Comments Add Comment

समाजशास्त्र र मानवशास्त्र विषयका विभाग छुट्याइने

१५ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको एउटै विभागमा रहेका समाजशास्त्र र मानवशास्त्र विषय अबदेखि छुट्टाछुट्टै विभागमा रहने भएका छन् ।

Tribhuwan University

यी दुई विषयलाई छुट्टाछुट्टै विभागमा राख्न आवश्यक छ की छैन भन्नेबारेमा अध्ययन गर्न गठित कार्यदलले विभाग छुट्याउन सुझाव दिएपछि सामाजिक शास्त्र सङ्कायअन्तर्गत रहेको समाजशास्त्र तथा मानवशास्त्र विभाग फुट्ने भएको हो ।

कार्यदलका सदस्य डा. चिरञ्जीवी आचार्यले सरोकारवालासँग गरेको छलफलमा सबैले छुट्याउनुपर्ने सुझाव दिएको जानकारी दिए । उनले भने, ‘हामीले अध्ययनका क्रममा समाजशास्त्र र मानवशास्त्र दुवै विषयका विज्ञ, प्राध्यापक, पूर्वप्राध्यापक, केन्द्रीय विभागका पदाधिकारी, सबै तहका विद्यार्थी, विद्यार्थी तथा प्रधानाध्यापकका सङ्घ सङ्गठनलगायतसँग छलफल गर्यौँ, एक जनाले पनि सँगै राख्नुपर्छ भन्नु भएन, त्यसैले सतप्रतिशत मत छुट्याउनु पर्छ भन्ने पायौँ ।”

एकै विभागमा राख्दा विषयगत प्राज्ञिक उन्नयनका लागि बाधा पुगेको सबैको ठहर रहेकाले छुट्याउनुपर्ने सिफारिससहितको प्रतिवेदन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई दिएको डा. आचार्यले बताए ।

शिक्षाध्यक्ष न्यौपानेले कार्यदलको सिफारिसलाई आफूले प्रक्रियामा लैजाने जानकारी दिए ।

समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डा. ओम गुरुङले पनि कार्यदलले पेस गरेको प्रतिवेदन अब कार्यकारिणी सभाबाट पारित भएर कार्यान्वयन हुने बताए । उनले दुई विषयलाई छुट्याउनु पर्छ भन्ने निर्णय विषय समितिले दुई वर्ष अगाडि र विद्या परिषद्ले झन्डै एक महिना अगाडि पारित गरिसकेको जानकारी दिए ।

विद्या परिषद्ले पारित गरेपछि सुझाव सङ्कलन तथा अध्ययनका लागि प्राध्यापक लयप्रसाद उप्रेतीको संयोजकत्वमा कार्यदल बनाइएको हो ।

एक हप्ताको समय पाएर गठन भएको कार्यदलले यही असार ६ गते प्रतिवेदन बुझाएको कार्यदलका सदस्य डा. आचार्यले जानकारी दिए ।

उनका अनुसार अध्ययनका क्रममा देशभरिमा यस विभागअन्तर्गत समाजशास्त्रका विद्यार्थी थोरै छन् भने प्राध्यापक मानव शास्त्रका धेरै छन् ।

केन्द्रीय विभागका प्राध्यापक डा टीकाराम गौतमले केन्द्रीय विभागमा समाजशास्त्रका नौ जना र मानवशास्त्रका १७ जना प्राध्यापक रहेको जानकारी दिए ।

उनले विद्यार्थीको अनुपात भने ठीक उल्टो रहेको बताए । ‘विद्यार्थीको स्पष्ट तथ्याङ्क त छैन, सामान्यतः ८० प्रतिशत विद्यार्थी समाजशास्त्रका र २० प्रतिशत विद्यार्थी मानवशास्त्रका रहेको पाइएको छ,’  डा. गौतमले भने ।

उनका अनुसार शैक्षिक सत्र २०७०/०७१ मा देशभरि स्नातक तहमा छ हजार ३५० जना र स्नातकोत्तर तहमा चार हजार ६१० जना विद्यार्थी छन् ।

विद्यार्थी र प्राध्यापकको असन्तुलनका कारण पनि विभाग छुट्याउन दबाब परिरहेको कार्यदलका सदस्यको भनाइ छ । कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भन्दै विद्यार्थीले आन्दोलन पनि गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment