Comments Add Comment

५९ वर्षमा एसएलसी दिने सुष्मा भन्छिन्- पास नहुञ्जेल दिन्छु

Susma Baidhya (12)

चिरञ्जीवी पौडेल
१७ असार, काठमाडौं । ०७१ सालको एसएलसी परीक्षामा सहभागी एक ‘हाइप्रोफाइल छात्रा’ धेरैका नजरमा थिइन् । नतिजा जे आए पनि त्यो समाचार बन्ने निश्चित थियो । उनी उत्तीर्ण हुन सकिनन्, र समाचार बनिन् ।

आजभन्दा ६ वर्षअघि ५३ वर्षको उमेरमा शिशु कक्षामा भर्ना हुँदा नै थुप्रै महिलाका लागि प्रेरणा पात्र बनिसकेकी थिइन् सुष्मा वैद्य । यद्यपि, प्रेरणापात्र बन्नकै लागि मात्रै उनी विद्यालयमा भर्ना भएकी होइनन् ।

शिशुदेखि कक्षा १० सम्मको यात्रामा उनी पटक-पटक मिडियामा आइरहिन् । मिडियामा आइरहनका लागि उनले पढाईलाई निरन्तरता दिएकी पनि होइनन् । पढाइ उनका लागि एक सपना थियो, एक मिसन थियो र एक संघर्ष थियो । जुन संघर्यामा यसवर्ष उनी हारिन् ।

भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य, जो बुर्जुवा शिक्षाका घनघोर विरोधी थिए, कि पत्नी भएको हिसाबले त सुष्माको यो एउटा बिद्रोहसमेत थियो ।

धापासीस्थित वैद्य निवासको चौथो तलामा बसेर सुष्माले शिशु कक्षादेखि एसएलसीसम्मको यात्रा अनलाइनखबरसित सेयर गर्दैछिन् ।

भिडियो हेर्नुहोस्

जब पढ्ने रहर शून्यमा बिलायो

अर्घाखाँचीका खुबीराम आचार्य ‘खुंखार कम्युनिस्ट’ थिए । छोरीलाई पनि छोरासरह पढाउनुपर्छ भन्ने उनको ‘क्रान्तिकारी सोच’ थियो । तर, उनको त्यो सोचले छोरीलाई पढाउनै हुँदैन भन्ने त्यतिबेलाको सामाजिक मान्यताको सामु घुँडा टेक्न बाध्य भयो । फलतः आफ्ना दाजूभाइ जसरी नै किताब-कापी बोकेर ठमठम गर्दै स्कुल जाने सुष्माको रहर हावामा विलीन भइदियो ।

यद्यपि, दाजुभाइको सहयोगमा कनिकुथी नेपाली सावा अक्षर फुटाउन, ठूलो एबीसीडी चिन्न र १ देखि १५ सम्म भट्याउन सक्ने भइन् । उनको बाल्यकालको अनौपचारिक पढाइ पनि यत्तिमै समापन हुनपुग्यो ।

त्यसपछि जीवनमा अनेकन आरोह-अवरोह आए । उनको मनभित्र गढेको पढ्न नसकेको पिरलो शान्त भएन, बरु एउटा पुरानो घाउ जसरी निरन्तर दुखिरह्यो । एमए पास गरेका, राजनीतिक दर्शन घोकेका, देश बदल्ने अभियानका हिँडेका क्रान्तिकारी नेताकी दुलही बनेपछि उनलाई घाऊ झनै चहर्‍याइरहेको महसुस हुन थाल्यो । तर, छोरी हुँदा पढ्न नपाएकी उनले बुहारी भएपछि झन् के पाउँथिन् ? त्यसैले फु…फु… गर्नुबाहेक घाउको कुनै ओखती थिएन ।

भूमिगत अवस्थामा श्रीमानसित सम्पर्कको कुनै माध्यम थिएन । बेलाबखत साथीभाइ मार्फत श्रीमानले पठाउने चिठी कन्दै पढ्न सक्दा ठूलो राहत मिल्थ्यो

‘जीवनमा फेरि कहिल्यै स्कुल भर्ना भइएला, कापी कलम बोकेर स्कुल गइएला भन्ने कुराहरु कल्पनासमेत आउँदैनथे, त्यतिबेला,’ पछ्यौराको फेरो समाउँदै भावुक बनिन् सुष्मा, ‘चुलोचौको, मेलापात, घरगोठभन्दा बाहिर केही सोच्ने फुर्सद पनि हुँदैनथ्यो ।’

आफ्ना श्रीमान मोहन वैद्य, जो कुनै बेलाका मास्टर थिए, उनीसित सुष्माले धेरैपटक अनुनय नगरेकी होइनन् । तर, प्रायः पार्टी काममा घरबाहिरै रहने श्रीमानले उनलाई कुनै आश्वासनसम्म पनि दिन सकेनन् । यद्यपि, सुष्मा राजनीतिकरुपमा सचेत होउन् भन्ने अभिप्रायले होला, पार्टीका दस्तावेज र दार्शनिक किताबहरु पनि पढ्न सघाउँथे । ०३३ सालमा मोहन भूमिगत भएपछि सुष्माले त्यो पनि च्याप्टर पनि बन्द भयो ।

भूमिगतकालमा वैद्यको चिठी पढ्दा

भूमिगत अवस्थामा श्रीमानसित सम्पर्कको कुनै माध्यम थिएन । बेलाबखत साथीभाइ मार्फत श्रीमानले पठाउने चिठी कन्दै पढ्न सक्दा ठूलो राहत मिल्थ्यो । एउटा चिठी पढ्न सक्ने हुँदा पनि जीवनमा ठूलो फरक पर्दोरहेछ । लुकिछिपी घर आउँदा उनी ती चिठीका नबुझिएका कुराहरु श्रीमानलाई नै देखाएर सोध्थिन् । ०५१ सालमा माओवादी जनयुद्ध सुरु भएपछि श्रीमानसँगै सुष्मा पनि भूमिगत हुनुपर्ने वाध्यता भयो । भूमिगतकालको केही समय भारतमा बिताउँदा उनलाई पढाइको अभाव सबैभन्दा बढी खटि्कयो ।

भारतमा बस्दाको प्रसंग उनले यसरी सुनाइन् :

‘इण्डियामा सामान किन्न जाँदा सर (श्रीमान) परै बसेर मलाई पठाउनुहुन्थ्यो । कहिलेकाहीँ एक्लै जानुपर्थ्यो । पसलले सामानको मूल्य अंग्रेजीमा भनेपछि म ट्वाँ पर्थें । दिक्कै भएपछि मैले छोरीहरुको सहयोगमा वान टु थ्रि फोर… घोक्न थालेँ । दुई दिन घोकेर हन्ड्रेडसम्म कन्ठस्थ पारेँ । त्यसपछि बल्ल पसलेहरुसित निर्धक्क सामानको मोलमोलाई गर्ने भईंहालेँ नि ।’

भारतमै एकपटक लामखुट्टे मार्ने लिक्वीड किन्न जाँदा नाम भन्न नजानेर ठूलै आपत व्यहोरिँन । ‘मलाई अलआउट भन्नै नआएपछि पसले वाल्ल पर्‍यो । मैले अनेक इशारा गर्दा पनि उसले बुझ्दै बुझेन । अनि म रित्तै फर्केँ ।’ रातभरि मच्छडले गीत गाएर सुत्न दिएन । साह्रै दिक्दार लाग्यो ।

जीवनको नयाँ मोड

बाग्लुङ घर भएकी शिक्षिका शान्ता पण्डितसित सुष्माको राम्रो हिमचिम थियो । सुष्माको पढ्ने अकांक्षाबारे भलिभाँति परिचित उनले एक दिन खाना खाँदै भनिन्, ‘हजुरजस्तै महिलाहरुलाई पढाउने स्कुल खुलेको छ, भर्ना हुन आउनुस न ।’ सुष्माका आँखा खुशीले चम्किए ।

Susma Baidhya (14)

उनले श्रीमानसित कुरा गरिन् । तर, श्रीमानले अनुहार बिगारे । ‘(पढ्न) पर्दैन अहिले । मिडियाले थाहा पाउँछन्, नचाहिँदो चर्चा हुन्छ । फेरि यो बुर्जुवा शिक्षाको विरोध गर्ने पार्टीको लाइन हो भनेर भन्नुस्,’ श्रीमानको ठाडो अस्वीकृतिले सुष्माका आँखा फेरि मधुरा भए ।

तर, केही महिनापछि उनले ‘विद्रोह गर्ने’ निर्णय लिइन् । बुढालाई नभनीकन एक्लै गोंगबुमा रहेको प्रेरणा महिला विद्यालयमा पुगिन् र शिशु कक्षामा भर्ना भइन् ।

बेलुका घरमा मोहनलाई सुनाइन्, ‘म त भर्ना भएँ है ।’ मोहनले कुनै प्रतिक्रिया जनाएनन् । भोलिपल्टदेखि उनी स्कुल जान सुरु गरिन् ।

स्कुलमा आफ्नो खास परिचय नखुलाएकी सुष्मालाई ६ महिनासम्म शिक्षकहरुले अरु विद्यार्थीजस्तै व्यवहार गरे । उनी पनि आम विद्यार्थी हुनुमै रमाइन् । तर, प्रायः होमवर्क नगरी विद्यालय जान्थिन् । शिक्षकले पिरियडभरि कक्षामा उभिन लगाउँथे । होमवर्क किन गर्नुहुन्नथ्यो भनेर सोध्दा उनले भनिन्, ‘घरमा सबैजना सुतेपछि मात्रै मलाई पढ्ने फुर्सद हुन्थ्यो, छिटो लेख्न पटक्कै सक्दिनथेँ । ६-७ जना सर-मिसले दिएको गृहकार्य कसरी भ्याउनु ? यत्तिकै जान्थेँ । शिक्षकले होमवर्क देखाउन भन्दा खिस्स हास्थेँ ।’

अंग्रेजी र गणितमा आफू राम्रै भए पनि परीक्षामा छिटो लेख्न नसक्दा नतिजा सन्तोषजनक नआउने गरेको पीडा सुष्माको छ

होमवर्क नगरे पनि उनी सकभर स्कुलचाहिँ छुटाउँदिन थिइन् । ढिलो भयो भने टिफिन टाइम पछाडि पनि जान्थिन् ।

सुष्माको गोपनीयता लामो समय टिक्न सकेन । भर्ना भएको ६ महिनापछि ‘वैद्यपत्नी शिशु कक्षामा पढ्दै गरेको समाचार’ पत्रिकामा छापियो । विद्यालयका शिक्षक-शिक्षिकाको व्यवहार पनि बदलियो । पहिले दिने गरेको सजायँमा व्यापक पुनरावलोकन भयो ।

एक वर्षभित्र सुष्मा शिशु कक्षाबाट १, २, ३ हुँदै ४ कक्षामा उक्लिसकेकी थिइन् । त्यसपछि एक/एक कक्षा उक्लिँदै १० सम्म पुगिन् । अंग्रेजी र गणितमा आफू राम्रै भए परीक्षामा छिटो लेख्न नसक्दा नतिजा सन्तोषजनक नआउने गरेको पीडा उनको छ ।

‘२ कक्षामा त मेरो अंग्रेजीमा ९२ नम्बर आएको थियो,’ उनले बच्चाजसरी फुर्किदै सुनाइन् । छिटो लेख्न नसक्ने भएकैले उनलाई नेपाली र सामाजिक विषयका परीक्षा पहाडजस्तो लाग्थ्यो ।

यसकारण एसएलसी फेल भएँ

एसएलसीको लागि निक्कै मिहिनेत गरेकी थिइन् । दिनमा ३ घन्टा मात्रै सुत्थिन् । राति १ बजेसम्म पनि पढेर बस्थिन् । घरायशी काम त भ्याउनै पर्थ्यो । दुबै आँखा मोतिबिन्दू लागेर अपरेसन गरेकाले अलिक असुविस्ता भए पनि उनले हिम्मत हारिनन् ।

‘आबुई, कसरी चोर्नु ? पहिले कहिल्यै चोरेको भए पो । फेरि मलाई चिट चोरी-चोरी पास हुनुपर्ने के नै थियो र ?’

एसएलसीको मुखैमा मोहन वैद्य बिरामी भएपछि उनको पढाइ केही दिन बिथोलियो । स्कुलले लिएको आन्तरिक परिक्षामा सहभागी हुन सकिनन् । अस्पतालमा ६-६ दिन बस्नुपर्दा किताब हेर्न पनि भ्याइनन् । त्योबाहेक एसएलसीअघिको उनले हुनसम्म मिहिनेत गरेकी थिइन् ।

एसएलसीअघि उनलाई यही डर थियो, परीक्षामा सबै उत्तर लेख्न पो भ्याउँछु कि भ्याउँदिन । विज्ञान पढाउने सरले भनेका थिए, ‘तपाईंले अलिकति मात्रै छिटो लेख्नुभयो भने पास हुनुहुन्छ ।’

पहिलो दिन अंग्रेजी परीक्षा थियो । उनले परीक्षा दिएको फोटो खिच्न पत्रकारहरुको लर्को लाग्यो । परिक्षाभरि नै उनका आँखा अगाडि क्यामरा एकनासले झिलिक झिलिक गरिरहे ।’

‘पत्रकारहरुले गर्दा पनि मेरो अंग्रेजी परीक्षा बिग्रियो । एकसुरले लेखिरहेका बेला अगाडि आएर फोटो खिचिदिँदा ध्यान भंग हुँदो रहेछ । अनि त राम्रोसित लेख्नै सकिनँ,’ उनी मुर्मुरिइन् ।

एसएलसीको परीक्षा दिँदा उनका छेउछाउमा बोर्डिङ स्कुलका विद्यार्थी थिए । उनीहरुले खरखर लेख्दै भटाभट कपी थपिरहेको देख्दा सुष्मा आत्तिन्थिन् । ‘मैले एउटै कपी पनि भर्न भ्याइनँ, के पास हुन्थेँ ?’ उनले भनिन् ।

चिट चोर्ने प्रयास गर्नुभयो कि भएन भन्ने प्रश्न सोध्दा उनले लामो जिब्रो निकालिन्, ‘आबुई, कसरी चोर्नु ? पहिले कहिल्यै चोरेको भए पो । फेरि मलाई चिट चोरी-चोरी पास हुनुपर्ने के नै थियो र ?’

सुष्माको कुनै पनि परीक्षा राम्रो भएन । जानेका कुराहरु पनि लेख्न नसकेपछि उनलाई पास हुन्न भन्ने लागिसकेको थियो । मोहनलाई पनि उनले आफ्नो परीक्षा बिग्रेको कुरा डराई डराई सुनाएकी थिइन् । नभन्दै एसएलसीको रिजल्टले उनी सात विषयमध्ये अकाउन्टमा मात्र पास भएको देखायो । न स्तब्ध भइन्, न चिन्तित ।

‘यसपालि फेल हुन्छु भन्ने पहिल्यै थाहा थियो । त्यसैले रिजल्ट आउँदा मलाई केही पनि लागेन,’ उनी भन्छिन् ।

सुष्मालाई अहिले लागेको छ, परीक्षा भनेको कसले कति जानेको छ भन्दा पनि ३ घन्टामा कसले कति लेख्न सक्छ भन्ने पो हुँदोरहेछ । ‘मलाई अब थाहा भयो कति लेख्दा पास भइन्छ, अर्को वर्ष फेरि एसएलसी दिन्छु । जबसम्म पास हुन्न, तबसम्म दिइरहन्छु,’ उनले आफ्नो अठोट सुनाइन् ।

आमालाई हौसला प्रदान गर्दै माइली छोरी चेतनाले लेखेको फेसबुक स्टाटस
आमालाई हौसला प्रदान गर्दै माइली छोरी चेतनाले लेखेको फेसबुक स्टाटस

पत्नीको रिजल्ट भएपछि मोहन वैद्यलाई एक पत्रकारले सोधे, ‘श्रीमती एसएलसीमा फेल हुँदा कस्तो लागेको छ ?’

वैद्यले शास्त्रीय शैलीमा जवाफ दिए, ‘असफलता नै सफलताको जननी हो भनेर भन्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment