Comments Add Comment

महासंघको अध्यक्षमा पशुपति मुरारका निश्चित, भाष्करले सघाउने घोषणा

नविन अर्याल

१५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध निर्वाचित हुने लगभग निश्चित भएको छ । बलिया प्रत्यासी उम्मेदवार भाष्करराज राजकणिर्कारले आफ्नो उम्मेदवारी फिर्ता लिएर सघाउने घोषणा गरेपछि मुरारका अध्यक्ष बन्ने निश्चित देखिएको हो ।

यसैगरी अध्यक्षकी अर्की प्रत्यासी भवानी राणा पनि आफ्नो उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत नेतृत्व चयनमा सघाउन राजी भएकी छिन् । यद्यपी उनले अहिलेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छैनन् । बुधबार राणाले आफ्नो उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खोल्ने बताइएको छ ।

Fncci

अहिले यस विषयमा भवानी प्यानल छलफलमा व्यस्त रहेको छ । दिनभरी छलफलमा जुटेपनि भवानी प्यानलबाट बेलुकासम्म ठोस निर्णय बाहिर आउन सकेन । अनलाइनखबरकर्मीले बेलुका पौने ८ बजे फोन गर्दा राणाले मिटिङ व्यस्त रहेको बताइन ।

पूर्वअध्यक्षहरु तथा भाष्करराज राजकणिर्कार लगायतको भित्री सहमतिअनुसार अध्यक्षमा मुरारकालाई निर्विरोध निर्वाचित गर्ने र त्यसपछि रिक्त रहने बरिष्ठ उपाध्यक्षमा राणालाई ल्याउने तयारी भएको छ ।

‘महासंघमा निर्विरोध अध्यक्ष चयन हुने सम्भावना ९९.९९ प्रतिशत पुगेको छ’ निवर्तमान अध्यक्ष सुरज वैद्यले भने- ‘भोली बुधबार सबै कुराको टुंगो लागिसक्छ ।’ राजकणिर्कारले अध्यक्षको उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खोलेपछि अर्की उम्मेदवार राणाले पनि उम्मेदवारी फिर्ता लिने उनको विश्वास छ ।

राजकणिर्कारले मंगलबार तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी मुरारकालाई सघाउने घोषणा गरेका हुन् । ‘महासंघको खस्किँदो छबी जोगाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भनेर मैले उम्मेदवारी फिर्ता लिएको हुँ’ उनले भने- ‘१८ गते हुने निर्वाचनमा दुई उम्मेदवार हुने छैनन् ।’

अध्यक्षकी उम्मेदवार भवानी राणालाई पनि आफ्नो उम्मेदवार फिर्ता लिएर मुरारकालाई सघाउन राजकणिर्कारले आग्रह गरे । ‘मुरारका निर्विरोध निर्वाचित होउन भन्ने चाहान्छु’ उनले थपे- ‘भवानी राणाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खुल्ला गरुन ।’

भवानी प्यानलको भित्री स्रोतका अनुसार उनले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिँदैछिन् । राणालाई बरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएपछि उनको प्यानल उम्मेदवारी फिर्ता लिन राजी भएको उक्त स्रोतले अनलाइनखबरलाई बतायो ।

भाष्करराजको त्याग ठूलो भएको बताउँदै निवर्तमान अध्यक्ष वैद्यले सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खुल्ला भएको दाबी गरे । ‘पूर्वअध्यक्षहरु सर्वसम्मत नेतृत्व चयन गर्नका लागि लाग्नुभएको छ, यता हाम्रोतर्फ कुरा मिलिसकेको छ, सर्वसम्मत नेतृत्व चाहिने भए मिल्न आउनुस’ उनले भवानी प्यानलमा रहेका पूर्वअध्यक्षहरुलाई आग्रह गरे ।

अब बन्ने महासंघको अध्यक्षलाई ठूलो चुनौती रहेको बताउँदै वैद्यले यस्तो अवस्थामा भाष्करराजको जहिले पनि मुरारकालाई सहयोग आवश्यक पर्ने बताए । भाष्करजस्तो मान्छे महासंघका लागि आवश्यक रहेको हुँदा बाहिरिन नहुने उनको भनाई छ ।

अध्यक्षका उम्मेदवारी मुरारकाले भाष्करराजको त्यागप्रति कृतज्ञता व्यक्त गरेका छन् । भोली आफु महासंघको अध्यक्ष भएपछि पनि भाष्करराजको सहयोग आवश्यक पर्ने औंल्याउँदै उनले निजी क्षेत्रलाई एकजुट बनाएर अगाडि बढाउन सक्दो प्रयास गर्ने बताए ।

अब निर्वाचित हुने अध्यक्षले महासंघमा २१ महिना नेतृत्व गर्न पाउनेछन् । करिव १५ महिना अगाडि अध्यक्षमा निर्वाचित प्रदीपजंग पाण्डे ३५ वर्ष बढी पुरानो फौजदारी मुद्धामा जेल चलान भएपछि अध्यक्षका लागिमात्र निर्वाचन हुन लागेको हो । महासंघको इतिहासमा यो पहिलो घटना हो ।

यो पनि पढ्नुहोस्

महासंघमा सर्वसम्मत नेतृत्व छान्न पूर्वअध्यक्षहरु एकजुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment