Comments Add Comment

माधवले भूइँचालो ल्याउँछु भनेपछि केपीको प्रश्न-कति रेक्टरको ?

मात्रिका पौडेल
आजको दिन एमाले पंक्तिले आधुनिक एमालेका प्रणेता स्वर्गीय मदनकुमार भण्डारीलाई सम्झिने गर्थे । असार १४ गते जननेता मदन भण्डारीको जन्मदिन एमाले पंक्तिले बिगत २२ वर्षदेखि मनाउँदै आएको थियो । मदन बाँचिरहेका भए आज ६२ वर्ष पुग्थे । २०५० जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र जीवराज आश्रतिको निधन भएको थियो । मदनलाई सम्झिनुपर्ने दिन उनका अनुयायीहरु भने एकले अर्कोलाई ‘कि तँ छैनस्,कि म छैन’ भन्ने तहमा ओर्लिएर दन्तबझान गरिरहेका छन् ।

मदनका अनुयायीहरुको दन्त बझान उनले प्रतिवादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई लागु गर्ने वा देश बनाउने नाममा होइन । कुन व्यक्तिलाई कुन अड्डामा नियुक्त गर्ने वा हटाउने नाममा एमालेका शीर्षस्थहरु रामायणका बाली र सुग्रिमको स्टाइलमा कबच उतारेर भिड्दैछन् ।

Kp oli and Madhav Nepal

मदन भण्डारीका अनुयायीहरुले उनको जन्मदिनकै अवसर पारेर कलहको उपहार दिएका छन् । भण्डारीले विश्वकै कम्युनिस्ट आन्दोलन सन् ९० को दशकमा आरालो लागिरहेको बेला नेपालमा कम्युनिस्ट पार्टीको अस्थित्व रक्षाका लागि नविन बिचारको प्रतिपादन गरेका थिए । उनीमाथि लागेको संशोधनवादको आरोपलाई बेवास्ता गर्दै कम्युनिस्ट पार्टीले पनि बहुदलीय प्रतिस्पर्धामा आफूलाई श्रेष्ठ साबित गर्न सक्नुपर्छ र जनताबाट अनुमोदित हुनुपर्छ भन्ने मान्यतामा आधारित बिचारको प्रतिवादन गरे ।

दुर्भाग्यवश उनले जुन बिचारलाई जनताको बहुदलीय जनवाद भनेर पारित गराए, त्यसको प्रयोग नहुँदै उनको रहस्यमय निधन भयो । त्यसयता मदन भण्डारीको सच्चा अनुयायी को भन्ने विवाद एमालेमा आज पर्यन्त छ । मदनको अवसान लगत्तै माधवकुमार नेपालले करीव १५ वर्ष निरन्तर पार्टी सत्ता चलाए । त्यसपछि झलनाथले ५ वर्षको पालो पुर्‍याएपछि केपी ओली एमालेको सत्ता सन्चालनक बनेका छन बिगत एक वर्षदेखि ।

ओली र बामदेव गौतम एमालेमा आफूलाई मदन भण्डारीका वास्तविक उत्तराधिकारी हौं भन्ने गर्छन् । तर पार्टी सत्तामा भने मदनको उत्तराधिकारी बनेर माधव नेपालले शासन गरे, जसको कुण्ठा यी दुवै नेताहरुमा  लामो समयसम्म रहृयो । बामदेवले पार्टीनै फुटाएर केही वर्षपछि फर्किए भने ओली लगभग सधैं स्थायी प्रतिपक्षी बनेर नेपालसँग सिँगौरी खेलिरहे ।

यद्यपी संकटका बेलामा भने ओलीले सधैं माधव नेपाललाई साथ दिएको उनका समर्थकहरु पटक पटक भन्ने गर्छन् । २०५३ सालमा महासचिवबाट हटाउन बहुमत पुग्दा पनि ओलीले माधवलाई जोगाइदिए । २०५४ को छैटौं महाधिवेशनको बेला ओलीले माधवलाई काँध थापे । यद्यपी माधव पक्षधरहरु भने अेालीकै कारण बामदेव त्यसबेला पार्टी बिभाजनको तहमा पुगेको दावी गर्छन् ।

मात्रिका पाैडेल
मात्रिका पाैडेल

माधव नेपाल प्रधानमन्त्री बनाउन र पार्टीभित्रैबाट प्रधानमन्त्री विरुद्ध हस्ताक्षर चल्दा ओली उनको पक्षमा खडा भएका थिए । तर नवौं महाधिवेशनपछि ओली सत्तापक्ष र माधव विपक्षमा खडा भएका छन् । यसबीचमा अध्यक्ष केपी ओली विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आइतवार ओलीलाई फोन गरेर पार्टीमा भुइचाले ल्याउने धम्की दिए । खेलकुद परिषदको सदस्य सचिव नियुक्ति प्रकरणमा आफ्नो भनाइ नमानेको भन्दै ओलीले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई मन्त्रीबाट हटाउन लागेको सुइको पाएपछि नेपालले यस्तो धम्की दिनुपर्‍यो ।

ओली आफ्नै शैलीमा नेपाललाई ‘कति रेक्टरको भूइचालो ल्याउने ? ८ रेक्टरस्म्म त धानि सकियो’ भनेर आफू पछि नहट्ने सांकेतिक जवाफ दिएको चर्चा एमाले पंक्तिमा भूसको आगो झै सल्कियो । ओली नगल्ने संकेत पाएपछि नेपालले लगत्तै आफ्नो पक्षको भेला बोलाएर ओली विरुद्ध हस्ताक्षर संकलन थालिसके ।

मदन भण्डारीको जन्मदिनकै विहान नेपालले आफू निकट सभासदहरुको अलग्गै भेला बोलाएर ओलीसँग भिड्ने रणनीतिका बारेमा छलफल गरेका छन् भने ओलीले पनि विहानैदेखि निकटस्थहरुसँग सरसल्लाह गरे । मदनको जयन्तिमा पार्टीका शीर्ष नेताहरुले एकताको सन्देश देलान् भन्ने आशामा रहेका कार्यकर्तालाई निराश बनाउदै नेताहरु वार कि पारको अवस्थामा पुगेका छन् ।

ओलीले आफू अध्यक्ष भएको हुनाले सबैले मेरो निर्णय मान्नुपर्छ भन्ने शैली अँगालेका छन् भने नेपालमा १५ वर्षसम्म आफूले चलाएको पार्टी सत्ता गुमेको कुण्ठाले उनलाई आक्रामक बन्न बाध्य पारेको छ । त्यो भन्दा चर्को दबाब नेपालमाथि यो छ कि-बिभिन्न कालखण्डमा ओलीको कोपभाजनमा परेका र ओलीबाट प्रताडित भएकाहरुको ठूलो हिस्साले नेपाललाई साथ दिएको छ, उनीहरु ओलीको ‘स्वेच्छाचारी प्रवृति’ बिरुद्ध लडाईको शंखघोष गर्न उनीमाथि दबाब दिइरहेका छन् ।

ओलीलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री बनाउन लागेका नेपाललाई उनकै समूहका नेतृत्व तहकै व्यक्तिहरुले त्यस्तो गल्ति नगर्न औंलो ठड्याइसकेका छन् । नेपाल पक्षमा रहेकी एमालेकै सबैभन्दा कान्छी सदस्य रचना खड्काको एउटा भनाइले एमालेको विवाद कहाँसम्म पुगेको छ भन्ने संकेत गर्छ । उनी भन्छिन्-एमालेमा संस्थागत परिपाटी हाम्रो गहना थियो,बाहिर शीर ठाडो पारेर भन्न सकिन्थ्यो,हाम्रोमा सामुहिक नेतृत्व छ भनेर । तर अहिले त हाम्रो शीर निहुरिएको छ, अध्यक्षको स्वेच्छारिताले सिमा नाघिसक्यो,संस्थागत पद्धति एकतादेशमा सिमित भयो ।

महाधिवेशनबाट अध्यक्षमा चुनिए लगत्तै ओलीमाथि गुट चलाएको ढंगले पार्टी चलाउन खोजेको आरोप लाग्यो । संसदीय समितिका सभापतिहरुको चयन,सुकुम्बासी आयोगका अध्यक्षहरुको नियुक्ति,मन्त्रीहरुको बर्खास्ति र नियुक्ति जस्ता प्रकरणमा नेपाल पक्ष नोट अफ डिसेन्टको तहमा पुग्यो । नेपाल पक्षले देशैभरि समानान्तर संरचना चलाउने धम्की समेत दियो । तर ओलीले चलाखीपूर्वक पोलिटव्यूरो र स्थायी कमिटी गठनमा नेपाल पक्षलाई समेटेर पार्टीमा अस्थायी युद्धबिरामको अवस्था सिर्जना गरे ।

मदनले सिन्चाइ गरेको मौजामा अप्रत्याशित रुपमा रजाई गर्न पाएका नेताहरुको विकल्पमा देश सोच्ने नेतृत्व अघि नसारेसम्म एमाले यसैगति तदर्थवादमा चल्ने र पालो गरेर खाने संस्थाका रुपमा स्थापित हुनेछ

यसबीचमा राष्ट्रिय स्वयंसेवक अभियानका क्रममा एकढिक्का भएर मैदानमा होमिएका एमाले नेताहरु त्यो अभियान सकेर फर्किएको भोलिपल्टै लडाइको मैदान तयारु पार्दैछन् । ओली अध्यक्षलाई नटेर्ने मन्त्री राख्दिन भन्छन्, नेपाल त्यस्तो मन्त्रीलाई हटाए सडक संघर्षमा उत्रिने र भुइचालो ल्याउने धम्की दिन्छन् । यो लडाइको असर संविधान निर्माण प्रक्रियामा भने छिटा पनि पर्न नदिन नेपाल पक्षका उपाध्यक्ष भीम रावल र ओली पक्षका प्रमुख सचेतक अग्नि खरेल लागेका छन् ।

आखिर एमालेमा समस्या के हो त ? एमालेको राजनीतिमा धेरै भोटो फटाएका नेताहरु भन्छन्-संस्थागत ढंगले चल्न नचाहने र पार्टीको प्रमुखलाई मान्न नसक्ने दुवै खाले प्रवृति समस्या हुन् । एमालेमा विचारको विवाद छैन, सिद्धान्तको विवाद छैन । ठूला राजनीतिक मुद्दामा ओली,नेपाल,झलनाथ खनालहरु एक ठाउँमा छन् । त्यसो भए विवाद किन त ? स्वभाविक छ, धेरै कठिन परीक्षापछि प्राप्त भएको पार्टी सत्तालाई आफ्नो गुट र आफूलाई दुःखमा साथ दिएकाहरुको पक्षमा उपयोग गर्न खोज्ने ओलीको प्रयत्न र शक्तिको आधारमा आधा हिस्सा पाउनुपर्ने नेपाल पक्षको प्रयत्न विवादको एउटा प्रमुख पाटो हो ।

संस्थागत ढंगले निर्णय गरेका कुरामात्र लागु गर्ने उदारता देखाउने हो भने एमालेमा कुनै विवादनै नरहेको नेताहरु बताउछन् । खेलकुद परिषदको सदस्य सचिव पार्टीको राज्य व्यवस्था विभाग वा सम्बद्ध आधाकारिक निकायबाट निर्णय गरेर त्यसको सिफारिसका आधारमा किन गरिएन् ? यो प्रश्न अहिले ओली पक्षले उठायो भने त्यसका दर्जनौं जवाफ नेपाल पक्षसँग छ ।

अहिलेसम्म अध्यक्ष ओलीले कुन कुन नियुक्ति संस्थागत निर्णयबाट गरे ? कुन मन्त्रीका नियुक्तिमा पार्टीको सिफारिस लागु भयो ? यस्ता प्रश्न उनीहरु उठाउछन् । पछिल्लो समयमा ओलीलाई उनका निकटस्थ कतिपय नेताहरुले इगोका रुपमा नगएर सबै पक्षलाई मिलाउदै संस्थागत निर्णयका आधारमा अघि बढ्न सुझाव दिइरहेका छन् । तर एमालेमा एउटा रैथाने पंक्ति छ, जुन पंक्ति नेताहरुको आडमा पार्टी सत्ताको दुरुपयोग गर्न अभ्यस्त छ ।

अोलीलाई उकास्ने र माधवलाई उराल्ने तीनै रैथानेहरु हुन् । नेता मिल्दा आफ्नो भूमिका कमजोर हुने भएकाले उनीहरु विवादका मसलाहरु उब्जाइरहन्छन् । मदन भण्डारीको जन्मदिनमा एमालेका नेताहरुले बजाएको लडाईको बिगुलले फेरि पनि के संकेत गर्छ भने-यो लडाइ मुलुक वा पार्टीको हितका लागि होइन स्वार्थहरुको टक्कर हो । घमण्ड र कुण्ठाको टक्कर हो । त्यसैले न त माधव नेपालले भुइचालो ल्याउन सक्छन् न त ओली जंगवहादुर बन्न सक्छन् ।

मदनले सिन्चाइ गरेको मौजामा अप्रत्याशित रुपमा रजाई गर्न पाएका नेताहरुको विकल्पमा देश सोच्ने नेतृत्व अघि नसारेसम्म एमाले यसैगति तदर्थवादमा चल्ने र पालो गरेर खाने संस्थाका रुपमा स्थापित हुनेछ । तर दुर्भाग्यः त्यस्तो नेतृत्वका लागि अपेक्षा गरिएका युवा नेताहरुनै लड्डू जुधाएर चीनि झार्दै खाने शैलीमा माधव र ओलीलाई गुटको शीर्षासनमा राखेर धूपध्वाँर गर्दैछन् । यस्तो भएपछि  त सक्किगोनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment