Comments Add Comment

लिपुलेकबारे स्पष्ट पार्न सरकारलाई संसदको निर्देशन

१६ असार, काठमाडौं । व्यवस्थापिका संसदले लिपुलेकमा नेपाली भूमि मिचिएको बारे यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

Subash-nembangसंसदको बुधबार बसेको बैठकमा अधिकांश सभासदहरुले लिपुलेक नाकाबारे भारत र चीनबारे भएको सहमतिबारे प्रश्न उठाएका छन् ।

लिपुलेक नेपाली भूमि भएको भन्दै सभासदहरुले नेपालको सहमति विना भएको सम्झौताको विरोध गरेका हुन् ।

लगतै सभामुख सुवासचन्द्र नेम्वाङले लिपुलेकबारे यथार्थ के हो र सरकारले के गरिरहेको छ भनेर बिहीबार बस्ने संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

एमाओवादीको प्रश्न : सरकारको स्वीकृती अनुसार भएको हो ?

बैठकमा प्रमुख विपक्षी दल एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकरले लिपुलेकको सम्झौताप्रति आपत्ति जनाए । सम्झौताले नेपालको सार्वभौमितामाथि धावा बोलिएको भन्दै उनले भने-‘यसमा सरकारको धारणा के हो ? यति गम्भिर बिषयमा सरकार किन मौन छ ?’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता र सिमाबारे सरकार किन मौन बसेको भनेर आलोचना गरेका छन् । नेपाली भूमि अतिक्रमित भएको भन्दैै उनले भने-‘सरकारको स्वीकृती अनुसार भएको हो ? होइन भने सरकार किन बोल्दैन ?

संसद बैठकमा बोल्दै नेकपा मालेका महासचिव सिपी मैनाली लिपुलेक नेपालो भूभाग भएको बताए । उनले भने-‘लिपुलेकबारे सबै जानकार छन् । नेपालको हो भन्नेमा कही कतै शंका छैन । नेपाल भारत र चीन बसेर सहमति गर्छन भने बेग्लै कुरा हो तर अहिले जुन भयो त्यो खेदजनक छ ।’

उनले नेपालको सार्वभौमसत्ता अपहरण हुने होकी भन्ने खतरा बढेको भन्दै सदनको ध्यानाकषर्ण गराए ।

चीनले रंग बदल्यो : चित्रबहादुर 

नेमकिपका अनुराधा थापाले नेपालको भूमि लिपुलेकबारे सरकार किन मौन भनेर प्रश्न गरिन् । भारत दोषी भएको भन्दै उनले भनिन्-‘अन्तराष्ट्रिय अदालतमा किन मुद्धा जाहेर गरेका छैनौं ?’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चीनले पनि रंग बदलेको आरोप लगाएका छन् । नेताहरुलाई राष्ट्रको स्वाभिमान भन्दा सत्ता प्यारो भएको भन्दै सरकारको धारणा के हो भनेर प्रश्न गरे ।

‘भारतले कालापानीमा सेना राख्दा केही बोलेनन् । भारीतय सेना आएर कालापानीमा झण्डा गाड्दा शासकहरु बोलेनन्’ केसीले भने-‘अहिलेसम्म चीनले हस्तक्षप गरेको थिएन । तर, अहिले रंग बदल्यो ।’ अर्थका पछाडि लागेर चीनले हस्तक्षेप गरेको र यसले नेपालीको मनमा चोट पुगेको बताए ।

एमाले सभासद गणेश ठगुन्नाले लिपुलेक भारतले नियन्त्रणमा लिएको र चीनले समर्थन गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका बेला चीन र भारतले गरेको सम्झौतामा लिपुलेक नाकाबारे उल्लेख भएपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ । भारत र चीन मिलेर नेपालको भूमि मिचिएको भन्दै यसबारे नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग हुँदै आए पनि अहिलेसम्म सरकारले लिपु लेकबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यद्यपि प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक नेपालको भूमि भएको प्रतिक्रिया दिएका छन् । युवा संघ नेपालको त्रापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment