Comments Add Comment

वैदेशिक ऋणमा डुबेको ग्रिस पुग्दा यस्तो देखियो

grece-crises

शशी पौडेल (एथेन्स, ग्रिसबाट)

यो हप्ता म एकजना पत्रकार मित्रको निमन्त्रणामा ग्रिसको राजधानी एथेन्समा छु । वैदेशिक ऋणमा डुबेको ग्रिस अहिले युरोपियन युनियनले आर्थिक सहयोग गरेन भने राज्य असफल हुने अवस्थामा पुगेको छ ।

विगत ६ महिनाअघि सम्पन्न निर्वाचनमा ग्रिसमा वामपन्थी पार्टीले बहुमत ल्याई सरकार गठन गरेका दिनदेखि युरोपियन युनियनले ग्रिसलाई आर्थिक सहयोग नगर्न निहुँ खोजिरहेको छ । मलाई यसै कारणले पनि एकपटक गि्रस जाने रहर लागिरहेको थियो र यहाँ पुगेर यहाँका जनतासँग के ग्रिसमा बामपन्थी पार्टीको सरकार बन्नु एक बिडम्बना भएको हो त भनेर अन्तरंग छलफल गर्न मन लागिरहेको थियो ।

यसैबीच “हटडोक” म्यागाजिनका सम्पादकबाट एक हप्ताका लागि ब्यक्तिगत निमन्त्रणा पाएपछि म ग्रिसमा आइपुगेको हुँ । उनीकहाँ पुगेकै दिन हिजो उनले आफ्ना बुबासँग भेट गर्ने कार्यक्रम बनाए । उनका बुबा ९० बर्ष पुग्दै रहेछन् । उनले एउटा विश्वयुद्ध, एउटा गृहयुद्ध र दुईवटा तानाशाहहरुको राज्य भोगेका रहेछन् । उनले ६० वर्षभन्दा बढी समय एकजना निर्माण मजदुरका रुपमा बिताए पनि उनले आफ्ना तीनजना छोराछोरीहरुलाई भने स्कूल, कलेज र बिश्वबिद्यालय पढाएका रहेछन् । लगभग एकहप्ता अघि उनले झण्डै झण्डै अन्तिम स्वास लिएका रहेछन् ।

जब उनलाई स्थानीय अस्पतालमा पुर्‍याइयो, अस्पतालमा सयौं बिरामीहरु लाइनमा लागेर बसिरहेका रहेछन् । उनी पनि लाइनमा लागेछन् ।
उनको परिवार र उनले नाजीताकाको आतंक पनि सहेका रहेछन् । नाजी युद्धताका गि्रसमा नाजीहरुको मिलिजुली सरकार थियो । यद्यपि त्यसअघि नै ग्रिस स्वतन्त्र राज्यका रुपमा घोषणा भैसकेको थियो । त्यतिबेला त्यहाँको प्रजातान्त्रिक भनिने पार्टीले जनतालाई कम्युनिष्टको डर देखाएर नाजीहरुसँग मिलिजुली सरकार बनाएको रहेछ ।

त्यतिबेला ग्रिसले एउटा मार्सल प्लान बनाएर केही आर्थिक उन्नती पनि गरेको रहेछ । तर, आफ्नै सरकारका पालामा त्यो उन्नतीलाई अवनतितिर पनि धकेलेका रहेछन् ।

मजदुरको आँखाबाट ग्रिसलाई हेर्दा

लेखक शशी पाैडेल
लेखक शशी पाैडेल

एउटा सामान्य मजदूरले तीन तीन जना छोराछोरीलाई कसरी उच्च शिक्षा हासिल गराउन सफल भए भन्ने मैले चासो राखें । उनले भने “म कहिल्यै शिराटाकी नाच नाच्न गइँन (शिराटाकी नाच ग्रिसको जननाच मानिन्छ) । अथवा म घण्टौं समुद्री किनारको बगरमा गीत सुन्न गइँन । फुर्सदको समयमा मैले बरु मुलुकलाई केही दिन सकिन्छ कि भनी चिन्तन गरें । मैले कहिल्यै मेरो आफ्नो कमाइभन्दा बढी खाइँन अर्थात उपभोग गरिँन ।”

कुराकानीका क्रममा उनले घमण्डी धनी राजनीतिज्ञहरुकोे खुलेर बिरोध गरे । उनले बिदेशमा ग्रिसबारे जुन अफवाह फैलाइएको छ, त्यसमा युरोपियन युनियनलाई दोषी ठहर्‍याए ।

यसैबीच छोरा चाहिँले भन्न थाले “मैले मेरा बुबाको अनुहार हेर्दा अलेक्सिस् सोर्बास् झलभली सम्झिन्छु ।

(अलेक्सिस् सोर्बास् नामक ग्रिसको फिल्म सत्तरीको दशकमा अत्यन्त चर्चित थियो । फिल्ममा एकजना जीवनको बाटो नभेटाएको मान्छे हुन्छ, र त्यसले अलेक्सिस् सोर्बासलाई भेट्छ अनि अलेक्सिसको सहयोगले उसले आफ्नो लक्ष भेटाउँछ । फिल्मले ग्रिसको बौद्धिक जगतलाई चुनौती दिँदै धनपैसाले होइन, आफ्नो कार्यले मान सम्मान र इज्जत राख भन्ने सन्देश दिन्छ ।)

हुन पनि ती बृद्ध कुनै कुरा घुमाएर गर्न नचाहने रहेछन् । छोराले अगाडि भन्दै गए, लगभग विगत पाँच बर्षदेखि मेरा बुबाले मलाई हरेक दिन टेलिफोन गरेर सोध्नुहुन्छ हाम्रो मुलुकमा के हुँदैछ ? मेरा नातिनातिनाहरु कुनै मुलुकको नोकरशाहको चाकरीमा खटिनु पर्ने त हैन ? अथवा कतै तेस्रो विश्वयुद्ध बेहोर्नु पर्ने त होइन ? आदि आदि ।

नेपालमा भन्दा भिन्नै अवस्था

हुन पनि हो, ग्रिसमा लगभग पाँच वर्षदेखि आर्थिक सून्यता छाएको छ । कर्मचारीलाई तलब दिने रकम छैन । अस्पतालमा औषधी छैन । पेन्सन अर्थात बृद्धभत्ता दिने पैसा छैन । ग्रिस खासगरी पर्यटन उद्योगमा आश्रति छ ।

ग्रिसमा नेपालमा जस्तो गरीव भए पनि सानोतिनो खेतीपाती गरेर जीबिकोपार्जन गर्ने भन्ने छैन । ग्रिसका जनताले या त जागिर खानुपर्छ, या त आफ्नै उद्योग ब्यबसाय हुनुपर्छ, यदि त्यसो भएन भने पूर्णरुपमा सरकारमा आश्रति हुनुपर्छ ।

विगत पच्चीस बर्षअघि युरोपियन एकतापछि युरोपका दक्षिणी मुलुकहरुमा डर, त्रास र गरीबिले घरजम बसाएको छ । युरोपियन युनियनसँग भएका आइडिया र मानबताका पक्षका प्रस्ताबहरु लागु गर्ने क्षमता छैन । बरु त्यसको बदला एउटा लेखापालले जस्तै कति पैसा कहाँ गयो, कति पैसा केका लागि गयो भन्ने हिसाव किताव बाहेक अन्य मानवता र जीउने सवालमा खर्चेको थाहा छैन ।

यो सत्य हो कि युरोपका दक्षिणी मुलुकहरुमा यो अवस्था आउनुमा यहाँका सरकारहरु जिम्मेवार छन् । तर, जब युनियनका नाममा एक भैसकेपछि र युनियनको आफ्नै संसद गठन भैसकेपछि यसको जिम्मेवारी युरोपियन युनियनले पनि लिनुपर्ने हो ।

ग्रिस अहिलेको अवस्थामा ऋण तिर्न सक्षम छैन । तर, यदि उसले यही जूनको ३० तारिकसम्म ऋणको केही प्रतिशत फिर्ता गरेन भने राज्य असफल हुनेछ । यदि त्यसो भयो भने ग्रिस युरोपियन युनियनबाट बाहिरिनेछ । यदि ग्रिस युरोपियन युनियनबाट बाहिरियो भने यसको असर समग्र युरोपलाई पर्नेछ ।

पैसाजति स्वीस बैंकमा

ग्रिसमा विगत बर्षहरुमा कन्जरभेटिभ पार्टीले सरकार चलाउँदै आएको थियो । त्यसबीचमा गि्रसमा लगभग दुई हजार पाँचसय ब्यक्तिहरु मल्टी बिलिनियर बनेछन् र उनीहरुले त्यो पैसा स्वीस बैंकमा पुर्‍याएपछि ग्रिसको यो अवस्था हुन पुगेको हो ।

पाँच बर्षअघि गि्रसमा आर्थिक समस्या परेपछि ट्रोइका (ओदान) नामक तीनवटा संस्था (युरोपियन केन्द्रीय बैक, अन्तरराष्ट्रिय मुद्रा कोष र युरोपियन कमिसन)ले ग्रिसलाई आर्थिक सहयोग दिने सम्झौता गरे र ऋण उपलब्ध गराउँदै आएका थिए । त्यतिबेला गि्रसमा कन्जरभेटिभहरुको सरकार थियो ।

ट्रोइकाको जनविरोधी शर्त

बिगत ६ महिनाअघि भएको निर्वाचनमा बामपन्थीहरुले बहुमत ल्याई सरकार बनाएपछि अचानक ट्रोइकाले ऋण उपलब्ध नगराउने भएको हो ।

ट्रोइकाका अनुसार गि्रसले भ्याटमा बृद्धी गर्नुपर्ने, पेन्सन कट्टा गर्नुपर्ने, औषधीमूलोमा मूल्यवृद्धि गर्नुपर्ने आदि आदि शर्तहरु राखेको छ ।उता ग्रिस सरकारले भने त्यसो गर्दा जनतालाई अझ बढी भार पर्ने भएकाले त्यसो गर्न नसक्ने बताउँदै आएको छ ।

ग्रिसमा यसै पनि युरोपका अन्य मुलुकहरुमा भन्दा चर्को भ्याट रहेको छ । जस्तै ग्रिसमा २३ प्रतिशत, जर्मनीमा १९ प्रतिशत, बेलायतमा २० प्रतिशत भ्याट रहेको छ । ग्रिसमा फरक के छ भने औषधी र न्यूनतम आवश्यकता पर्ने खाद्य पदार्थमा ६ प्रतिशत मात्रै भ्याट लाग्छ ।

असर अरु देशमा पनि पर्न सक्छ

यदि ग्रिस युरोपियन युनियनबाट बाहिरियो भने यसको प्रतिकूल असर पूरा युरोपमा पर्ने छ । किनभने इटली, स्पेन र पोर्चुगलमा युवा बेरोजगारहरुको संख्या झण्डै ४० प्रतिशत पुगेको छ । जसरी २००८ मा अमेरिकामा लेहमान ब्रदर्श बैंक एकपछि अर्को ब्यांकरप्ट भएका थिए, जसले बिश्वको अर्थतन्त्रमा प्रतिकूल असर पारेको थियो ।

वृद्ध ग्रिसेलीमा नयाँ दिनको आशा !

यतिबेला ग्रिसका जनता द्विविधामा परेका छन् । उनीहरुले सरकारबाट केही लिनुभन्दा पनि मुलुकलाई के दिन सक्छु भनेर लागि पर्नुपर्नेबेला आएको छ । किनभने, अब ग्रिसका जनताका लागि राष्ट्रियता, राष्ट्रिय मान र मर्यादा बाहेक हार्नुपर्ने भन्ने केही रहेन ।

यी ९० बर्षीय बृद्धले गि्रसका जनतालाई यही सन्देश दिन चाहे । उनी भन्छन्-यदि गि्रसका जनता अबका दिनमा स्वार्थी नभै मुलुकका लागि केही दिन्छु भनी कटिबद्ध भए भने मुलुकमा नयाँ दिन उदाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment