Comments Add Comment

पर्यटकीय क्षेत्र माडी ओझेलमा

१५ असार, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको माडी क्षेत्र धार्मिक एवम् पर्यटनको दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको छ ।

चारैतर्फ विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज र जङ्गलले घेरिएको माडी क्षेत्रमा राप्तीसहित ठूला साना दर्जनाैं नदी तथा खोला दक्षिणबाट उत्तरतर्फ बहने गर्दछन् । रमणीय माडी क्षेत्रमा धार्मिक महत्व बोकेका विभिन्न पर्यटकीय गन्तव्य समेत रहेका छन् । सो क्षेत्रमा रहेका धार्मिक क्षेत्रका बारेमा महाभारतलगायतका हिन्दु ग्रन्थमा पनि उल्लेख भएको पाइन्छ ।

माडी क्षेत्रमा सोमेश्वर, कालिका, त्रिवेणीधाम, बाल्मिकि आश्रम, गोद्धक, पर्शुराम कुण्ड, पाण्डवनगर, बैकुण्ठेश्वरधाम, महादेव मन्दिर, सीता गुफा, बिक्रमबाबालगायतका दर्जनाैं धार्मिक महत्व बोकेका पर्यटकीयस्थल रहेका छन् । सदरमुकाम भरतपुरदेखि ४० किलोमिटर दक्षिणमा पर्ने माडी क्षेत्र ऐतिहासिक धार्मिक, प्राकृतिक एवम् सांँस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक गर्दी, बघौँडा, कल्याणपुर र अयोध्यापुरी गाविसलाई मिलाएर माडी नगरपालिका बनेको छ ।

त्रिवेणीधामदेखि बाँदरझुलासम्म करिब २३८ किलोमिटर क्षेत्रफलमा अवस्थित माडी पूर्वमा पर्सा, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ भारतको बिहार पर्दछन् । जुन चुरे पर्वतमालाले घेरिएको छ । पर्यटन क्षेत्रमा काम गर्दै आउनु भएका उपप्राध्यापक विश्वराज सुवेदी माडी क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धन गर्न सके मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताउछन ।

 माडी क्षेत्रको पर्यटकीय स्थलको पहिचान गरी सम्भावित बजार क्षेत्र निर्धारण गर्नुपर्ने र बजारीकरण रणनीति बनाउनु पर्ने पर्यटन विकास समितिका महासचिव सुवेदीले बताए ।

माडी क्षेत्र पर्यटकीय दृष्टिले प्रचार भइसकेको सौराहा, प्रचारको क्रममा रहेको जगतपुर, पटिहानी, मेघौलीसँग निकट समेत रहेको छ । माडी क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

माडी नगरपालिकाका कार्यकारी अधिकृत थानेश्वर पराजुली पर्यटकीय गन्तव्य माडीको बजारीकरण गर्न नसकिएको भन्दै पर्यटकका लागि सुविधासम्पन्न होटल निजी साझेदारी रुपमा सञ्चालन गर्न सकिने बताउछन ।  सामुदायिक वन समेत सङ्गठित रुपमा अघि बढिरहेको अवस्थामा निजी साझेदारी रुपमा होटल खोलेर पर्यटकलाई भित्र्याउन सके यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाई छ ।

जिल्ला विकस समितिका पर्यटक विकास अधिकृत प्रकाशचन्द्र पौडेल माडीमा चक्रपथ निर्माण गर्न सके पर्यटकलाई यो क्षेत्रको अवलोकन गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ । माडी नगरपालिका र स्थानीयवासी गुरुयोजनासहित आएमा जिविसले सहयोग गर्न तयार रहेको उनले बताए ।

नेपाल आउने विदेशी पर्यटक र चितवन आउने आन्तरिक पर्यटकको बसाई लम्ब्याउनका लागि माडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गरिनुपर्ने चितवन पर्यटन विकास समितिका अध्यक्ष दीलीप मैनाली बताउछन । स्थानीय अर्गानिक उत्पादनको प्रयोग गरी पर्यटकलाई मिठो खाना खुवाउन सके थप पर्यटक भित्र्याउन सजिलो हुने मैनालीको भनाइ छ ।

मिठो खाना र सुविधाजनक बसाइँले पर्यटक लोभिने बताउँदै उहाँले अहिलेको बजार भनेको माग अनुसार सेवा नभई सेवा अनुसारको माग बढ्ने बताए ।  चितवनमा बर्सेनि झन्डै दुई लाख पर्यटक भित्रिने गर्दछन् । यस वर्षको जेठ मसान्तसम्म मात्र एक लाख ७६ हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भित्रिइसकेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर कसैको पनि ध्यान पुग्न नसक्दा प्रचुर सम्भावना बोकेर पनि माडी क्षेत्र ओझेलमा परेको बताउछन ।

चारैतिर चुरे पहाड र जङ्गलले घेरिएको समथर उपत्यका माडी जहाँ गैंँडा, हात्ती जस्ता जङ्गली जनावर सहजै देख्न सकिन्छ त्यत्तिको राम्रो ठाउँ अन्यत्र नभएको प्रमुख संरक्षण अधिकृत कुँवरको भनाइ छ । माडी क्षेत्रको विकासका लागि सरोकारवालासँगै दलहरु पनि एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment