Comments Add Comment

बहस : एसएलसीको तीनघण्टाले विद्यार्थीको मूल्यांकन हुँदैन

फाइल फोटो
फाइल फोटो

१३ असार, काठमाडौं । एसएलसीको परीक्षाफल आएसँगै विद्यार्थीहरु धमाधम उच्चमावि र कलेज खोज्ने अभियानमा छन् । फेसबुकका भित्तामा आफ्ना छोराछोरीले यति प्रतिशत नम्बर ल्याए र उति प्रतिशत ल्याए भनेर प्रचार भइरहेको छ । तर, विज्ञहरुको भनाइचाँहि के छ भने एसएलसीमा बढी नम्बर वा घटी नम्बर ल्याउँदैमा त्यो विद्यार्थीको समग्र मूल्यांकन हुन सक्दैन ।

‘जिल्लास्तरीय कक्षा ८ को पनि एसएलसीको जस्तै परीक्षा चल्ने हो, तर यसलाई कसैले हेर्दैन,’ काठमाडौंको रत्नराज्य उच्च माविकी प्राचार्य डा. गीता खरेल अनलाइनखबरसँग भन्छिन्- ‘तलदेखि कति विद्यार्थी पास भएका छन् भनेर कसैले सोध्दैनन्, एसएलसीमा कति भयो भनेर मात्रै सोध्छन् ।’

एसएलसीलाई मात्रै हेरेर विद्यार्थी वा विद्यालयको शैक्षिक स्तरबारे मापन गर्न नमिल्ने डा. गीताको तर्क छ । उनी भन्छिन्-‘त्यो एसएलसीको तीन घण्टाको समयलाई मात्रै हेरेर विद्यार्थीको सबै कुराको मूल्यांकन गर्न सक्दैनौं, यसमा हाम्रो परीक्षा प्रणाली पनि दोषी छ ।

एसएलसीमा राम्रो नम्बर ल्याएर उत्तीर्ण गरेका विद्यार्थी पनि कतिपय बेरोजगार भएको, कति गलत बाटोमा लागेको र कोही अरब गएको गीताले बताइन् । एसएलसीमा कम नम्बर ल्याउने विद्यार्थीले समेत राम्रो प्रगति गरेको र गर्न सक्ने डा. गीताको तर्क छ । एसलसीलाई हाउगुजी बनाइदिँँदा विद्यार्थीमा डर त्रास उत्पन्न हुने उनले बताइन् ।

इञ्जिनियर बनाउन खोज्दा विद्रोह

डा. महेन्द्र लावती अमेरिकास्थित मिचिगन युनिभर्सिटीमा राजनीतिशास्त्रका प्रोफेसर हुन् । काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि महेन्द्रलाई उनका पिता तत्कालीन मन्त्री पदमसुन्दर लावतीले इञ्जिनियर बनाउने सोचेका थिए ।

mahendra-lawoti
एसएलसीपछि महेन्द्रले परिवारको इच्छाअनुसार स्नातकसम्म इञ्जिनियरिङ नै पढे । तर, त्यो क्षेत्र उनलाई निरस लाग्यो र त्यसपछि उनी पिताको चाहना विपरीत राजनीतिशास्त्र र समाजशास्त्रतिर लागे । अहिले उनी अमेरिकामा विश्वविद्यालय पढाउन सक्ने भएका छन् ।

एसएलसीमा प्रथम श्रेणी वा विशिष्ट श्रेणी ल्याएको विद्यार्थीले राजनीतिशास्त्र वा समाजशास्त्र पढ्न हुँदैन भन्ने कुराको विरोधी हुन् डा. लावती । मानविकीजस्तो विषय गरीब र कम नम्बर ल्याउने विद्यार्थीको मात्रै संकाय होइन भन्ने सन्देश उनले दिएका छन् ।

साइन्सको फेसन

हामी म डाक्टर बन्छु, बैंकर बन्छु, इन्जिनियर बन्छु भनेर किटानै गरेर अघि बढ्छौं । तपाईको जिन्दगी टाप लगाएको घोडाजस्तै हुनुहुँदैन । टाप लगाएको घोडाले अगाडि मात्र देख्छ, दायाँबायाँ देख्न सक्दैन

अविभावकहरुले प्रायः आफ्ना छोराछोरीले एसएलसीमा राम्रो अंक ल्याउना साथ डाक्टर र इञ्जियनिर नै पढ्नुपर्छ भन्ने सोच्छन् । त्यसैले पैसा पेल्न सक्ने मध्यम वर्गका बाबुआमाले इञ्जिनियरिङ तथा साइन्स पढ्न छोराछोरीलाई जोड गर्ने फेसन नै चलेको छ । एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीले पनि आर्ट्स, म्यानेजमेन्ट जस्ता विषय पढ्न हुँदैन भन्दै बाबुआमाको आर्थिक अवस्थालाई ध्यान नदिई महंगो शिक्षामा दवाब दिने गरेको पाइन्छ ।

तर, केही त्यस्ता विद्यार्थीहरु छन्, जो भौतिक विज्ञान पढेर समाज विज्ञानतिर लम्किएका छन् । नेपालमा त्यस्ता धेरै राजनीतिकर्मीहरु छन्, जो साइन्स पढेका छन् ।

युवा नेता गगन थापा पनि बुबाआमाको इच्छा पूरा गर्न स्नातकसम्म साइन्स पढ्न बाध्य बनेका विद्यार्थी हुन् । उनीसँगैका धेरै साथीहरु कोही डाक्टर बनेका छन् त कोही अमेरिकातिर लागेका छन् । गगन चाहिँ साइन्स पढे पनि नेविसंघतिर लागे । स्नातकोत्तर तहमा उनले साइन्सलाई रोजेनन् ।

Gagan Thapa 400आखिर राजनीतिमा लागेर पनि मानिसले आफ्नो व्यक्तिव्य वा अरिअर बनाउन सक्दोरहेछ भन्ने अर्का उदाहरण बनेका छन् गगन ।

नेपालमा वर्षेनी साइन्स पढ्नेको संख्या बढ्दै जाँदा यतिबेला साइन्सबाट डिग्री सक्नेहरु पनि बेरोजगार बन्न थालेका छन् । तर, सामाजिक क्षेत्रमा लागेकाहरुले पनि रोजगारीका विभिन्न आयामहरु पाउने गरेका छन् ।

पछिल्लो समयमा निजी बैंक र कर्पोरेटहरुको वृद्धिसँगै व्यवस्थापन विषय पढ्नेहरुले साइन्सका विद्यार्थीले भन्दा राम्रो अवसर पाउने गरेका छन् । पत्रकारिता पढ्नेहरुले पनि रोजगारीको अवसर पाउने गरेका छन् ।
नेपालमा साइन्स पढ्ने विद्यार्थीले या त शिक्षण पेशामा लाग्नुनर्पे हुन्छ, या त मेडिकल साइन्समा लागेर डाक्टर बन्नुपर्ने हुन्छ । तर, वनविज्ञान, पशुचिकित्सा, कृषिलगायतका प्राविधिक विषयहरुमा विद्यार्थीको आकर्षण कम देखिने गरेको पाइन्छ ।

तपाईचाँहि एसएलसी गरेपछि अब के पढ्ने ? आफ्ना अभिभावकको इच्छा र फेसनअनुसार पढ्ने या आफ्नो रुची र रोजगारीको अवसरलाई पनि विचार गर्ने ? छनोट तपाईकै हातमा छ ।

अनलाइनखबरका स्तम्भकार समेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अघिल्लो वर्ष एसएलसी उत्तीर्ण गरेका भाइबहिनाका लागि केही टिप्सहरु दिएका थिए । यस वर्ष एसएलसी उतीर्ण गरेर कुन विषय पढौं भन्ने सोचिरहेका भाइबहिनीका लागि पनि यी टिप्सहरु काम लाग्ने हुन सक्छन् । शाहले दिएको सुझावमा साइन्स र म्यानेजमेन्टका पछाडि भेडा जसरी नदौडन आग्रह गरिएको छ –

भेडाजस्तै बनेर साइन्स वा म्यानेजमेन्टको पछि नलाग्नोस् : अनिल शाह

anilkeshari-shahसर्वप्रथम त एसएसली पास गर्नुभएका सबै भाइबहिनीहरुलाई बधाई । पास प्रतिशत अलिक बढि भएको भए हुन्थ्यो तर, जेजति पास हुनुभएको छ तपाईहरु सवैलाई बधाई दिन चाहान्छु ।

तपाईंहरुको जिन्दगीमा पहिलोपटक यस्तो स्थानमा आइपुग्नुभएको छ, जहाँ पहिलोपटक तपाईहरुले आफ्नो बाँकी जिन्दगीको निर्धारण आफैले गर्नुपर्ने भएको छ ।

अहिलेसम्म त सवै बाबुआमाले निर्धारण गरिदिएको बाटोमा हिड्नुभएको थियो, अब आफैले बाटो बनाउने बेला भएको छ । एसएलसी पास त गरियो त अब कुन बिषय पढ्ने, के पढ्दा राम्रो हुन्छ ? भन्ने प्रश्नहरु तेर्सिएका छन् । अब तपाईहरुले प्लस टु पढ्नुपर्ने बेला आएको छ, बुबा आमा र आफन्तको कुरा पनि सुन्दै निर्णय आफैले गर्नुपर्ने बेला आएको छ ।

जेमा रुची, त्यसमै जिन्दगी

कुन बिषय पढ्ने भन्ने कुरा छान्न सवैभन्दा पहिले आफ्नो रुचीलाई ध्यान दिनुस् । १० कक्षासम्म पढ्दा तपाईलाई सवैभन्दा मन पर्ने बिषय के थियो ? कसैलाई बिज्ञान, कसैलाई गणित, कसैलाई अंग्रेजी त कसैलाई लेखा राम्रो लाग्थ्यो होला । तपाईलाई त्यो बिषय किन मनपर्दथ्यो त ? किनभने त्यसमा तपाईको धेरै नम्बर आउँथ्यो । मैले अहिलेसम्म त्यस्तो बिद्यार्थी भेटेको छैन जसको अंग्रेजी सवैभन्दा गाह्रो लागोस् र पनि उसलाई अंग्रेजी नै मन परोस् ।

तपाईलाई त्यसमा रुची थियो र त्यसमा बढी नम्बर आयो, तपाईले त्यसको गहिराई बुझ्नुभयो । अब कता अगाडी बढ्ने भन्ने कुरा निर्णय गर्नका लागि सवैभन्दा पहिले १० बर्ष पढेर कुन बिषयमा बलियो जग बनाइएको छ भनेर हेर्नुपर्छ । त्यही जगमा टेकेर तपाईले बाँकी जिन्दगी बनाउने हो । त्यो नै सवैभन्दा ठूलो सूचक हो जिन्दगीका लागि । मेरो धेरै साथीले साइन्स वा म्यानेजमेन्ट पढेको छ भनेर भेडाजस्तै त्यसकै पछि नलाग्नुस, किनकी यो तपाईको जिन्दगी हो ।

पहिलो कोसिस नेपालमै गर्नुस् । नेपालमा सन्तुष्ट हुन सकिएन भने विदेशमै बसेर नेपाललाई नसराप्नुस् । नेपालमा तपाईलाई मिल्ने वातावरण बनेपछि फर्किएर आउनुस् ।

तपाई केही बर्षपछि गएर सम्बन्धमा जोडिनुहुन्छ होला, बिहेवारी गर्नुहुन्छ होला । मानिसहरु बिबाहलाई जिन्दगीको सवैभन्दा ठूलो निर्णय भन्छन, तर बिबाहभन्दा पनि ठूलो निर्णय गर्ने यही बेला हो । किनभने अहिलेको समाजमा तपाईको कामसँगै नाम जोडिने हो, स्टिभ जब्स भन्नासाथ एप्पल, बिल गेट्स भन्नासाथ माइक्रोसफ्ट र अनिल शाह भन्नासाथ बैंकर भनेर बुझ्छ । तपाईको बुबाआमा, श्रीमती वा छोराछोरी कोही पनि त्यहाँ जोडिन्न, केवल तपाईको कामले मात्र अर्थ राख्छ । र, ९५ प्रतिशतभन्दा बढी मान्छेले जे पढ्छन, त्यही काम गर्छन् ।

यो चाहिं तपाईको आफ्नै जिन्दगीसँगको बिबाह हो, न कि जीवनसाथीसँगको बिबाह । ब्याचलर्स र माष्टर्ससँगै साँच्चै प्रगाढ सम्बन्ध बन्छ होला, तर अहिले यो तपाईले रिलेसनसीप सुरु गर्ने बेला हो आफ्नै जिन्दगीसँग । अब तपाईले रिलेसनसीप साइन्स, कमर्स वा आट्र्स के सँग सुरु गर्नुहुन्छ, त्यो मैले, तपाई बुबा आमाले वा साथीले भनेर नगर्नुस आफ्नै बिबेकले गर्नुस् ।

तपाईका बुबाआमालाई चिन्ता हुन्छ कि छोराछोरीले राम्रो जागिर पाओस, धेरै पैसा कमाओस, समाजमा इज्जत होस् । हाम्रो समाजमा डाक्टर, इन्जिनियरलाई त्यस्तो मानसम्मान र पैसा भएको पेशाका रुपमा ब्याख्या गरिन्छ । तर, अमेरिकामा बास्केटवल, फुटवल खेलाडीको जस्तो नाम र दाम कसैको पनि हुन्न । हाम्रो समाजमा कसैले म बास्केटवल खेलाडी बन्छु भन्यो भने जुनसुकै बाबुआमालाई स्वीकार्न निकै कठिन पर्छ । त्यसैले कुन पेशामा नाम र दाम छ भन्ने कुरा देश र समाजअनुसार फरक फरक छ । बिश्व नै एउटा सानो गाउँ बनिरहेको अबस्थामा कुनै एक पेशालाई मात्र उच्च कोटीको भन्न सकिँदैन् । त्यसैले कुन पेशा अपनाउने भन्ने कुराको मापक नाम र दाम हैन छोराछोरीको खुसी हो ।

मानिलिउँ, बाबुआमाले भनेअनुसार डाक्टर, इन्जिनियर, पाइलट वा बैंकर नै बन्नुभयो तर उहाँ जीवनभर खुसी हुन सक्नुभएन भने बाबुआमा कसरी सन्तुष्ट हुने ? मैले कैयौं साथीहरु भेटेको छु जसले बुबाले भन्नुभयो, आमाले भन्नुभयो त्यसैले डाक्टर बनेको भन्नुहुन्छ । उहाँहरु जिन्दगीमा खुसी हुनुहुन्न ।

मेरो छोरी पनि ठूली भइसकिन, अब उनलाई मैले डाक्टर बन्न भनेँ तर उनी त्यसमा खुसी छैनन भने म सन्तुष्ट हुन सक्दिन् । यदि उनको रुची कलाकार बन्नुमा थियो भने उनलाई कलाकार नै बन्न दिँदा म पनि खुसी हुन्छु र छोरी पनि ।

खुसी भन्दैमा अहिले नै हलिउड र बलिउड गएर अभिनय गर्छु भन्ने सपना देख्नु भएन । खुसी र आफ्नो क्षमतालाई पनि हेर्नुपर्छ । मेरो दृष्टिकोणमा त कुनै पनि पेशा नराम्रो, कुनै उच्चकोटीको पेशा कुनै निम्नकोटीको भन्ने लाग्दैन । सबै पेशाको समाजमा उत्तिकै सम्मान छ, सवै पेशामा भएकाले उत्तिकै नाम र दाम कमाएका छन् ।

उदाहरणका लागि अहिले कुनै बच्चाले म राजनीति गर्छु भन्यो भने बुबाआमाले गाली गर्नुहुन्छ । तर, पछि त्यही छोराले कुनै दिन म त अर्थमन्त्री भएँ नी बुबा आमा भन्यो भने उहाँहरु कति खुसी हुनुहुन्छ ? अहो मेरो छोराले क्या इज्जत राख्यो, ठूलो मान्छे भयो भन्नुहुन्छ । आज कसैलाई साइन्स पढाउन जोड गर्ने, त्यसमा बच्चाको रुची हुँदैन अनि भोलि गएर साइन्स पढाउन खोजेको थिएँ तर सकेन भनेर किन जिन्दगीभर असक्षमको भारी बोकाउने ? यो सकिन त्यसैले यो पढेँ भनेर तपाईले छोराछोरीको जिन्दगीलाई सधैभरी हीन भावनाले ग्रस्त बनाउने काम कुनैपनि बाबुआमाले गर्नुहुँदैन् ।

जिन्दगी भनेको फिल्म हेरेजस्तो हैन् । कुनै फिल्म मन पर्दैन, तर साथीले भन्यो भनेर हेरिदिएजस्तो हैन । जिन्दगी एउटै छ यो जिन्दगीलाई खुसी राख्न आफुलाई मनपर्ने काम गर्नुपर्छ, आफुलाई मनपर्ने बिषय पढ्नुपर्छ ।

हवी र प्रोफेसन फरक हुन्

म्यानेजमेन्ट पढ्न चाहानुहुन्छ भने मेरो सुझाव छ, तपाईहरु बैंकमा बोनस पाइन्छ, धेरै तलव हुन्छ भनेरमात्र नआउनुस् । म्यानेजमेन्ट भनेको रिसोर्स म्यानेजमेन्ट हो ।

त्यो भन्दैमा आफुलाई जे चिज मनपर्छ त्यहीमात्र गर्छु भनेर पनि हुँदैन् । आफ्नो हवी र प्रोफेसन यी दुई बेग्लाबेग्लै कुरा हुन् । हवी के हो र प्रोफेसन के बनाउने हो त्यसमा प्रष्ट हुनुपर्छ । हवीले मात्र हुँदैन, त्यसमा खरो उत्रिन सक्ने तपाईसँग क्षमता पनि छ कि छैन, क्षमता बिकाश गर्ने ठाउँ र सम्भावना छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ । हलिउडमा अभिनय गर्ने इच्छा सवैलाई हुन्छ तर सवैको त्यो क्षमता हुँदैन् ।

तपाईसँग जिन्दगीमा सवै कुराको ज्ञान, सीप र क्षमता हुन्छ भन्ने हुँदैन् । तपाईसँग एउटा सीप वा क्षमता हुन्छ त्यसैलाई अगाडी बढाउँदै लैजाने हो । तपाईको वीकनेस जे छ त्यो छाडिदिनुस, त्यो स्ट्रेन्थ जे हो त्यसलाई समातेर अगाडी बढ्नुस् । तपाईलाई म्याथमा निकै रुची तर अग्रेजी आउँदैन भने छाडिदिनुस अंग्रेजी राम्रो बनाउने चक्कर । किनभने तपाईले अंग्रेजीको जति ट्युसन लिए पनि अंग्रेजीमा अब्बल बिद्यार्थीभन्दा अगाडी जान सक्नुहुन्छ । तर, म्याथमा तपाईले धेरै गर्न सक्नुहुन्छ ।

के बिषय पढ्यो भने राम्रो रोजगारी पाइन्छ, धेरै अबसर पाइन्छ, धेरै पैसा कमाइन्छ र सजिलो गरि राम्रो जिन्दगी जिउन सकिन्छ भन्ने चासो सवैको हुन्छ । तर अहिले ग्लोबल मार्केटमा एउटा देशमा अवसर नभए अर्को देशमा छन् ।

अहिले धेरै बहिनीहरु देख्छु जसले अमेरिका, अष्ट्रेलियामा राम्रो रोजगारी पाइन्छ भनेर नर्सिङ पढिरहनुभएको छ, कति म्यानेजमेन्ट वा अकाउन्टिङ पढ्नेहरुले खाडी मुलुकमा अबसर पाइन्छ भन्ने दिमागमा राखेर पढिरहनुभएको छ । त्यसैले अबसर जहाँ पाइन्छ त्यहाँ गएर काम गर्ने हो । पहिलो कोसिस नेपालमै गर्नुस् । नेपालमा सन्तुष्ट हुन सकिएन भने विदेशमै बसेर नेपाललाई नसराप्नुस् । नेपालमा तपाईलाई मिल्ने वातावरण बनेपछि फर्किएर आउनुस् । सीप र पैसा लिएर आउनुस, नेपालमा लगानी गर्नुस् । तर मनमा कुण्ठा पालेर नेपाललाई गाली गर्दै नबस्नुस् ।

ग्लोवल मार्केटमा जाँदा यहाँजस्तो भनसुन र नाताको सिफारिसले त अबसर पाइदैन् । आफ्नो क्षमताका आधारमा काम पाउने हो । तपाईले त्यहीअनुसार सीप बिकाश गर्दै जानुपर्छ ।

जसले म्यानेजमेन्ट पढ्न चाहानुहुन्छ उहाँलाई मेरो सुझाव के छ भने तपाईहरु बैंकमा बोनस पाइन्छ, धेरै तलव हुन्छ भनेरमात्र नआउनुस् । म्यानेजमेन्ट भनेको रिसोर्स म्यानेजमेन्ट हो । त्यसभित्र पैसासँगै जनशक्ति ब्यबस्थापन चाहिं मुख्य कुरा हो । यो क्षेत्रमा अब्बल ठहरिने हो भने तपाईसँग मान्छेलाई ब्यबस्थापन गर्ने क्षमता हुनुपर्छ, तपाईसँग इन्टरपसर्नल कम्युनिकेसनको शीप हुनुपर्छ । त्योसँगै यो पनि भुल्नु हुन्न की म्यानेजमेन्ट भनेको एउटा कला हो । यो जिन्दगीबाटै सिक्नुपर्छ, कितावी ज्ञानले मात्र हुँदैन् ।

राम्रो नम्बर ल्याएर, किताव घोकेरमात्र राम्रो म्यानेजर हुन्छु, राम्रो जागिर पाउँछु भनेर सोच्नु हुँदैन । त्यसैले हामीले जहिले पनि नयाँ मान्छे हायर गर्दा जहिले पनि लिखित परिक्षापछि ग्रुप डिस्कसन गराउँछौं, टीमवर्कमा कतिको भिज्न सक्छ भनेर उसको सीप परिक्षण गर्छौ । यसले कसरी सवै चिजलाई म्यानेज गर्न सक्छ भन्ने कुराले नै उ सफल म्यानेजर बन्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्ने हो । सैद्धान्तिक ज्ञानले तपाईलाई जग त दिन्छ तर जिन्दगीबाट सिकेकै सीप र कलाले घर बनाउने हो ।

नेपालमा पनि ब्यबस्थापन क्षेत्रमा निकै धेरै अबसरहरु देख्छु म । सरकारी तथा निजी संस्थाहरुमा, बैंक बित्तिय संस्थाहरुमा जताजतै ब्यबस्थानको सीप भएको मान्छेको अबसर छ । त्यतिमात्र हैन, नेपालका राजनीतिमा पनि ब्यबस्थापन पढेका मान्छेको अभाव छ । उहाँहरुले जेजति जिन्दगीबाट सिक्नुभयो, त्यहीअनुसार नेपालको राजनीतिलाई ब्यबस्थापन गरिरहनुभएको छ, सैद्धान्तिक ज्ञानको अभाव उहाँहरुलाई पनि छ । नयाँ पुस्ताले म्यानेजमेन्ट पढेर राजनीतिमा जानुभयो भने मुलुकले कुसल राजनीतिज्ञ पाउने छ ।

धेरै आतंकित नबनौं

कहिलेकाहीँ हामी आफ्नो लक्ष्यबारे ओभर फोकस्ड हुन्छौं । म डाक्टर बन्छु, म बैंकर बन्छु, म इन्जिनियर बन्छु भनेर किटानै गरेर अघि बढ्छौं । तपाईको जिन्दगी टाप लगाएको घोडाजस्तै हुनुहुँदैन । टाप लगाएको घोडाले अगाडि मात्र देख्छ, दायाँबायाँ देख्न सक्दैन । हुनसक्छ उसको छेउछाउँ निकै ठूला ठूला अबसर होलान, निकै आनन्दको जिन्दगी होला । तर ती अबसर गुम्छन् ।

त्यसैले तपाईले यही नै बन्नुपर्छ भनेर ओभर फोकस्ड भएर टाप लगाएको घोडाजस्तो नबन्नुस, यो तपाईको जिन्दगीको अन्तिम प्रवेशद्वारा हैन ताकि तपाई र्फकनै नसक्नुहोस् । तपाई एउटा बिषयमा रुची लागेन वा त्यो भन्दा ठूलो अबसर अर्को क्षेत्रमा देख्नुभयो भने पेशा नै परिवर्तन पनि गर्न सक्नुहुन्छ ।

मैले त्यस्ता धेरै पेशाकर्मी भेटेको छु जसले आफुले बर्षौं पढेको पेशा छाडेर अर्कै पेशामा लाग्नुभएको छ र त्यसमै खुसी हुनुहुन्छ । तर तपाईलाई जतिबेला लाग्छ कि यो क्षेत्रमा अवसर छैन, वा म यो पेशामा खुसी रहन सक्दिँन वा योभन्दा अर्को पेशामा म रमाउन सक्छु र सीप पनि छ भन्ने लाग्छ, त्योबेला निर्णय गरिहाल्नुस् र बाटो बदल्नुस् । जिन्दगीलाई बदल्ने अनेक मोडहरु हुन सक्छन् । अहिलेको निर्णय नै अन्तिम हो, यसमै जिन्दगी बिताउनुपर्छ भन्ने छैन । बिबाह त डिभोर्समा पुगेर समाप्त हुन्छ भने अरु चीजलाई करेक्सन गर्न सकिन्न भन्ने छैन् । करियरका बिषयमा धेरै आतंकित हुनु जरुरी छैन, तर ठण्डा दिमागले सोंचेर निर्णय लिंदा राम्रो हुन्छ ।

मैले ओ लेभल पास गरेपछि के पढ्ने भन्ने बिषयमा मेरो बुबा आमाले मलाई कहिल्यै पनि फोर्स गर्नुभएन । मलाई ब्यबस्थापनमा रुची थियो, मैले यही क्षेत्रको अध्ययन गरेँ । बैंकर बन्छु भन्ने त मलाई बैैंकमा जागिर खाने बेलासम्म पनि थिएन । अब मेरो छोरीलाई पनि म यही पढनुपर्छ भनेर फोर्स गर्दिन । यो पढ्दा राम्रो हुन्छ भनेर सुझाव दिन्छु तर मुख्य कुरा माथि मैले भनेजस्तै उनी जे बिषय पढ्दा खुसी हुन्छिन, त्यही पढ्न दिन्छु । तर, जे पढ्ने त्यसमा अब्बल हुनुपर्छ, राम्रो गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment