Comments Add Comment

केपी ओलीको पक्षमा, माधव नेपालको विपक्षमा

प्रा.डा. बद्रीविशाल पोखरेल
केही दिनअघि नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.यादव लामिछानेको नेतृत्वको प्रतिनिधि मण्डल एमाले पार्टी अध्यक्ष के.पी.शर्मा ओलीसित भेट्न गर्‍यो । उनीहरूले ओलीसमक्ष निकट भविष्यमा त्रिविमा रिक्त हुने उपकुलपतिमा प्रगतिशील समूहको पुनः दावा प्रस्तुत प्रस्तुत गरे । तर, ओलीले  प्रतिनिधिमण्डललाई  पटक-पटक उपकुलपतिमा दाबा गर्नुको औचित्य पुष्टि गर्न आग्रह गरे ।
Badribishal pokhrelओलीले यस समूहलाई नै किन र केका लागि उपकुलपति बनाउने  ? अहिलेसम्म प्रगतिशील पक्षले  त्रिविमा  केके उल्लेखनीय कार्य  गर्‍यो यसको फेहरिस्त बुझ्न चाहेछन् । यसको वस्तुगत र ठोस जवाफ नहुँदा प्रतिनिधिमण्डल मौन बस्नु परेको एक सन्दर्भमा लामिछानेले यस लेखकलाई बताएका थिए ।

केपी ओलीको यसखालको नीति र नेतृत्वबाट एमालेलाई अझ आशा र भरोसालाग्दो पार्टी बनाउने सूक्ष्म संकेत पाइन्छ भने अनेक प्रायोजित चलखेलका आधारमा पार्टीभित्र पद, पैसा र प्रतिष्ठाका लागि स्वार्थी समूह बनाउनेहरू आतङ्कित हुन थालेको आभास हुन थालेको छ ।

यसखालको शुद्धीकरण सोचमा उपल्लो तहका पार्टी नेताले ओलीलाई केकति साथ सहयोग गर्लान् ? यसैमा एमालेको सुन्दर र कुरुप भविष्य निर्भर रहने छ । यस कुराले देशको भावी जीवनमा पनि अवश्यै प्रभाव पार्नेछ ।

यो सन्दर्भ ओलीसितमात्र जोडिएको होइन, जननेता मदन भण्डारीले पनि अनेक प्रसंगमा पार्टीभित्र उपल्लो नेतृत्व तहका आर्थिक,नैतिक र आचरणगत विचलनका विरुद्ध कडा व्यवहार अपनाउँथे र नै पार्टीमा विचलनले टाउको उठाउन पाएको थिएन ।

ओलीले पहिलैदेखि मदनको पदचाप पछ्याइरहेको आभास हुन्थ्यो ।  उनले लेखेको  जबज र पार्टीको लोकतान्त्रीकरण नामको पुस्तकाकार कृतिको अध्ययनबाट ओलीको सैद्धान्तिक समर्पण, सिर्जन, निष्ठा र व्यक्तित्वका अनेक कष्टकर कहरबारे स्पष्ट जानकारी हुन्छ ।

केपी ओली उपल्लो तहका आफैंले काँध हालेर अत्युच्च पद र प्रतिष्ठामा विराजमान गराएका अमूक नेताबाट मौका हेरी हेरी मनोवैज्ञानिक रुपबाट समेत विशेष  प्रताडीत व्यक्तित्व हुन् । नवौँ महाधिवेशनपछि पनि ती अमूक वरिष्ठ नेता ओलीप्रति प्रत्यक्ष वा परोक्ष रुपमा लाञ्छित गर्दै हिँडिरहेकै छन् ।

उपर्युक्त कृतिबाट ओली जस्तासुकै असत्य    आरोप, घात, प्रतिघात, अपमान र भुक्तमान सहेर जबज अनुसार नेतृत्व गर्न सतिसालझैँ उभिने सामर्थ्यका नेता रहेछन् भन्ने स्पष्ट हुन्छ । उनी पार्टी अध्यक्ष भएपछिका गतिविधि नियाल्दा विगत र वर्तमानमा निक्कै फरक भएको कार्यकर्ता बताउँछन् । यसरी अगाडि बढ्ने हो भने एमाले साँच्चै एमालेजस्तो हुने कुरामा कुनै शंका देखिन्न ।

जबज अनुकूल राजनीति र राजकीय नेतृत्व गर्ने सोचका साथ एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले गम्भीर पहल गरिरहेको एकथरि बताउँछन् । अर्काथरि ओलीले एकलौटी ढंगले पार्टी र सरकार सञ्चालन गरेको गुनासो गर्छन् । ओली अध्यक्ष भएपछि दुईजना संस्कृति तथा पर्यटन मन्त्रीसहित उद्योग मन्त्रीले पदबाट हात धुनुपरेको जगजाहेर छ । यसरी मन्त्रीपदबाट ठोस कारणबिना  निष्काशन वा राजीनामा खोलाँची बिषय नै होइन । राजीनामा दिएका र निष्काशन गरिएका सबै मन्त्रीले आफूमाथि अन्याय भएको फिराद पार्टीमा नगर्नु स्वयंमा सोचनीय रहेको छ । मौन रहनु पनि समर्थन हो । हुलहालका आडमा पार्टी अध्यक्षसित अटेरी गर्नु बेग्लै कुरा हो तर बेइमानी अडानलेे खासै ठुलो अडिलो  आड नै पाउँदैन । यसो हुन्थ्यो भने यो संस्ाारमा आजसम्म सत्यता र इमान्दारिता भन्ने कुनै कुरा रहने थिएन ।

यसै बीचमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आफैं विवादको भुँवरीमा परेका छन् । अथवा उनी ग्रान्ड डिजाइनमा परेका वा पारिएका छन् । एकसाथ दुई होनहार नेता र कार्यकर्तालाई ग्रान्ड डिजाइनले समाप्त पार्ने भयो । पौडेललेे मन्त्रालय मार्फत् एकलौटी खेलकुद क्षेत्रमा पटक-पटक विवादमा परेका तथा कार्यवाही भुक्तान नभइसकेका व्यक्तिलाई सदस्य सचिव बनाएको विषय अहिले चर्चाको शिखरमा रहेको छ । यसमा ओलीले सम्बन्धित मन्त्रीलाई फिर्ता बोलाउने सम्मका काम गर्ने सुरसार देखिएको छ ।

एकथरि ओलीले लबीका आधारमा पक्ष विपक्ष हेरेर यसखालको हस्तक्षेप गरेको बताउँछन् तर अर्काथरि ओली मेरो र तेरो गुट नभनी एमालेको इमान्दार छवि जोगाउन लागि परेको बताउँछन् । किनभने कार्यवाहीमा परेका उद्योग मन्त्री ओली निकट रहेको यथार्थ आम कार्यकर्ता बताउँछन् ।

जननेता मदन भण्डारीले उहिल्यै अवसर नपाएर इमान्दार हुनु र अवसर पाएर इमान्दार हुनुमा आकास पातालको अन्तर छ भनेका थिए । यही दिशामा ओली नेतृत्व अगाडि बढ्न थालेको संकेतका रुपमा अहिलेका घटनालाई हेर्न थालिएको छ । पूरै चलचित्र नहेरिकन कास्टिङका भरमा अहिले नै ओली राप, ताप र प्रतापको बखान गर्नु अलि हतार होला तर दिउँसोको संकेत भने बिहानीले दिएको प्रबुद्ध कार्यकर्ता बताउँछन् ।
खेलकुद सचिव नियुक्ति प्रकरणमा वरिष्ठ नेता माधव नेपालको दृढ समर्थन रहेको आम सञ्चारमा आएको छ । उनको विगत हेर्दा पत्याउन सकिने धेरै तथ्य र प्रमाण रहेका छन् । नेपालका बाल्यसखा  अमूक प्राध्यापकले निक्कै लामो समय त्रिविमा परोक्ष हालीमुहाली गरे । परिणाम प्रगतिशील समूहको कहिल्यै शीर उठ्न सकेन ।

नेपालकै कृपामा हाल त्रिविमा पूर्वाञ्चल परीक्षा सहनियन्त्रकमा नियुक्त व्यक्तित्वको गुहृय चारित्रिक आयामबारे विराटनगरवासी बौद्धिक वर्ग छर्लङ्ग छन् । यस विषयमा अरु थप खुलासा गर्ने शब्दावली शब्दकोशमा पनि पाइन्न् । यसखालका पारदर्शी कार्यकर्तालाई काँध हालेर  नेपाल  कुन लक्षतिर उन्मूख हुँदैछन् ? उनै जानुन् तर अब नेपालको नितान्त निजी लक्ष धेरै टाढाको विषय रहेन । नेपालज्यू खुसी ,खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्दैन । क्षय रोग पालेर दीर्घायु भइँदैन । लिपापोतीका भरमा लामो यात्रा तय गर्न सकिँदैन । तपाईंहरू फलामे अनुशासन भएका भनिएका आम इमान्दार कार्यकर्ता र नेतालाई रछ्यानमा झार्न उद्यत हुनुहुँदैछ ।

केशव बिष्ट एक होनहार सशक्त र इस्पातिला युवा व्यक्तित्व हुन् । जसरी चेपारे माया गरेर अभिभावकले सन्तानलाई परोक्ष रुपमा बिगार्छन्, ठीक त्यसरी नै यसखालको पवित्र काममा तपाईं उहिल्यैदेखि लाग्नुभएको स्पष्ट भएको छ । यो तपाइर्ंमा उहिलेदेखिको रोग हो । हिजोआज प्रकट भएको रोगले यसरी चाप्दैन । यो पनि जबज अनुसार नहिँडेर लागेको संक्रामक रोग हो ।  नत्र कम्तिमा अलिकति लाज, घीन र सरम राखेर काम गर्नुपर्ने ।

यस पार्टीमा अलिअलि इमान्दारिता भएका मानिस अब बच्न गाह्रो हुने भयो । तपाईंहरूकै प्रभावमा परेर एउटा सर्जकले अमूक पदमा पारदर्शी रुपमा सिफारिस गरिएका ज्येष्ठ सर्जक र कलाकारको नाम टिपेक्स लगाएर  हत्याए । उनैलाई पुर्वसंस्कृति मन्त्री आचार्यले समितिको सिफारिस विपरीत अर्का वरिष्ठ समालोचकको नाम आफैँले मेटेर प्राज्ञ बनाए । याद गर्नुहोस् झुटो धेरै दिन टिक्तैन ।

ओलीले सातौँ महाधिवेशनमा राखेको लोकतान्त्रिक तथा जनवादी सांगठानिक नीति  आठौँमा आएर भए पनि नाकका चालले पारित गर्नुभयो ।  माओवादी उग्रतालाई ओलीले झैँ बेलैमा एकस्वरमा राष्ट्रव्यापी सघन वैचारिक अभियान चलाएको भए सबैको कल्याण हुन्थ्यो । तपाईंहरूको लुर त देखिहालियो । अहिले पनि नेपाल नवौँँ महाधिवेशनमा आफू पराजित भएको पीडामा छटपटाइरहेको देखिन्छ । यत्ति सारो कमजोरी यस लेखककले आजका दिनसम्म देखेको थिएन । जे कुरा पनि सिधै भन्दा हुन्छ, काइते कुरा कम्युनिष्टलाई सुहाउँदैन । ककसलाई के कति खान मन छ, कार्यकर्ता बरु आफ्नू गाँस काटेर र आफूसित भएको चल अचल सम्पत्ति दिन तयार छन् । समाज बदल्न हिँडेको महान् नेता जब आफूलाई किञ्चित बदल्दैन, बरु आफूसितको जम्मै डप्फा कुरुप बनाउन आतुर देखिन्छ ।

केही महिनाअघि घनश्याम भुसाल विराटनगरमा आएर बुद्धिजीवीको एउटा सिलबरे डप्फालाई बेसरी पम्फु लगाएर गएछन् । उनकै इसारामा यो डप्फाले बेलाबेला विराटनगरमा रत्यौली खेलिरहेको छ । भुसालको मूल काम नै पार्टीमा प्रायोजित बखेडा गरिरहनुमा केन्दि्रत देखिन्छ । पार्टीका सारा जस र अपजसको मूल जिम्मेवार पार्टी अध्यक्ष हुन्छ । त्यसो हुँदा हिजोको अध्यक्ष मात्रै संस्थागत हो  भन्ने भुसालसित कुन तर्क बाँकी छ ?

नेपालज्यू, तपाईं पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुँदा कसैलाई आपत्ति भएन र छैन । अनि मदन भण्डारी फाउण्डेशन गठन गर्दा र त्यसको अध्यक्ष महिला नेतृ विद्या भण्डारी हुँदा तपाईंकै टाउको किन दुख्नुपर्ने ? मदन वा जबज के बिहान बेलुका मात्र जप्ने गायत्री मन्त्र मात्र हो ? फाउण्डेशन सामाजिक संस्था हो भन्ने थाहा हुँदाहुँदै यसका बारेमा किन भ्रमको खेती गर्न र गराउन रातोदिन  लागिरहनुहुन्छ   ?

प्रदीप नेपालले भनेझैँ वरिष्ठ नेताले सदासर्वदा बिनाबित्थाका र बेकामे कुरामा  गनगन गरिहन सुहाउँछ ? अहिले ओलीले जेजस्ता अडान लिइरहेका छन्,ती अहिले मानिलिउँ, असफल नै पारियो भने पनि भोलिका दिनमा अझ सत्य सावित हुनेछन् र भएका पनि  छन् ।

नेपालज्यू तपाईं एमालेमा कस्तो संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ ? सिद्धान्तनिष्ठले सिद्धान्तको कुरा गर्छ, नहुनेले सधैँ रडाको मात्रै मच्चाउँछ । आफू बिगि्रए पनि अरुलाई नबिगार्नुस् । तपाईं आÇना असम्भव महत्वाकांक्षाको अग्निकुण्डमा अरुलाई किन होम्नुहुन्छ ? युवाले अझै धेरै सिक्नु, देख्नु, भोग्नु र गर्नुछ । जन्मिन र हुर्किन नपाई युवाको गला नघोट्नु होस् । यही कुरा मनन गरेर नेता भीम रावल, गोकर्ण बिष्ट आदि विवेकसम्मत पार्टीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।  इमान भएका उपल्लो र माथिल्लो तहका नेता तथा बुद्धिजीवीहरू झ् यस्ता मामलामा उदात्त चेतका साथ गम्भीर भएर सोच्नुहोस् ।

तपाईंहरूले अलिकति विवेक राखेर काम गर्नुभयो भने यो मुलुक बन्न र बनाउन धेरै समय लाग्ने छैन । होइन, भातको भकारी मात्र हुने हो भने यस पार्टीको अब कुनै काम छैन ।
(इटहरी निवासी पोखरेल एमालेनिकट बुद्धिजीवी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment