Comments Add Comment

एनआरएन जापानको सचिवमा बिष्णुप्रसाद घिमिरेद्वारा उम्मेदवारी घोषणा

bishnu-ghimire

नागोया । गैरआवासीय नेपाली संघ जापानको सचिव पदमा बिष्णुप्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएन जापान तोकाई होकुरिकु क्षेत्रका क्षेत्रीय संयोजक रहेका घिमिरेले एक अपिल जारी गर्दे आफुले सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

विगत १० बर्षदेखि जापानको नायोगा क्षेत्रमा बसोबास गर्दै आएका घिमिरे जापानको नेपाली समुदायमाझ सक्रिय युवा मानिन्छन् । यसअघि एनआरएन जापान तोकाई होकुरिकु क्षेत्रका क्षेत्रीय उपसंयोजक र संयोजक समेत रहिसकेका घिमिरेले राष्ट्रिय समन्वय परिषद्को सचिवका रुपमा ठूलो कार्यक्षेत्रसहित नेपाली समुदायको सेवा गर्न चाहेको बताए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानका महासचिवसमेत रहेका घिमिरे नागोया क्षेत्रका सफल युवा उद्यमी हुन् ।

ट्रेडिङ, रेष्टुरेण्ट, मनी ट्रान्सफर र ट्राभल ब्यबसायमा सक्रिय घिमिरेले आफ्नो कमाईको केही हिस्सा समाजसेवामा लगाउँदै आएका छन् । उनले हालै नेपालका भूकम्प पिडीत बालबालिकालाई आफ्नो अगुवाईमा सहयोग संकलन गरी शैक्षिक सामाग्री वितरण समेत गरेका थिए । चितवन स्थायी घर भएका घिमिरे हाल मेई  केनको योक्काइची बस्दै आएका छन् ।

प्रस्तुत छ, घिमिरेले जारी गरेको अपिलको पूर्णपाठ-
हार्दिक अपिल 

आदरणीय जापानबासी गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

‘नेपालीका लागि नेपाली’ मूलमर्मसहित स्थापित गैरआवासीय नेपाली संघको एक कर्मठ सदस्यका रुपमा चिनाउन पाउँदा म आफुलाई निकै गौरवान्वित महसुस गर्दछु ।
जापान आगमनसँगै विगत १० बर्षदेखि म गैरआवासीय नेपाली संघ जापानसँग आबद्ध रही नेपाली समुदाय र त्यसमार्फत् नेपाल र नेपालीको सेवामा तल्लिन रहँदै आएको यहाँहरु सवैलाई विदितै छ । मेरो आफ्नो समय र स्रोतले भ्याएसम्म नेपाली समुदायको उन्नतीका लागि पदमा रहँदा वा नरहँदाको अबस्थामा समेत दत्तचित्त भएर लागिरहेको छु ।

मैले गैरआवासीय नेपाली संघ जापानको तोकाई होकुरिकु क्षेत्रको क्षेत्रीय उपसंयोजक र संयोजकका रुपमा आफ्नो भूमिका निर्वाह गरिसकेको छु ।

यस दौरान यहाँहरु सवैले दिनुभएको हौसला र प्रेरणा एवं सहयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु । मेरो पदीय जिम्मेवारी क्षेत्रीयरुपमा मात्र रहेपनि यसक्रममा मैले जापानको राष्ट्रियस्तरमै सक्रियतापूर्वक स्वयंसेवी कार्यमा संलग्न हुने मौका पाएँ । यसक्रममा यहाँहरुले राष्ट्रियस्तरमै गएर नेपाली समुदायको श्रीबृद्धिका लागि अग्रसर हुन गर्नुभएको आग्रहलाई गहिरोगरी मनन् गरेको छु ।

यसै सन्र्दभमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आसन्न महाधिवेशनले नयाँ नेतृत्व चुन्न लागेको हुँदा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा म आफ्नो उम्मेदवारी घोषणा गर्दछु ।

एनआरएन जापानलाई थप शसक्त र सक्रिय बनाउँदै संसारभरका गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुमध्ये उत्कृष्ट बनाउने मेरो योजना रहेको छ । यसका लागि संस्थालाई थप सक्रिय र विकेन्द्रीत गरी यो अभियानमा धेरै भन्दा धेरै नेपाली गैरआवासीय नेपाली साथीहरुलाई समेटनुपर्ने हुँदा त्यसलाई मुख्य कार्यभारका रुपमा अगाडी बढाउने अठोट गर्दछु । अग्रजहरुको सम्मान र नयाँ पुस्तालाई यो संस्थाप्रति आर्कषिर्त गरी मुलुक निर्माण अभियानमा जिम्मेवारी प्रदान गर्ने नीतिसहित मैले आफ्नो कार्य अगाडी बढाउने छु ।

अन्त्यमा विगतमा जस्तै यहाँहरु सवैको सहयोग र सद्भाव रहने आशा गर्दै काम गर्ने शिलशिलामा हुने त्रुटीप्रति यहाँहरुले दिनुहुने रचनात्मक सुझावको सदैव स्वागत गर्न चाहान्छु । यहाँहरुको साथमा रहेर यहाँहरुको सेवा गर्ने मेरो योजनामा यहाँहरुको बलियो समर्थन र साथको अपेक्षा गरेको छु ।

भवदीय,
विष्णुप्रसाद घिमिरे
नागोया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment