Comments Add Comment

संसद कुकुरको मासु बेच्ने पसल हो : वैद्य

१५ असार, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीले संसदको उपयोग मात्रै गर्न खोजेको भए स्वागत गरिने बताएका छन् । तर, संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भएको वैद्यको ठहर छ ।

फाइल फोटो
फाइल फोटो

जाजरकोटको कुसतरा हत्याकाण्डको स्मृतिमा मंगलबार कुपण्डोलमा आयोजित कार्यक्रममा बोल्दै वैद्यले संसदलाई उपयोग गर्ने नाममा संसदीय ब्यवस्थालाई नै मान्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

‘संसदीय ब्यवस्थालाई मान्ने र संसदीय ब्यवस्थालाई उपयोग गर्नेमा फरक छ’, वैद्यले भने, ‘संसदलाई उपयोग गर्ने सन्दर्भमा हो भने स्वागतयोग्य छ, तर संसदीय ब्यवस्थालाई नै मान्ने कुुरा हुँदैन ।’

‘लेनिनले भनेजस्तो संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो, तर यसलाई उपयोग गर्ने सन्दर्भमा नै त्यहाँ जाने भनेका थियौं’- वैद्यले भने ।

केही दिनअघि मात्रै एकीकृत माओवादीसँगको पार्टी एकता प्रयास टुंगिएको घोषणा गरेका वैद्यले फेरि एकता प्रक्रिया अगाडि बढ्नेतर्फ संकेत गरे ।

‘एकपटक वार्ता भाँडियो भन्दैमा सधैं टाढा हुने भन्ने कुरा हुँदैन’, वैद्यले भने, ‘गल्ती हामीबाट पनि भयो होला, समीक्षा गरौं, छलफल गरौं । नयाँ ढंगले एकता गर्नेतर्फ लैजानुपर्छ ।’ विगतका कमी कमजोरीहरुलाई ध्यान दिँदै सच्चा क्रान्तिकारीहरु एकतावद्ध हुने उनले दोहोर्‍याए । नेताहरुका वादका विरुद्ध लड्न पनि उनले कार्यकर्ताहरुलाई आहृवान गरे ।

प्रमुख चारदलबीच संविधानको विवादित विषयमा १६ बुँदे सहमति भएको भोलिपल्ट वैद्यले पत्रकार सम्मेलन गरी एमाओवादीसँगको एकता प्रक्रिया भंग भएको बताएका थिए । दुई माओवादीवीच एक वर्षअघि देखि एकताबारे छलफल चलिरहेको थियो ।

एकीकृत माओवादीसँगको एकताको सन्दर्भमा कुरा गर्दै वैद्यले कम्युनिष्ट आन्दोलन एकताका लागि एकीकृत माओवादीका नेताहरुले एकपटक गम्भीर रुपले सोच्नुपर्ने बताए ।

कम्युनिष्टहरुको चेतेर पनि बुद्धि नआउने

माओवादी अध्यक्ष वैद्यले कम्युनिष्टहरुले पटक पटक चेत खाएर पनि बुद्धि नआउने बताए । ‘हामी कम्युनिष्टहरु चेतेर पनि कहिल्यै बुद्धि नआउने’, वैद्यले भने, ‘पटक-पटक चेत पाएका छौं र पनि कहिलै बुद्धि नफिर्ने ।

कार्यक्रममा एकीकृत माओवादीका नेता शक्तिबहादुर बस्नेतले विभाजित भएका माओवादी नेताहरुले एकले अर्कोलाई दोष देखाएर मात्रै उन्मुक्ति नपाइने बताए । ‘कसैले कसैलाई गाली गर्नुको तुक छैन,’ बस्नेतले भने, ‘यो वनले देखेको बाघ र बाघले देखेको वन हो, सबैले जानेकै कुरा हो ।’

मार्क्सवाद बेचेर खायौं

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले आफूहरुले मार्क्र्सवाद बेचेर खाएको बताए ।  ‘हामी माओवादीहरुले विचार बिक्री गरेर खाएका छौं, मार्क्सवाद बेचेर खाएका छौं’, थापाले भने, ‘बरु पूँजीवादका नाइकेहरुले काम गरेर खाएका छन् ।’

कार्यक्रममा विप्लव माओवादीका पोलिटब्युरो सदस्य तिलक परियार, शहीद परिवारका एकराज भण्डारी, गगन खड्का लगायतले अबको वर्ग संघर्षले मात्रै माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउनेमा बताए ।

तत्कालीन दश वर्षे जनयुद्धको समयमा जाजरकोटको कुसतरामा तत्कालीन सेनाले ६ जनाको एकै ठाउँमा हत्या गरेको थियो । आज भन्दा १६ वर्षअघि इन्द्रबहादुर आचार्य, गोपाल बस्नेत, लोकेन्द्र बस्नेत, खिमबहादुर बस्नेत, कालीबहादुर बस्नेत र चनाखे सार्की जाजरकोटको कुसतरामा मारिएका थिए ।

मारिएकाहरुको सम्झनामा वैद्य माओवादीले आयोेजना गरेको कार्यक्रममा सबै माओवादी घटकका नेताहरु एकै ठाउँ भेला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment