आमाप्रति हामी छोराछोरीको कर्तव्य थियो ।हामी नेपाल उड्नका लागि तत्कालै एयरपोर्टतर्फ लाग्यौँ । तर, भकम्पका कारण नेपालको विमानस्थल बन्द रहेका कारण हामी उड्न पाएनौँ । तन दिनपछि मात्र हामी काठमाण्डौ उत्रन सफल भयौँ ।

तपाईले हामीलाई केही राहत सामाग्री बोकेको देख्न सक्नुहुन्थ्यो । वास्तवमा यो बाध्यता पनि थिएन र रहर पनि थिएन, त्यसबेलाको आवश्यकता थियो ।

आवश्यक परेका बेला देशका हरेक नागरिकले निर्वाह गर्नुपर्ने कर्तव्य हो । मैले जोन एफ केनेडीको भनाइ उधृत गर्न चाहन्छु, ‘देशले तिमीलाई के गर्‍यो नसोध, देशका लागि के गर्न सकिन्छ त्यो सोध ।’ यो अभियानमा पनि मैले मातृभूमिप्रतिको दायित्व पूरा गरेको हुँ, एउटा सन्तानका रुपमा ।

यो दौरानमा तपाईलाई कुन कुराले सबैभन्दा धेरै छोयो ? जीवन दर्शनलाई नै परिवर्तन गरिदिने तहका कुनै घटना भए कि ?

अव्यवस्था, दुख तथा निराशाको अवस्थामा पनि सहनशीलता तथा इमान्दारिताका साथै दुखको अवस्थामा नेपाली जनताले देखाएको एकता । कठिन परिस्थितिबाट माथि उठ्ने इच्छाशक्ति र दृढ निश्चययुक्त सच्चा नेपाली भावना ।

यसले मलाई हामी को हौँ र कहाँका हौँ भन्ने कुराको भित्रैदेखि बोध गरायो । हामीलाई त्यही आवश्यक थियो । त्यसैले मैले पहिले पनि भनेँ कि हामी राहत वितरणका लागि आएका आफैंले राहत महसुस गर्न पायौँ । हामी एकतावद्ध भयौँ भने उपलब्धी हासिल गर्न सकिन्छ भन्ने महसुस गराउनुभएकोमा हामी कृतज्ञ छौँ ।

सबै राजनीतिक दल, कर्मचारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय एजेन्सीहरुसँग मेरो अनुरोध छ कि सकारात्मक परिवर्तत तथा नेपाल र नेपालीको राम्रो भविश्य निर्माणका लागि हातेमालो गरौँ ।

अब मुलुक पुनर्निर्माण अभियानमा केन्द्रित छ, पुनःनिर्माण अभियान कस्तो हुनुपर्छ भन्ने तपाईको राय हो ?

भूकम्पजस्तो आकस्मिक तथा ठूलो प्राकृतिक विपदले मानवीय जीवन तथा राष्ट्रको भौतिक, सामाजिक तथा आर्थिक पक्षलगायत सबैमा असर पुर्‍याउँछ । त्यसैले यस्तो प्रकारको क्षतिपछि देशको पुननिर्माण गर्नु ठूलो चुनौति हो, जुनसुकै विकसित देशका लागि पनि ।

विपतपछिको पुर्नजीवन प्रयास सुक्ष्म तथा वृहत तहमा, बहुतहमा तथा बहुपक्षीय र बहुराष्ट्रिय हुनुपर्छ भन्ने मेरो धारणा छ । यसमा सबैको सहयोग र सहायताको खाँचो हुन्छ ।

तर, सरकारले सबैभन्दा पहिले तत्कालै गम्भीर चिन्तन गरेर क्षतिग्रस्त संरचना तथा सार्वजनिक सेवा, जस्तै- सडक, विद्यालय, पुल, अस्पताल, खानेपानी, विजुली आदिको पुनर्स्थापना तथा पुनर्निमाणका लागि योजना तय गर्नुपर्छ ।विज्ञहरुले भूकम्पीय जोखिम रहेको बताइरहे पनि हाम्रा वर्तमान गतिविधिहरुले हामीमा पूर्वतयारीको कमी रहेको देखायो । त्यसैले हामीले यस्तै विपत्ति भोगेर माथि उठेको छिमेकी मुलुक भारत, चीन तथा जापान जस्ता मुलुकसँग सहयोग माग गर्नुपर्छ । उनीहरुको ज्ञान, विज्ञतालाई हामीले हाम्रो विपद पछिको पुर्नस्थापना कार्यमा उपयोग गर्न सक्नुपर्छ, जसबाट हामीले हाम्रो अभियान सफल पार्न सक्छौँ ।

यसका साथै बहुपक्षीय एजेन्सीहरु, राष्ट्रहरु, एनजीओ तथा आइएनजीओको सहयोगको पनि आवश्यक हुन्छ । विश्व बैंक, एशियाली विकाश बैंक जस्ता ज्ञान र विज्ञताको खानी रहेका संगठनहरु पनि विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा उपयोगी हुन्छन् । योजना निर्माण र कार्यान्वयनमा उनीहरुको सहयोगको आवश्यकता छ ।

देश पुनर्निर्माणका लागि दीर्घकालीन प्रतिकार्य तथा सार्वजनिक र निजी क्षेत्रबाट समेत ठूलो लगानी आवश्यक पर्छ । हामी भाग्यमानी किन छौँ भने देशको पुनर्निर्माणको अभियानमा सहयोग गर्ने र नेपालीको उज्यालो भविष्य देख्ने चाहना राख्ने देश तथा बहुपक्षीय संस्था तथा संगठनहरु धेरै छन् ।

तर, दाताहरु यतिबेला सहयोग प्रदान गर्न हिच्किचाइरहेका छन् । दातामा आत्मविश्वास कायम गर्न तथा थप दाताहरु आकषिर्त गर्नका लागि विपतपछिको उत्कृष्ट पुनःस्थापना योजना तयार गर्नुका साथै दातामैत्री नीति निर्माण गर्नु तथा दाताहरुको रकम, सीप तथा विज्ञतालाई संयोजना गरी उनीहरुलाई हाम्रो पुनर्निमाणको कार्यमा आफ्नो खल्ती खुल्ला गर्न प्रोत्साहन गर्नु आवश्यक छ ।

सरकारले यसका लागि के गर्नुपर्छ त ?

सबैभन्दा महत्वपूर्ण भनेको हामीले हाम्रो साशकीय परिपाटीका साथै कानूनी संरचना र पुनर्निर्माणको कार्यगत प्रणालीलाई सबल बनाउनुपर्छ र पारदर्शिताका साथै उत्तरदायित्व प्रर्वद्धन गर्नुपर्छ ।

सबै सरोकारवालसँगको परामर्शमा सम्पूर्ण गाउँ तथा समुदायका लागि गुरुयोजना निर्माण गर्नुपर्छ, केवल आवासका लागि मात्र होइन । यो योजनामा सार्वजनिक संरचना, निजी आवासका साथै जीवनयापन संयन्त्रसमेत समावेश हुनुपर्छ । स्थानीय पदार्थको प्रयोग गरी स्थानीय संस्कृति तथा सम्पदालाई जोगाउँदै भूकम्प प्रतिरोधी संरचना बनाउनु आवश्यक छ ।

Shes-Ghale-5

यो कार्यमा सरकार प्रवर्द्धक तथा नियामक, तथा अनुगमनकर्ताका रुपमा रहनुपर्छ ता कि पुनर्निमार्णमा सहभागी सबैले पुर्वनिर्धारित नीति नियमको पालना कडाइपूर्वक गरुन् । यसमा लागि विश्व बैंक तथा एसियाली विकाश बैंकसँग निब्र्याजी वा सस्तो ब्याजदरमा सहायता माग गर्नुपर्दछ ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका साथै हामीले भविष्यमा धनजनको क्षति हुने जोखिम कम गर्न नयाँ संरचना निर्माणको योजना निर्माण तथा कार्यान्वयन थालिहाल्नुपर्छ ।

पुनर्निर्माण अभियानमा निजी क्षेत्र र अन्य देशमा सञ्चालित सामाजिक संस्थाहरुलाई कसरी साथ लिन सक्छ सरकारले ?

निजी क्षेत्रलाई पुनर्निर्माणको कार्यमा सहभागी गराएर क्षमता विकासका लागि सार्वजनिक निजी साझेदारीलाई सरकारले प्रवर्द्धन गर्नुपर्छ र निजी लगानी आकषिर्त गर्नुपर्छ । सरकारले करमा सहुलियत तथा व्यवसायमा सहुलियत तथा प्रोत्साहन उपलब्ध गराएर सुरक्षित आवास निर्माण तथा राष्ट्रको पुनर्निर्माणमा निज क्षेत्रलाई आकषिर्त गर्न सक्छ ।

आर्थिकरुपमा पुनस्र्थापित नभैकन पुनर्निमाणको कार्य दिगो हुन सक्दैन । तत्कालै भौतिक पूर्वाधारको पुनर्निमाण नगरीकन राष्ट्र अगाडि बढ्न सक्दैन । त्यसैले भौतिक पूर्वाधारको पुनर्निर्माण तथा पूर्वाधारमा लगानी आवश्यक छ । पुनर्निमाण भनेको लगानी हो, जसले रोजगारी सिर्जना गर्छ र अर्थतन्त्रलाई पुनर्जिवित गराउँछ ।

सरकारले प्रष्ट नीति र विश्वनियता प्रर्दशन गर्न सक्यो भने संसारभरका परोपकारी संस्थाहरु नेपालमा लगानी गर्न उत्साहित हुनेछन् भन्ने मेरो विश्वास छ । किनकि नेपाल र नेपालीप्रति विश्वभर ठूलो साहनुभूति छ र यो विपतमा उनीहरु निस्वार्थ सहयोग गर्न चाहन्छन् ।

अहिले पनि म थुप्रै यस्ता संस्थाहरुसँग सम्वाद र समन्वयमा छु, जो नेपालमा सामाजिक लगानी गरेर पुनर्निर्माण अभियानलाई सहयोग गर्न चाहन्छन् । त्यसैले उनीहरुलाई सहयोगका लागि उत्प्रेरित गरियो भने हामीलाई यो दुःखबाट पार पाउन निकै सजिलो हुनेछ ।

भूकम्पबाट नेपालको पर्यटन उद्योगलाई सवैभन्दा धेरै प्रत्यक्ष क्षति पुगेको छ । तपाईं आफै पनि नेपालको पर्यटन उद्योगसँग जोडिनुभएको लगानीकर्ता हुनुहुन्छ, कसरी पुनःस्थापना गर्न सकिएला ?

हामीले चाहेर वा नचाहेर पनि यसलाई राष्ट्र निर्माणको कार्यमा एउटा अवसरका रुपमा लिनुपर्छ र तात्कालीन, मध्यकालीन तथा दीर्घकालीन राष्ट्रनिर्माणको ब्लुप्रिन्ट तयार गर्नुपर्छ ।

कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशत योगदान भएको पर्यटन क्षेत्र भूकम्पका कारण तहनस नहस बनेको छ । त्यसैले आर्थिक तथा सामाजिक रुपले दिगो पुनर्निर्माण कार्यका लागि पर्यटन उद्योगलाई पुर्नजीवन दिनु अत्यावश्यक छ ।

सयौँ वर्ष पुरानो संस्कृति तथा इतिहासको धरोहरलाई भूकम्पले ध्वस्त बनाएको छ । क्षतिग्रस्त सांस्कृतिक सम्पदा स्थल, दरबार, मन्दिर, मूर्तिहरु हाम्रो पहिचान मात्र नभएर पर्यटकको आकर्षणका केन्द्र हुन् । यस्ता क्षतिग्रस्त संरचनालाई पुरानै स्वरुपमा पुनर्निमाण गर्न आवश्यक हुन्छ । भुइँचालोका कारण लाङटाङ, एभरेस्ट सर्किट जस्ता पदयात्रा मार्गमा क्षति पुगेको छ । नष्ट भएका पूर्वाधारलाई पुनस्र्थापित गर्न सकियो भने आगामी हिउँददेखि त्यहाँ पुनः पर्यटक ल्याउन सकिन्छ र स्थानीयवासीको रहन सहन एवं जीवनशैली पनि बचाउन सकिन्छ ।

तर, नेपालमा अन्य धेरै पर्यटकीय गन्तव्यहरु, जस्तो- अन्नपूर्ण सर्किट, पोखरा लगायतका पर्यटकीय केन्द्रहरु सुरक्षित रहेको हुँदा नेपाल भ्रमण गर्नु सुरक्षित छ भन्नेखालको सन्देशसहितको प्रचार अभियान हामीले विश्वमा पुर्‍याउनुपर्छ । यसबाट पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न सकिन्छ र नेपालको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ । यस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधार पुनःस्थापना गर्न त्यति कठिन किन हुँदैन भने त्यहाँ धेरै पक्की संरचनाहरु थिएनन् ।

के हामी यो विपतलाई पार गरेर भग्नावशेषमा परिणत भएका गाउँहरुलाई सुन्दर र दिगो बनाउन सक्छौं ? तपाई कति आशावादी हुनुहुन्छ ?

यो ठूलो चुनौति हो र निकै भीमकाय लक्ष्य हो । यस्तो प्रकारको ठूलो क्षतिपछि देशको पुनर्निमाण गर्नु जो कोहीका लागि पनि ठूलो चुनौति हो । त्यसैले सबैभन्दा पहिले सरकारले आवश्यकता र कार्यहरुलाई अल्पकालीन तथा दीर्घकालीनरुपमा प्राथमिकीकरण गर्नु आवश्यक छ ।

हामीले चाहेर वा नचाहेर पनि यसलाई राष्ट्र निर्माणको कार्यमा एउटा अवसरका रुपमा लिनुपर्छ र तात्कालीन, मध्यकालीन तथा दीर्घकालीन राष्ट्रनिर्माणको ब्लुप्रिन्ट तयार गर्नुपर्छ । यदि दीर्घकालीन लक्ष्य तथा दिगो आर्थिक र सामाजिक विकासको लक्ष्य तय गरियो भनेमात्र यस्तोखालका ठूलो विपतपछिको पुनर्निर्माणको काम सफल हुन्छ ।

म त आशावादी मानिस हुँ र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आशा र भरोसा देख्छु । उहाँहरु नै सबैभन्दा सहिष्णु तथा सहनशील मानिस हुनुहुन्छ । र, यो दुखको घडीमा माथि उठ्नका लागि एकतावद्ध पनि देखिनुभएको छ । यो निकै सह्रानीय छ । मलाई विश्वास छ उहाँहरु आफ्नो जीवन बौराउन तथा पुनर्निमाणका लागि तयार हुनुहुन्छ ।

तर, यसका लागि राष्ट्रिय तथा स्थानीयरुपमा राजनीतिक दलको सहभागिता तथा सहयोग खोजिरहेका छन् । उहाँहरुबाट राष्ट्र र जनतालाई उज्यालो भविष्यतर्फ डोर्‍याउने ठूलो इच्छाशक्ति र एकता भयो भने हामी अहिलेको पीडाबाट सुन्दर भविश्यमा फड्को मार्न सक्छौं भन्नेमा म विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment