Comments Add Comment

पुल नहुँदा मुक्तिनाथ जाने पर्यटकलाई सास्ती

१६ असार, पर्वत । तीर्थधाम मुक्तिनाथ जाने यात्रुले कालीगण्डकी नदीमाथि पुल नहुँदा सास्ती बेहोर्नु परेको छ ।

Touristमुस्ताङ सदरमुकाम जोमसोमदेखि मुक्तिनाथसम्म जाने मोटरबाटोको जोमसोम बजारखण्डमा कालीगण्डकी नदीमाथि पक्की पुल नहुँदा मुक्तिनाथ जाने यात्रु तथा उपल्लो मुस्ताङ जाने यात्रुले सास्ती बेहोर्नु परेको हो ।

विसं २०६७ मा रु चार करोड १२ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भए पनि पुल हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख रवीन्द्र तिवारी भन्छन् – “पुल निर्धारित समयमा सम्पन्न हुन सकेन ।” तिवारीका अनुसार पुलको डिजाइन पटकपटक परिवर्तन हुँदा निर्माण प्रक्रिया प्रभावित हुन पुगेको हो । पुल निर्माणका लागि बिटी÷जय ओम निर्माण सेवाले जिम्मा लिएको हो ।

पुल निर्माण सम्पन्न गर्नका लागि बढीमा दुई वर्षको समयावधि दिए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण प्रक्रिया अवरुद्ध भएको स्थानीयवासीको गुनासो रहेको छ ।

पुल निर्माण नहुँदा जोमसोमको बारीसम्म पुगेका सवारी साधन बारी नै पार्किङ गरेर राख्नुपर्छ । हिउँदको समयमा कालीगण्डकी नदी सानो हुने भएका कारण खोलाबाट गाडी तर्ने भए पनि वर्षायाम सुरु भएपछि भने सवारीसाधन वारपार गर्न समस्या पर्दै आएको छ ।

जोमसोम बजारदेखि मुक्तिनाथ मन्दिरसम्म झन्डै २३ किलोमिटर यात्रा गर्नुपर्छ । सवारीसाधन कालीगण्डकी तर्न नसकेपछि बारी नै रहने गर्छन् । गाडी रिर्जभ गरेर गएका यात्रुसमेतले वर्षात्को समयमा जोमसोम पारीका गाडी प्रयोग गर्नुपर्छ ।

नेकपा (एमाले) नेता डा सूर्य पाठक भन्नुहुन्छ– “आफ्नै सवारीसाधन छाडेर अर्कोमा चढ्नुपर्ने बाध्यता दुःखदायी छ ।” नेपाल सुरक्षित छ भन्ने सन्देश दिनका लागि मुक्तिनाथ मन्दिरसम्म हिँडेका नेता पाठकले महत्वपूर्ण र संवेदनशील स्थानमा पुल बनाउने काममा राज्यले बेवास्ता गरेको आरोप लगाए ।

करिब ५२ मिटरको चौडाइमा निर्माण सम्पन्न हुनेगरी पुल निर्माण कार्य सुरु गरिए पनि हिउँदको समयमा हिउँ पर्ने र वर्षातमा पानीले काम गर्न समस्या पर्ने भएका कारण पनि निर्माण कार्य मन्द गतिमा अगाडि बढिरहेको निर्माण कम्पनीले जनाएको छ ।

समयमै पुल निर्माण कार्य नसकिँदा बर्सेनि यात्रुले सास्ती बेहोरी रहेको हुँदा आगामी आर्थिक वर्षभित्र पुल सम्पन्न गर्ने गरी आफूहरुले काम गरिरहेको प्राविधिक कार्यालयका प्रमुख तिवारीले बताए ।

“निर्माण कार्यका लागि कम्पनीसँग ताकेता गरिरहेका छाैं।” “मौसमले साथ दिनासाथ काम सुरु हुन्छ” तिवारीले भने । पुल निर्माण सम्पन्न भएपछि वर्षात्को समयमा पनि जोमसोम मुक्तिनाथ सडक बाह्रै महिना चल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment