केपी लम्साल
आज अजय झा सर आँप लिएर आउदै हुनुहुन्छ ..
विनम अधिकारीले यसो भनिसक्दा नसक्दै वरिपरिका साथिहरुको मुखमा पानी आइसकेको थियो फलको राजा आँपको स्वाद सम्झेर । नभन्दै जनकपुर घर पुगेर फर्किरहेका अजय जी बाटोमा देखिनुभयो । हातमा निकै असजिलो गरी बोकेको झोला आँपले भरिएको अनुमान मनमनै लगाए र मुख मिठ्याए ।
अमृतजन्य मानिने फलको राजा आँप त आयो तर कार्वाइड हालेको आयो कि नहालेको ? अर्का साथि विक्रम थापाको यो सवालसँगै आँप खाने प्रतिक्षा गम्भिर वहसतिर मोडियो ।
आँपको औषधीय गुण
टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आफ्नो अनुसन्धानमा आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँपलाई छालाको चाउरीपन रोक्न समेत प्रभावकारी मानिन्छ । आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ ।
आप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ र यसले वजन बढाउन समेत सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिजका लवण पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् । यो एन्टीअक्सिडेन्टको पनि मुख्य श्रोत हो जसले शरीरमा कोषको क्षयिकरण रोक्छ र शारिरीक तन्दुरुस्ती बढाउँछ ।
आँपको नियमित उपभोगले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ । अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका विरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।
विष बन्दैछ अमृत
आँप, केरा, मेवा, अम्बाजस्ता फल नपाक्दै छिपिएपछि टिपिन्छ भने अंगुर, सुन्तला, ऐसेलुजस्ता फल रुखमै पाकेपछि टिपिन्छ । आँपजस्ता काँचै टिपिने फल टिपिसकेपछि आफै पाक्छन् जसको प्रमुख कारण तिनमा उत्पादन हुने एथिलिन ग्यास हो । एथिलिन ग्यासले फललाई बिस्तारै पकाउछ । कहिलेकाही यी फललाई छिटै पकाउनु पर्दा कपडा, बोरा, भुस आदिमा गुम्साइन्छ जसले गर्दा एथिलिन ग्यास हावामा फैलिएर जान पाउँदैन र चाँडै पाक्छ ।
तर, आजकाल मान्छेका धेरै व्यवहार अप्राकृतिक बन्दै गइरहेका छन् । अमृतजन्य मानिने फलको राजा आँपजस्ता फलफूलहरु हानिकारक रसायनको प्रयोगले दिनदिनै विष बन्दैछन् । प्राकृतिक तवरले पकाउँदा अमृतजस्तो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य बस्तुमा पकाएर बिष बनाइन्छ ।
कतिपय देशमा कार्वाइड तोकिएको मात्रामा हालेर फलफूल पकाउन पाइने र निर्धारित मापदण्डभित्र रहेर बेच्न पाइने कानुन पनि छन् । स्वास्थ्यमा धेरै नराम्रो असर पार्ने भएकाले विश्वका केही देशमा क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल कडा प्रतिबन्धित छन् ।
कार्बाइडको असर
बोटमै बोक्रा ताछेर वा फल टिपिसकेपछि कार्बाइड राखेर आँपलाई जबर्जस्ती पकाउने गरिएको पाइएको छ । मात्राभन्दा बढी क्याल्सियम कार्बाइड हालेर पकाइएको फलफूलका धेरै नकारात्मक स्वास्थ्य असर हुन्छन् । रसायन राखेर पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुनेजस्ता समस्या आइ स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
मुसामा गरिएको एक अनुसन्धानले कार्वाइडको सेवनले फोक्सो र मिर्गौलामा धेरै नकारात्मक असर पर्छ । क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउछ जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जान्छ । मस्तिष्कमा अक्सिजनको मात्राको कमि हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लर्बराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिन्छन् ।
क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वाथ्यमा समेत घातक असर पर्छ । गर्भवति महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने संभावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।
कार्बाइडले शरीरमा भएको पानीसंग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउदछ, जसबाट श्वासनली, घाँटी, आँखा र छालामा धेरै खालका समस्या देखा पर्छन् । धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने गराउनुका साथै अन्धो पनि बनाउन सक्छ ।
भारतमा गरिएको एक अध्ययनअनुसार ३५ प्रतिशत क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेन्ड मात्र बस्दा पनि असर देखाउछ । एक मिनेट बस्दा संक्रमण गर्छ भने ५ मिनेट बस्दा बेहोस बनाउछ र मृत्यु पनि हुनसक्छ ।
कार्बाइड राखेको कसरी चिन्ने ?
क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि केराको एउटै काइयोमा सबै कोसा एकनासले पाकेका र अन्य फलफूमा पनि बोक्राको सबै भाग एकनासले पहेलो हुने गरी पाकेको छ भने त्यसमा कार्बाइड हालेको हुनसक्छ । किनकी प्राकृतिक रूपमा फलफूल प्राय सबैतिर एकनासले पाक्दैनन् ।
आँप, केरा, अंगुरजस्ता फलफूल भेट्नामा अप्राकृतिक कालो दाग छ भने त्यसले कार्बाइड हालेको संकेत दिन्छ । हेर्दा पहेलो, खाउँखाउँ लाग्ने फलफूल पनि छाम्दा साह्रो र कम बासनादार हुन्छन् । त्यसको कारण पनि कार्बाइड हुनसक्छ ।
नेपालको कानुन
नेपालको खाद्य नियमावली २०२७ को नियम १९ (घ) मा स्पष्ट रुपमा कार्बाइड ग्यास (इसिटिलिन ग्यास) ले कृत्रिम रूपबाट पकाइएका फलफूल बिक्री गर्न नपाइने भनिएको छ । अर्थात नेपालको खाद्य ऐनले यसरी कृत्रिम रुपमा पकाइएका आँपजस्ता फलफूल बजारमा बेच्न प्रतिबन्धित गरेको छ ।
तर, यस्ता हानिकारक रसायनको प्रयोग अन्धाधुन्द भैरहेको छ र सरोकारवाला सरकारी निकाय थाहा नपाए झैं गरिरहेको छ । हाम्रोजस्तो साह्रै फितलो अझ भनौ निकम्मा नियमन प्रणाली र नियमनकारी निकाय भएको मुलुकमा अनियन्त्रित रुपमा कार्वाइड हालेर पकाइएका आँपहरुले बजार ढाकिरहेका छन् ।
विभिन्न तथ्यांक हेर्दा नेपाल, भारत, पाकिस्तानजस्ता मुलुकका बजारमा यस्ता रसायनको प्रयोेग गरी पकाइएका फलफूल बढी पाइन्छ ।
अब के गर्ने त ?
सकेसम्म कार्बाइड हालेका खानेकुराबाट टाढै रहनु सबैभन्दा राम्रो हुन्छ । बाध्यतावश खानैपर्ने भए पनि केही समय पानीमा डुबाएर बोक्रा ताछेर मात्र खानुपर्छ । आँप खाँदै हुनुहुन्छ भने भेट्नो तर्फ अलिकति काट्नुस् र आधा घण्टासम्म पानीमा डुबाइदिनुस् । यसो गर्दा हानिकारण बिष पानीमा जान्छ । त्यसपछि निकालेर बोक्रा फालेर राम्रोसँग पखालेर खान सकिन्छ ।
सरोकारवाला सरकारी निकायले कडा नियमन गर्ने, कृषि उत्पादनमा सुरुदेखि नै असल उत्पादन, भण्डारण तथा प्रशोधन प्रविधिको विकास गर्ने र उपभोक्ता आफैँ सचेत हुने हो भने मात्र हाम्रो खाद्य बजार स्वच्छ बन्न सक्छ ।