Comments Add Comment

संविधान मस्यौदामा जनजातिहरुले संशोधन प्रस्ताव दर्ता गर्ने

१७ असार, काठमाडौं । आदिवासी जनजातिहरुले नयाँ संविधानको मस्यौदामा आफ्नो संशोधन दर्ता गर्ने भएका छन् । नयाँ संविधानको पहिलो एकीकृत मस्यौदामा संविधानसभामा बिहीबारबाट छलफल सुरु भएको छ ।

जनजाति अगुवाहरुको छलफलले संविधानको मस्यौदामा संशोधन तथा फरक मतको ड्राफ्ट तयार पार्न कृष्ण हाछेतु र चैतन्य सुब्बालाई दिएका छन् ।

सामाजिक लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वसभासद पासाङ शेर्पाले भने-संशोधन वा फरक मत जुन बाटो खुल्छ, त्यही प्रक्रियाबाट जनजातिहरुले आफ्नो मत राख्छन् ।’

उनका अनुसार फरक मतको मस्यौदा तयार भएपछि त्यसमा सहमत हुने सबै दलका जनजाति सभासदहरुको हस्ताक्षर संकलन गरिनेछ ।

जनजाति अगुवाहरुले पहिलो संविधानसभाले सहमति गरेर जनजातिहरुको हक अधिकारहरु पहिलो मस्यौदामा हटाइएको बताएका छन् ।

‘पहिलो संविधानसभाले सहमति गरेको आत्मनिर्णयका अधिकार, राज्यका सबै तह र अंगमा समानुपातिक प्रतिनिधित्व, प्राकृतिक स्रोत साधनमा आदिवासी जनजातिको अग्राधिकार जस्ता विषयको दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेको थियो’ शेर्पाले भने-अहिले मस्यौदामा त्यो सबै हटाइएको छ ।’

प्रदेशहरु अन्तरगत विशेष क्षेत्र तथा संरक्षण क्षेत्रहरु रहने सहमति उल्टाइएकोमा समेत जनजाति अगुवाहरुले विरोध गरेका छन् ।

संविधानको मस्यौदाको पक्षमा दुई तिहाई मत भएकाले रोक्न नसक्ने निष्कर्ष निकालेका जनजातिहरुले आन्दोलनमा जोड दिएका छन् । उनीहरुले आदिवासी जनजाति, मधेसी लगायतसँग सहकार्य गरेर आफ्नो कुरा जनतामा लैजाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment