Comments Add Comment

बैङ्किङ कसुरमा सुशील स्थापित पक्राउ

१५ असार, ललितपुर । धेरै जग्गा भएको लालपूर्जाको प्रयोग गरी हिमालयन बैङ्क लिमिटेड पाटन शाखाबाट ऋण लिएका ललितपुर उपमहानगरपालिका–३ पुल्चोक ठेगाना भएको स्थापित एण्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापितलाई सोमबार पक्राउ गरिएको प्रहरीले आज जनाएको छ ।

उक्त कम्पनीले कर्जा लिनका लागि सैँबु–१ बस्ने सरस्वती लिम्बुका नाममा दर्ता रहेको ललितपुर उपमहानगरपालिका–५ (म) स्थित कित्ता नम्बर २६६ मा भएको एक रोपनी जग्गा र सोही गाविस–१ बस्ने सुष्मा ठकुरीको नाममा रहेको ५(म) कित्ता नम्बर २६७ मा अवस्थित एक रोपनी जग्गा मञ्जुरीनामा लिएर कर्जा लिएको देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले बताए ।

उक्त दुबै जग्गाको सेरेन कन्सल्ट प्रा.लि.का कन्सल्टेन्ट सिद्धार्थ सागर श्रेष्ठले गरेको मूल्याङ्कन प्रतिवेदनको आधारमा २०६८ माघ १८ गते धितोसुरक्षण राखी रु ८० लाख कर्जा लिएको थियो । बैङ्कबाट लिएको कर्जाको अवधि समाप्त भएकाले पटक÷पटक कर्जा भुक्तानीका लागि सूचना जारी गर्दा समेत अटेर भएपछि सो जग्गा लिलामीका लागि सूचना प्रकाशित गरिएकोमा लिलामी हुनसकेको थिएन ।

सो जग्गाको स्थलगत निरीक्षणका क्रममा १२ आना जग्गा मात्र खोलाको डिलमा देखिएको र बाँकी जग्गा खोलामा परेको देखिएको प्रवक्ता थापाले बताए ।

बैङ्कका प्रबन्धक समिर आचार्यले दिएको जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाई सुशील स्थापित र सुष्मा ठकुरी समेतलाई नियन्त्रणमा लिई बैंकिङ कसुरमा मुद्दाको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment