Comments Add Comment

वंशज नेपाली मात्र राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न पाउने

१४ असार, काठमाडौं । वर्तमान संविधानसभामा अंगीकृत नागरिकता वाला थुप्रै सभासदहरु छन् । उनीहरुलाई मन्त्रीदेखि राष्ट्रपतिसम्म बन्नका लागि विद्यमान कानूनले छेकेको छैन ।

तर, अब बन्ने संविधानअनुसार वंशजको नागरिकता नलिएको व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री वा न्यायाधीश बन्न नपाउने भएको छ ।

नयाँ संविधान बनेपछि वंशजका आधारमा नेपाली नागरिकता भएका व्यक्ति मात्रै राष्ट्रपति, प्रधानमन्त्री तथा मुख्यमन्त्री बन्न पाउने छन् । मधेस केन्द्रित सभासदहरुले भने प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् ।

नयाँ संविधानको नयाँ प्रावधानले विदेशी महिलासँग विवाह गरेर राजनीतिमा आएका नेताहरुलाई पर्ने देखिएको छ । नेपालीसँग विवाह गरेर आएका विदेशी महिलाले पनि राजनीतिको ठूलो ओहोदामा पुग्न नपाउने भएका छन् ।

प्रस्तावित नयाँ संविधानको एकीकृत मस्यौदाको धारा २८२ (१) मा राष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखसम्मको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजकै आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेछ ।

Nagarikta

मस्यौदाको धारा २८२ मा पदाधिकारीको नागरिकतासम्वन्धी विशेष व्यवस्था गरिएको छ, जसमा भनिएको छ-‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजका आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्नेछ ।’

अन्यको हकमा यो नियम लागू नहुने

अन्य संवैधानिक निकायको पदमा भने जन्मको आधारमा वा अंगीकृत नागरिकता प्राप्त नागरिक पनि नियुक्त हुन पाउने छन् । प्रस्तावित संविधान अनुसार अन्य संवैधानिक पदमा नियुक्तिका लागि संविधान अनुसार योग्य भए जन्मको आधारमा नेपाली नागरिकता पाएको कम्तिमा पाँच वर्ष हुनुपर्नेछ । अंगीकृत नागरिकता पाएको कम्तिमा १० वर्ष पुगेको हुने पर्ने प्रस्तावित संविधानमा उल्लेख छ ।

नेपालको नागरिकता त्याग गरेर पुनः वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको पाँच वर्ष नेपालमा बसोबास गरेको भए पनि यस्तो नियुक्त पाउने प्रस्तावमा उल्लेख छ ।

मधेस केन्द्रित सभासदको आपत्ति

मस्यौदा समितिको बैठकमा मधेस केन्द्रित सभासदहरुले प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् । बैवाहिक अंगीकृत नागरिकता पाएकाहरुको हकमा यो व्यवस्था लागू गर्न नहुने उनीहरुको तर्क छ ।

प्रस्तावित व्यवस्थाबारे प्रश्न गर्दा सभासद गगन थापाले भने-‘संसारको जुनसुकै देशमा पनि यस्तै हुन्छ । बंशजका आधारमा नागरिकता भएकाहरुको केही प्रिभिजेल त हुन्छ नै ।’

केहो बंगजको नागरिकता ?

प्रस्तावित संविधानको मस्यौदाको धारा १२ मा वंशजका आधारमा नेपाली नागरिकताका पाउने चार आधार तय गरेको छ । उपधारा १ अनुसार नेपालमा स्थायी बसोबास भएका कुनै पनि व्यक्तिको जन्म हुँदा आमा र बाबु नेपाली नागरिक भएमा बंशजका आधारमा नेपालको नागरिकता पाउनेछ ।

यस्तै विदेशी नागरिकसँग विवाह भएका नेपाली नागरिकबाट नेपालमै स्थायी बसोबास गरेको र आमा वा बाबुको नागरिकताका आधारमा विदेश मुलुकको नागरिकता प्राप्त नगरेका व्यक्तिले नागरिकता प्राप्त गर्दा निजका आमा र बाबु दुबै नेपाली नागरिक रहेछन् भने त्यस्ता व्यक्तिले पनि वंशजका आधारमा नागरिकता पाउनेछ ।

उपधारा २ अनुसार आमा बाबुको ठेगान नभएको नेपालभित्र फेला परेका प्रत्येक नाबालिगको आमा वा बाबु पत्ता नलागेसम्म वंशजका आधारमा नेपाली नागरिक मानिनेछ ।

उपधारा ३ मा भने नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजका आधारमा नेपाली नागरिकता पाउनेछन् । तर, बाबु विदेशी नागरिक भएको प्रमाणित भएमा त्यस्तो व्यक्तिको नागरिकता अंगीकृतमा परिणत हुनेछ ।

उपधारा ४ मा उपधारा १ बमोजिम वंशजका आधारमा नेपालको नागरिकता पाएका र संविधान प्रारम्भ हुँदा जन्मका आधारमा नेपालको नागरिकता पाएका व्यक्तिको सन्तानले भने आमा वा बाबुको नामबाट वंशजका आधारमा नागरिकता पाउनेछ ।

के हो वैवाहिक अंगीकृत ?

प्रस्तावित मस्यौदामा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले वैवाहिक अंगीकृत नागरिकता लिन १५ वर्षमा नेपालमा स्थायी बसोबास र विदेशको नागरिकता परित्याग गर्नु पर्नेछ ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले भने विदेशको नागरिकता परित्याग गरेमा तत्कालै नेपालको नागरिकता प्राप्त गर्नेछन् । यस्तो नागरिकता वैवाहिक अंगीकृत हुनेछ ।

अंगीकृत नागरिकहरुले राजनीतिक अधिकार पाए पनि गैरआवासीय नागरिकता पाउनेले भने राजनीतिक अधिकारबाहेकमा सामाजिक आर्थिक अधिकार मात्रै पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment