Comments Add Comment

प्रधानमन्त्रीज्यू, ‘म्यानपावरका दलालले मलाई पनि ठगे, राज्यलाई पनि !’

२ असार काठमाडौं । तेह्रथुम जिल्लाको ओयाक्जुङ- ३ निवासी सूर्यप्रसाद दुलाल सुशील कोइराला नेतृत्वको सरकारलाई सराप्दै मंगलबार अरबतिर लागेका छन् । स्वदेशमा रोजगारी नपाएर विदेशिनु परेकोमा त चिन्ता छँदैथियो, योभन्दा ठूलो चिन्ता उनलाई आफू ठगिएकोमा लाग्यो ।

सूर्यप्रसाद दुलाल
सूर्यप्रसाद दुलाल

मंगलबार कतार जानुअघि राजधानीको एयरपोर्ट छेउमा रहेको अल सेक्युर म्यानपावरमा सूर्यप्रसादले ६० हजार रुपैयाँ नगद बुझाए  । तर, म्यानपावरले उनलाई २० हजार रुपैयाँको मात्रै बिल दियो ।

दुलालको गुनासो छ- ‘मैले ६० हजार रुपैयाँकै रिसिभ चाहिन्छ भनेर माग्दा म्यापावरका कर्मचारीले तिम्रो फ्लाइट हामी क्यान्सिल गरिदिन्छौं, पैसा फिर्ता लैजाऊ भन्ने उत्तर दिए ।’

मंगलबार ३ बजेको फ्लाइटमा कतार उड्नुअघि विमानस्थलमा भेटिएका उनले अनलाइनखबरसँग भने- ‘गाउँबाट विदेश जान भनेर आएको, ठगी भयो भन्ने थाहा पाउँदा-पाउँदै पनि चुपचाप मन बुझाउनुको विकल्प रहेन ।’

सयकडा ३० प्रतिशतका दरले व्याजमा ऋण काढेर विदेशिन लागेकाले आफू निरीह हुनुपरेको दुलालले दुखेसो पोखे ।

बैदेशिक रोजगारीमा जाने कामदारले आफूले तिरेको रकम बराबरको बिल पाइन्छ भन्ने सुनेकाले म्यापावरका कर्मचारीसँग बिल मागेको दुलालले बताए ।

‘अल सेक्युरलाई मैले ६० हजार रुपैयाँ तिरेँ । तर, म्यानपावरले मलाई २० हजारको मात्रै रिसिभ दियो,’ दुलालको प्रश्न छ, ‘प्रधानमन्त्री ज्यू अब त्यो म्यानपावरलाई कारवाही हुन्छ कि हुँदैन ?’

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले शुक्रबार मात्रै मलेसिया, कतार, बहराइन, साउदी अरब, ओमन, कुवेत र दुबईमा निशुल्क टिकट र भिसामा कामदार पठाउने घोषणा गरेका थिए । तर, सूर्यप्रसादले निशुल्क त के, लाग्ने शुल्कभन्दा तेब्बर पैसा बुझाउन बाध्य हुनुपरेको छ । यो घटनाले राज्यमन्त्री गुरुङको घोषणा कति हावादारी छ भन्ने स्पष्ट गरेको छ ।

म्यानपावरको मनपरी

टेकबहादुर गुरूङ
टेकबहादुर गुरूङ

अहिले श्रम तथा रोजगार मन्त्रालयको नेतृत्व म्यानपावर व्यवसायी टेकबहादुर गुरुङको नेतृत्वमा छ । यही मौकाको फाइदा उठाउँदै म्यानपावर व्यवसायीहरुले कामदारलाई लाग्ने रकम भन्दा तीन गुणा बढी लिेन गरेका छन् ।

तर, यसरी बढी रकम लिने कम्पनीहरुले थोरै रकमको मात्रै भपाई दिएर एकातिर गरीब नेपालीका छोराछोरीलाई लुटिरहेका छन् भने अर्कातिर सरकारलाई समेत कर छलिरहेका छन् ।

मलेसिया लगायतका मुलुकमा विना पैसा कामदार पठाउने हावादारी घोषणा गरेका राज्यमन्त्री गुरुङले कतार जाने कामदारबाट ६० हजार बढी लिने म्यानपावर कम्पनीलाई कुनै कारवाही गर्न सकेका छैनन् ।

सरकारी नियम लत्याउँदै कामदारसँग लिएको रकमभन्दा तीनगुणा कम बिल काट्ने अल सेक्युर म्यानपावर त उदाहरण मात्रै हो । अधिकांश म्यानपावरले कामदारबाट लिएको रकमभन्दा तीनदेखि चार गुणा कमको भर्पाइ दिँदै आएको कामदारहरुको गुनासो छ ।

बैरो विभाग भन्छ- कारवाही हुन्छ

लिएको रकम बराबरको बिल अनिवार्य दिनुपर्ने नियम रहेको बैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्कीले बताए ।

‘यदि कसैले तिरेको पैसा बराबरको बिल पाउँदैन भने विभागमा आएर उजुरी देओस्, हामी छानविन गरी कारवाही गछौर्ं’ कार्कीले अनलाइनखबरसँग भने ।

फ्रि भिसामा कतार जाने कामदारसँग २० हजार रुपैयाँभन्दा बढी लिन नपाउने सरकारी नियम भएकाले त्योभन्दा बढी रकम लिनू गैरकानूनी भएको कार्कीले बताए ।

विभाग कामदारको हितमा काम गर्ने निकाय भएकाले ठगी गर्ने म्यानपावरलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने उनले दाबी गरे ।

बैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरु पनि कामदारसँग लिएको रकम बराबरको बिल दिनुपर्ने बताउँछन् ।  ‘कुनै म्यानपावरले लिएको रकम बराबरको बिल दिँदैन भने सरकारी निकायमा उजुरी गर्नुहोस्, हामी त्यस्ता म्यानपावरलाई जोगाउन लाग्ने छैनौं,’ संघका एक पदाधिकारीले भने ।

तर, सूर्यप्रसादसँग विभागमा गएर उजुरी दिने फुर्सद थिएन, उनको प्लेन उड्नै लागेको थियो, उनी ब्याजमा लिएको पैसाबाट ४० हजार बढी बुझाएर अरबको भूमिमा पुगिसकेका छन् ।

मुलुकका शासन सञ्चालक प्रधानमन्त्री सुशील कोइरालालाई सूर्यप्रसादको प्रश्न छ- ‘प्रधानमन्त्रीज्यु यही हो तपाईको लोकतन्त्र ? एकातिर चर्को ब्याजमा ऋण काढेर बिदेशिनु छ, अर्कातिर अनावश्यकरुपमा म्यानपावरका दलाललाई पोस्नु परेको छ । यस्तो दोहोरो शोषण त सामन्ती राज्य व्यवस्थामा पनि थिएन ।’

म्यानपावर सञ्चालक भन्छन्- नखाएर के गर्नु ?

अल सेक्युर म्यानपावरका प्रबन्ध सञ्चालक दिल श्रेष्ठले दुलालसँग ६० हजार रुपैयाँ लिएको र २० हजार रुपैयाँको मात्रै बिल दिएको सगर्व स्वीकार गरेका छन् ।

‘सरकारले तोकेको रकम मात्रै लिँदा त हाम्रो व्यवसाय नै चल्दैन,’ उनले ढुक्क हुँदै भने- बढी रकम नलिएर के गर्नु ?

त्यसोभए लिएको रकम बराबरको बिल किन नदिएको भन्ने प्रश्नमा उनले कर प्रयोजनका लागि कमको बिल काटिएको उत्तर दिए ।
‘६० हजारको बिल काट्दा त ६० हजारकै ट्याक्स तिर्नु परिहाल्छ नि’ प्रतिप्रश्न गर्दै उनले भने- यो देशमा कसले चाहिँ कमाएजति कर तिरेका छन् र ?’

यो क्षेत्रमा आफ्नो म्यानपावरले मात्रै नभई सबै म्यानपावरले सही बिल नकाट्ने गरेको उनले जानकारी दिए । यो सामान्य कुरा भएकाले समाचार बन्ने विषय नभएको उनले बताए ।

‘यो सबै म्यानपावरले गर्ने कुरा हो, उनले प्रश्न गरे- ‘आखिर मेरो कम्पनीको मात्रै समाचार बनाएर तपाईलाई के नै फाइदा हुन्छ र ?’

Susil-koirala-‘जिरो कस्ट’ फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले सात देशमा निशुल्क टिकट र भिसामा कामदार पठाउने घोषणा फिर्ता लिन मंगलबार श्रम राज्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

म्यान पावर व्यवसायीहरुले प्रधानमन्त्री कोइरालालाई भेटेर राज्यमन्त्री आर्थिक प्रलोभनमा परेर यस्तो निर्णय गरेको बताएपछि प्रधानमन्त्री कोइरालाले राज्यमन्त्री गुरुङलाई बोलाएर म्यानवापर व्यवसायीकै सामुन्नेमा यस्तो निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment