Comments Add Comment

आधा घण्टामा बन्ने जहाज निगमको लापरवाहीले हङकङमै रोकियो

Nepal-Airlines-A320-Final
फाइल तस्वीर

१३ असार, काठमाडौं । नेपाली इन्जिनियरहरुबीच समन्वय नहुँदा गएराति हङकङ एयरपोर्टमै रोकिएको नेपाल वायुसेवा निगमको जहाज आइतबार दिउँसो काठमाडौं अवतरण गरेको छ । मर्मतपछि हङकङबाट उडेको जहाज २ बजे काठमाडौं अवतरण गरेको हो ।

गएराति नै नेपाल आउनुपर्ने जहाजमा सामान्य प्राविधिक समस्या देखिएपछि हङकङमै रोकिएको थियो । हङकङमा रोकिनुपर्दा नेपाल आउन लागेका जहाजका यात्रुहरु मर्कामा परे भने चालक दलका सदस्य र यात्रुको खर्चसमेत निगमले व्यहोर्नुपर्दा लाखौं रुपैयाँ घाटा ब्यहोर्नु पर्‍यो ।

वायु सेवा निगमका तीनजना इन्जिनियरमध्ये २ जना विदेशमा रहेको र एकजना सम्पर्कमा नआएकाले अनुमति नपाउँदा मर्मत हुन नसकेको स्रोतले जनाएको छ ।

जहाजमा देखिएको समस्या आधा घण्टाभित्रै मर्मत गर्न सकिने त्यहाँका इन्जिनियरहरुले बताएका थिए । तर, मर्मतको अनुमति माग्न नेपाली इन्जिनियरहरुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन आइकाओको नियमअनुसार कुनै विमानस्थलमा जहाज बिग्रिएमा सम्वन्धित मुलुकको हवाइ कम्पनीले अनुमति दिएपछि मात्र मर्मत गर्न पाइन्छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माले भने इन्जिनियरहरु सम्पर्कमा नआउँदा मर्मत हुन नसकेको जानकारी आफूलाई नभएको दाबी गरे । ‘सामान्य प्राविधिक समस्या देखिएको थियो, अहिले त बनिसक्यो,’ उनले अनलाइनखबरसँग भने, ‘समन्वय अभावमा मर्मत हुन नसकेको भन्ने कुरा मलाई थाहा छैन ।’

निगम स्रोतका अनुसार इन्जिनियरद्वय केबी थापा र आरके मानन्धर विदेश भ्रमणमा छन् । अर्का एक इन्जिनियरसँग भने शनिबार सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेको थिएन ।

आइतबार सम्पर्क भएपछि मात्रै हङकङ एयरपोर्टका इन्जिनियरहरुले जहाज मर्मत गरेका थिए । स्रोतका अनुसार आइतबार बिहानमात्रै अनुमति पाएपछि जहाजको मर्मत गरी काठमाडौं प्रस्थान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment