Comments Add Comment

बाढी जोखिमयुक्त रुपन्देहीका १२ स्थानमा साईरन जोडिदै

कपिल ज्ञवाली
१५ असार, बुटवल । रुपन्देहीमा बाढीको जोखिम बढ्न थालेपछि पूर्व जानकारी दिन जिल्लाका १२ वटा नदी क्षेत्रमा साइरन जोड्न लागिएको छ ।

Tinau-Basti-Butwal

  • बाढीको जोखिमयुक्त तिनाउ नदी किनारको बस्ती

मर्चबारका ४ ठाउँमा तथा हात्तिसुढ, लुम्विनी, सूर्यपूरा, सालझण्डी, देबदह, हाटीफर्साटीकर, बसन्तपुर र सिद्धार्थनगरमा १-१ ठाउँमा साइरन जोडिने छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीकोे सक्रियता तथा बुटवल उपमहानगरपालिका, सैनामैना, देबदह, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी साँस्कृतिक केन्द्रको लगानीमा साइरन जोड्ने अन्तिम तयारी गरिएको छ ।

बुटवल पश्चिममा रहेको तिनाउ नदी छेउका एक हजार भन्दा धेरै घर बाढीको उच्च जोखिममा छन् । तिनै बस्तीका बासिन्दालाई सुरक्षित हुनका लागि पूर्व सूचना दिने उद्देश्यले बुटवलको हात्तिसुढ र पुरानो बसपार्कदेखि चिडियाखोलाको बीच भाग पर्ने गरी साईरन जोडिने बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काले बताए ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले १ हप्ता भित्र साइरन जोडेर नागरिकहरुलाई सजग पारिने बताए । एउटा साइरनको मूल्य २० हजार रुपैयाँ पर्ने बताइएको छ । साईरन जडानको व्यवस्थापन रेडक्रसले लिएको छ ।

उद्धार टोली पनि तयारी अवस्थामा

बुटवलको चिडियाखोलादेखि योगीकुटीसम्म नदी छेउँमा बसोबास गर्ने व्यक्तिहरुलाई केन्द्रित गरी सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्ने, साईरन जडान गर्ने र आपतका बेला उद्धारमा खटिने टोलीको समेत व्यवस्थापन गरिएको बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले जानकारी दिए ।

उनका अनुसार पाल्पाको दोभानबाट पहिलो सूचना बुटवलमा हुने गरी साईरन जडान गरिने छ । तिनाउ नदीमा पानीको बहाव र जोखिमबारे पहिलो सूचना दोभानबाट दिने गरी प्रकोप सूचना केन्द्र स्थापना गरिएको छ । सूचना प्रवाहका लागि सन्तोष कुमार शेरचनको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष प्रेमलाल उदासले आफूहरुसँग भएका प्रकोप उद्धारका सामाग्री र उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए । उनले रुपन्देहीका ९ वटा क्षेत्रमा सामुदायिक कम्युनिटी एक्सन फर डिजास्टार रेस्पोन्स (क्याड्रे)हरु रहेकाले रेडक्रस तयारी अवस्थामा रहेको बताए ।

यो वर्ष भूकम्पले चुरे पहाड समेत चर्काएको हुनसक्ने भएकाले पहिरो र बाढीको थप जोखिम बढेको बताइएको छ । तिनाउको उपल्लो तटीय क्षेत्रमा तिनाउ पहिरोले थुनिन सक्ने भएकाले चुरेकै अध्ययन गर्न जरुरी रहेको दोभान सामुदायिक वनका दलबहादुर गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment