Comments Add Comment

दिलिप र उत्तमलाई लिएर बन्ने भयो ‘दर्पणछायाँ २’

darpan-chaya-posterधेरै नेपाली छन्, जसले ‘दर्पणछायाँ’ चलचित्र हेरेपछि अरु नेपाली चलचित्र हेरेका छैनन् । अधिकांश नेपाली दर्शकको मुखमा मनपर्ने चलचित्रको सुचीमा यसैको नाम आउँछ । कुनै समय नेपाली चलचित्रको व्यापारमा ‘दर्पणछायाँ’ले रेकर्ड ब्रेक नै गरेको थियो ।

यसका कतिपय रेकर्ड अझै पनि तोडिएका छैनन् । मनछुने कथा र आकर्षक गीतमा तुलसी घिमिरेले एउटा रेकर्ड राख्न सफल चलचित्र बनाएका थिए ।

अब, उनै निर्देशकले यसको सिक्वेल बनाउने तयारी पनि थालेका छन् । चलचित्र विकास बोर्डमा दर्ता भैसकेको यो चलचित्रको काम सुरु भैसकेको छ । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक तुलसीले भने-‘हो म ‘दर्पणछायाँ २’ बनाउँदैछु । भुइचालो आएकाले यसको छायांकनको काम सुरु हुन सकेन ।  गीत रेकर्डका लागि मुम्बई गएको थिएँ, तर भुकम्पले काम रोकियो ।’

उनले पानी पर्न छाडेपछि चलचित्रको छायांकन सुरु गर्ने बताए । चलचित्रमा नायिका निरुता सिंहले अभिनय गर्ने या नगर्ने कुनै टुंगो लागेको छैन । तर, नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानले भने अभिनय गर्नेछन् । पुरानै कलाकार दोहोरिने तुलसीको भनाई छ । चलचित्रको कथावस्तु भने आफूले अहिलेको आधुनिक शैलीमा तयार पारेको उनले बताए । चलचित्रमा तुलसी घिमिरेले नै कथा, पटकथा, संवाद, निर्माण र निर्देशनको जिम्मा सम्हाल्नेछन् ।

कुनै समयको सफल चलचित्र ‘दर्पणछायाँ’का लाखौ फ्यान नेपाल र नेपाल बाहिर छन् । अब, यसको सिक्वेल बन्ने भएपछि दर्शक फेरि खुशी हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment