Comments Add Comment

नेदरल्याण्डसँगको लज्जास्पद हारको दोषी को ?

१७ असार, काठमाडौं । नेदरल्याड्ससितको दोस्रो टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार मात्र व्यहोरेन, आफ्नो इतिहासमै सबैभन्दा सानो स्कोरमा समेटिएको रेकर्ड पनि राख्यो । नेदरल्याण्ड्सले पाएको १०३ रनको विजय उसको टि-२० इतिहासमा सबैभन्दा ठूलो जित पनि थियो । नेपालको यो हारपश्चात टिममाथि फेरि पुरानै प्रश्नहरु व्यँतिएका छन् ।

फाइल फोटो
फाइल फोटो

 

यो श्रृंखलालाई नेपालको बलिङ र नेदरल्याण्ड्सको ब्याटिङबीच भिडन्तका रुपमा हेरिएको छ । तर, दोस्रो खेलमा नेपाल बलिङ र ब्याटिङ दुवैमा चुक्यो । सुरुमा कसिलो बलिङ गरे पनि ठूलो स्कोर बनाउनबाट नेपालले रोक्न सकेन । ब्याटिङमा भने पूर्णरुपमा आत्मसमर्पण गर्‍यो । टी-२० मा १ सय ७३ रनको स्कोर ‘चेजेबल’ नै मानिन्छ । तर, नेपाली ब्याट्सम्यानहरुका लागि यो पहाड झैं बन्यो । केवल ६९ रन बनाएर नेपालको ब्याटिङ पंति धराशयी भयो ।

क्रिकेटर पृथु वास्कोटा हिजो म्याचलाई ब्याट्सम्यानको खराब दिन बताउँछन् । उनको विचारमा बाँकी दुई म्याचमा नेपालले नयाँ रणनीति बनाउनु आवश्यक छ । ‘पहिलो म्याचमा १३३ रनको टार्गेट नेपालले भेटाउनुपर्ने थियो । त्यो जितेको भए दोस्रो खेलका लागि मनोबल उच्च हुन्थ्यो’ बास्कोटाले अनलाइनखबरसित भने-‘तर, दोस्रो म्याचमा ब्याट्सम्यानहरु झनै चल्न सकेनन् ।’

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा तीन जना तीव्र बलरहरुलाई विरलै उतार्छ । नेदरल्याण्ड्सको पिचलाई हेरेर कोचले एकैचोटी तीन फास्ट बलरलाई मौका दिएका थिए ।

फास्ट बलरहरु करण केसी र अविनाश कर्ण टी-२० अन्तराष्ट्रियमा धेरै अनुभवी होइनन् । के बलिङमा नेपाललाई अनुभवको कमी खट्किएको हो ?

पृथले फास्ट बलरहरुको प्रदर्शन उत्कृष्ट नभए पनि खराब पनि नभएको बताउँछन् । ‘हो, उनीहरु धेरै अनुभवी छैनन्, तर राम्रै गरिरहेका छन्’ उनी भन्छन्-‘दोस्रो विकेटको साझेदारी तोड्न नसक्दा नेदरल्याड्स ठूलो स्कोरतर्फ अग्रसर भयो ।’

नेदरल्याण्डका ओपनर मिचेल स्वार्ट र बेन कुपरले दोस्रो विकेटका लागि १३१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

prithu baskota 0001
पृथु बास्कोटा

पिचलाई हेरेर बाँकी दुई म्याचमा दुई फास्ट बलर र दुई स्पिनर खेलाउनेबारे नेपालले सोच्नुपर्ने पृथुको  सुझाव छ ।

नेपालले भेट्रान स्पिनर शक्ति गौचनलाई दुवै म्याचमा बेन्चमा राखेको छ । अनुभवी अलराउण्डर गौचनले विगतमा नेपाललाई आफ्नो ब्याटिङ र बलिङबाट थुप्रै जित दिलाएका छन् । पछिल्लो समय उनी बलिङमा बढी केन्द्रित छन् ।

उसो च नेपालको ओपनिङ जोडी दोस्रो म्याचमा पनि चल्न सकेन । ओपनीङमा बढुवा गरिएका ज्ञानेन्द्र मल्लले पहिलो ओभरमै तीन चौका हानेर आक्रामक सुरुवात गरेका थिए । तर, उनी आउटभएसँगै विकेट झर्ने क्रममा तीव्र बन्यो ।

अर्का ओपनर सुभाष खकुरेलले लगातार दोस्रो म्याचमा चल्न सकेनन् । सागर पुनलाई पनि ओपनिङका लागि प्रयोग गरिएको छ । तर, उनी पछिल्ला केही प्रयोगहरुमा त्यति सफल देखिएका छैनन् । नेपालसित अनिल मण्डलका रुपमा एक्स्ट्रा ओपनिङ ब्याट्सम्यान छन् ।

उनलाई आजको म्याचमा मौका दिइन सक्ने पृथु बताउँछन् । ‘नेपाल त्यति कमजोर होइन, जति हिजोको म्याचमा देखियो’ पृथुले भने-‘बाँकी दुई म्याचमा पुनरागमन गर्ने क्षमता छ ।’

यद्यपि नेदरल्याण्डसँगको खेलकै आधारमा आसन्न विश्वकप छनोटमा नेपालको प्रदर्शनबारे अनुमान गर्नु गलत हुनेछ । किनकी प्रशिक्षक पुबुदु दशानायकले विश्वकप छनोटमा राम्रो टीम बनाउन ब्याट्सम्यानहरुले विभिन्न अर्डरमा खेलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment