Comments Add Comment

को हुन् मन्त्री हरि पराजुली ? जसले सेकुवा कर्नरदेखि धान खेतसम्म छाडेनन्

मात्रिका पौडेल/टिप्पणी

संस्कृतमा एउटा वाक्य निकै चर्चिर्त छ-भूतो न भविष्यति । यसको अर्थ हो, न विगतमा हुन्थ्यो, न त भविष्यमै हुनेछ । कृषि मन्त्री हरि पराजुली जन्मले ब्राह्रमण र कर्मले कम्युनिस्ट हुन् । उनलाई नजिकबाट चिन्ने एमालेजनहरु भन्छन्-यिनी मन्त्री हुनु भनेको भूतो न भविष्यति जस्तै हो ।
Hari Parajuli
जिन्दगीमा जनताको अभिमतका नाममा वडा सदस्यको चुनाव समेत नजितेका पराजुली देशको मन्त्री मात्र भएनन्, मुलुककै ठूलो कम्युनिष्ट पार्टी र देशको दोस्रो ठूलो पार्टी एमालेको केन्द्रीय सदस्यजस्तो उच्च ओहोदामा समेत मनोनित भएर पुगेका छन् अहिले ।

पराजुलीका लागि गएको एक वर्ष यस्तो गरी फाप्यो कि हिन्दी उखानजस्तै भयो । भारतको रुपैडिहा नजिकै सीमाना नेपालगन्जका बासिन्दा पराजुलीका लागि भाग्यले यस्तो छप्पड फाडेर दियो कि ‘देने वाला जो भी देता, देता छप्पड फाड्के’ भन्ने चर्चित हिन्दी डाइलगलाई नै माथ खुवाइदिए उनले ।

जिन्दगीभर वामदेव गौतमको परिक्रमा गरेको पुरस्कार स्वरुप यिनले सोच्दै नसोचेको मन्त्री पद पाए । केपीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुपरेको थियो । त्यसका लागि बामदेवको समर्थन निर्णायक भइदियो । ओलीका एक भित्रिया नेता भन्छन्-बामदेवलाई साथमा लिँदा हरि पराजुलीजस्ता ‘गलगाँडाहरु’ पनि स्याहार्नु पर्‍यो, आखिर बिरालोलाई खास्टोले छोपे पनि म्याऊ गरिहाल्यो । मंगलबार मूलपानीको धानखेतमा ।

हरि पराजुलीलाई मन्त्री हुन जनताबाट निर्वाचित हुनु परेन । अझ यसैपालि उनी पार्टीको केन्द्रीय कमिटी सदस्य पनि भए । त्यसमा पनि उनले कार्यकर्ताबाट निर्वाचित हुनु परेन । बामदेव गौतमको कोटाबाट केन्द्रीय सदस्य भइहाले ।

यसअघि उनी बामदेव गौतम नेतृत्वकै अखिल नेपाल किसान महासंघको उपाध्यक्ष थिए त्यो पनि किसान कार्यकर्ताबाट निर्वाचित भएर होइन, वामदेवकै कृपाबाट मनोनित भएर ।

कृषिमन्त्रीका रुपमा किसानलाई राहत हुने एउटा पनि काम गर्न सकेनन् यिनले । तर, कहिले सार्वजनिक स्थलमा महिलासँग अश्लील हर्कत गरेर त कहिले मञ्चमै खैनी माडेर चर्चामा भने आइरहेका छन् ।

पछिल्लोपटक अध्यक्ष ओलीले उनको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीबाट फिर्ता बोलाउन पनि खोजेका थिए । मल माफियाको सौजन्यमा कोरिया पुगेर फर्किएपछि उनको नियतमाथि मन्त्रालयभित्रै पनि शंका उब्जिएका थिए ।

जिन्दगीका नसोचेको पद पाएपछि त्यसलाई धान्न गाह्रो हुने रहेछ भन्ने कुराको पुष्टि पनि पराजुली पटक-पटक गरिसकेका छन् ।

को हुन् पराजुली ?

हरि पराजुली एमालेको राजनीतिमा पूराना मान्छे हुन् । तर, एमाले पंंक्तिमा भने उनको नाम सुन्ने धेरै थिएनन् । पार्टी राजनीतिमा बाँके जिल्ला कमिटीको सचिवसम्म भएका पराजुली २०५४ सालमा एमाले बिभाजन हुँदा बामदेवसँगै मालेतिर लागेका थिए ।

एमाले एकीकरणपछि पुनः बामदेवसँगै फर्किएका उनको जनाधार र कार्यकर्ता समर्थनसमेत नरहेकाले पार्टीले उनलाई खासै जिम्मेवारी दिएन । बामदेव गौतम किसान महासंघको अध्यक्ष भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका आफ्ना निकटस्थ बलराम बास्कोटा, डीबी कार्की, शारदा सुवेदी, धर्मदत्त देवकोटाहरुसँगै पराजुलीलाई पनि महासंघमा संगठित गरे ।

केटी जिस्काउन सेकुवा कर्नरमा

पाल्पाको ख्याहा गाविसमा जन्मे पनि पराजुली नेपालगन्जमा हुर्के बढे । उनले राजनीति पनि उतैबाट शुरु गरे । एकपटक यामलाल कँडेल बबई सिँचाइ आयोजनाको प्रमुख भएका बेला पराजुली पनि त्यहाँको हर्ताकर्ता थिए । उनी खानपिन र महिलाका यस्ता शौखिन कि आयोजनाको राजापूर बर्दियाको कार्यालयबाट खाजा खानका लागि नेपालगन्जको एक चर्चित सेकुवा कर्नरसम्म पुग्थे ।

सेकुवा कर्नरका दुई युवतीलाई जिस्क्याउँदै खाजा खान उनी ७०/८० किलोमिटर टाढाबाट आउने गरेको वीपी चोकतिरका मान्छे अहिले पनि सम्झिन्छन् ।

मन्त्री हुँदा खातामा २० लाखसम्म बचत देखाएका मन्त्री पराजुलीको परिवारका विभिन्न सदस्यका नाममा नेपालगञ्जको कोहलपुर, चितवनको भरतपुर र काठमाडौंमा प्रसस्तै जग्गाजमीन छ । पुख्र्यौली सुन २२ तोला रहेको बताउने पराजुलीले नेपालगञ्जमा ०६० साल साउन ५ गते ४० लाख रुपैयाँमा एउटा ईंट्टाभट्टासमेत किनेका छन् ।

पछिल्लोपटक महिलालाई भम्टिँदै अश्लिल हर्कत देखाएको फोटो, भिजुअल र समाचार भाइरल भएपछि पराजुलीलाई तत्काल बर्खास्त गरेर कारवाही थाल्न एमाले नेतृत्वमाथि पार्टी भित्रैबाट दबाब बढेको छ ।

कार्यथलोमा हुने यौनजन्य हिंसा

भर्खरै कार्यान्वयनमा आएको कार्यथलोमा हुने महिलामाथिको हिंसा सम्बन्धी निर्देशिका अनुसार मन्त्री पराजुली सिधै दोषी देखिन्छन् । यदि मन्त्रीलाई पनि ऐन लाग्ने हो भने उनलाई मन्त्रीबाट बर्खास्त गरी कानुनी कारवाही हुनुपर्छ । यो पनि पढ्नुहोस् (महिला सहकर्मीलाई आँखा लगाउँदै हुनुहुन्छ ? पख्नुस् !)

कार्यथलोमा हुने यौजनन्जय दुव्र्यवहार (निवारण) ऐन २०७१ अनुसार पराजुलीका ठाउँमा कोही सर्वसाधारणले यस्तो उपद्रो गरेको भए उसलाई ५० हजार जरिवाना र ६ महिनासम्म जेल सजायँसम्म हुन सक्थ्यो ।

मन्त्रीले धान रोपाइ महोत्सवका क्रममा देखाएको अश्लिल हर्कत जुनसुकै बहानामा पनि क्षम्य छैन । के हरि पराजुलीमाथि यो ऐन अनुसार कारवाही हुन्छ त ? प्रश्न प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री बामदेव गौतम र एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ ।

अनि आफ्नै पार्टीका मन्त्रीको यस्तो हर्कत देख्दा एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीलाई कस्तो लाग्यो होला ? सबैलाई जगजाहेर छ, कार्यथलोमा हुने यौनजन्य हिंसासम्बन्धी यो ऐन विद्या भण्डारीको पनि ठूलो संघर्षको परिणामस्वरुप आएको हो । आफूले लडेर ल्याएको ऐन आफ्नैबाट प्रयोग गर्दा कसो होला ? भनिन्छ नि, परिवर्तन आफैंबाट शुरु गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment