Comments Add Comment

पढाइबिनै कस्तो डाक्टर बनिएला ?

१७ असार, काठमाडौं ।  सिरहाका शम्भु खड्गासँग सात वर्ष अघिसम्म केवल डाक्टर बन्ने सपना र पढ्न सक्ने आँट मात्रै थियो। आधा करोड खर्च लाग्ने एमबिबिएस पढाइ उनको परिवारका लागि सोचभन्दा बाहिरको विषय थियो।

न एक टुक्रा जमिन थियो न बाबुको संरक्षण। उनले सुनेका थिए, छात्रवृत्तिमा नाम निकाल्न सक्यो भने निःशुल्क पढ्न पाइन्छ। सरकारी कलेजबाट ७३ प्रतिशत ल्याएर प्लस टु पूरा गरेपछि उनी एक जोर कपडा, पुराना किताबका साथमा डाक्टर बन्ने सपना बोकेर राजधानी छिरे। एमबिबिएस प्रवेश परीक्षा तयारीसम्म काकाहरूले केही सहयोग गरेको नागरिकमा खबर छ।

तीन वर्षसम्म प्रवेश परीक्षामा अनुत्तीर्ण भए पनि उनले हिम्मत हारेनन्। चौथो पटकमा छात्रवृत्तिमा नाम निस्कियो। शिक्षा मन्त्रालयले उनलाई पढ्न जनकपुरस्थित जानकी मेडिकल कलेज पठायो।

एमबिबिएस दोस्रो वर्षका विद्यार्थी खड्गाले पहिलो वर्ष मुस्किलले दुई महिना मात्रै पढ्न पाए। जेनतेन आफैं पढेर परीक्षा दिए पनि सोचेजस्तो नतिजा आएन। दोस्रो वर्ष त मुस्किलले केही दिन मात्रै पढे।

शिक्षा मन्त्रालयले छात्रवृत्तिमा पढेकाहरूलाई कलेजप्रति गुनासो भए पनि अनुशासन उल्लंघन नगर्ने, बन्दहड्तालमा नउत्रने सम्झौता गराएको हुन्छ। दुई वर्षयता उनलाई धेरै असह्य भयो, छटपटीले कयाैं रात निदाउन सकेनन्। सम्झौता पनि सम्झे र सम्झे तुरिने अवस्थामा पुगेको डाक्टर बन्ने सपना। ‘दोस्रो वर्ष झन् पढाइ नै भएन, कति सहनु?’ उनले बुधबार नागरिकसँग भने, ‘यसरी पढेर कस्तो डाक्टर बन्ने होला अब त कम्तीमा त्यही मन्त्रालय गुहार्नुपर्छ भनेर आयौं?’ २२ दिनअघि कलेजका करिब डेढ सय साथीसहित राजधानी आएका उनले भने।

आन्दोलन गर्न राजधानी आएका खड्गालगायतले खानामा मात्रै जनही २० हजारजति खर्च गरिसकेका छन्। यसमा पनि काकाहरूले सहयोग गरेको खड्गाले बताए। ‘परीक्षा शुल्क र पकेट खर्च पनि उहाँहरूले नै धानिरहनुभएको छ,’ उनले भने, ‘बुबा हुनुहुन्न, आमा र आफन्तको इच्छा म डाक्टर भएको हेर्ने छ,’ उनले मलिन स्वरमा भने, ‘डाक्टर बन्न नसकेको दिनको कल्पना गर्दा पनि ठूलो डर लाग्छ।’

जनकपुरका रुपेश गोइतले डाक्टर बन्ने सपना पूरा गर्न सोही कलेजमा ३२ लाख बुझाइसकेका छन्। काठमाडौं विश्वविद्यालय (केयु) को प्रवेश परीक्षा पास गरेपछि उनले पहिल्यैदेखि बदनाम जानकी कलेजको विकल्प नखोजेका हैनन्। उनका बुबाले राम्रा भनिएका कलेज भर्ना गराउन तीन लाखसम्म अतिरिक्त पैसा तिर्न तयार भए पनि भर्ना पाएनन्। रुपेशको सानैदेखिको डाक्टर बन्ने सपना पूरा गर्न ३६ लाख तिर्ने सर्तमा उनका बुबाले जानकीमै भर्ना गराइदिए ।

‘सुरुको दुई /चार महिना राम्रै पढाइ भयो। त्यसपछि बन्दहडताल, झगडा, तनाव नभएको दिनै छैन,’ रुपेशले भने, ‘डाक्टर बन्ने हाम्रो सपनाको हत्या गर्ने कलेज सञ्चालकलाई अहिले शिक्षामन्त्रीले संरक्षण गरिरहेका छन्, हाम्रा लागि कहीँ पनि सरकार छैन।’

जानकीमा अध्ययनरत साढे तीन सय विद्यार्थीका अर्का प्रतिनिधि हुन् एमबिबिएस चौथो वर्ष अध्ययनरत रन्जितसिं मेहता। इनरुवाका मेहताले चार वर्षअघि नै ३५ लाख बुझाए। उनको २२ दिनदेखि मेडिकल शिक्षाका प्रमुख निकाय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालय गेटमा नाराबाजी गर्दा स्वर बसिसकेको छ। ‘पहिलो वर्ष तीन महिना, दोस्रो वर्ष २ महिना र तेस्रो वर्ष १ महिना मुस्किलले पढाइ भयो,’ उनले भने, ‘एक वर्षपछि डाक्टर भएर निस्किएला, पढ्न नपाई कस्तो डाक्टर भइएला?’

उनको ब्याचका करिब सय विद्यार्थीको तेस्रो वर्ष सुरु भएपछि नै कुनै क्लिनिकल पोस्टिङ भएको छैन। ‘न मेजर सर्जरी, मेडिसिन, गाइने अब्स, पेडियाटिक्स कुनै विभागमा पोस्टिङ भएकै छैनन,’ उनले भने, ‘के सिक्नु? के जान्नु?। ‘जनरल सर्जरी पनि सिकेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment